११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

अर्को वर्ष मनाउँला दशैं

बालकथा

निर्मला बराल

प्रवेशले आकाशतिर हेर्दै भन्यो, “बाबा, यसपालिको दशैं त नजिकै आउन लागिसक्यो, तर अहिलेसम्म  आकाशमा एउटा पनि चङ्गा पनि उडेका देखिएका छैनन् ! पोहोरपरारको साल त कस्ता रंगीचंगी चङ्गाले भरिभराउ हुन्थ्यो आकाश !”  

छोरोले राखेको जिज्ञासालाई उसको बाबाले शान्तपूर्वक सम्झाउँदै भन्नुभयो, “हेर छोरा, अहिले विश्वभर कोरोनाको कहर छ । हाम्रो देशमा पनि संक्रमणको डर दिन प्रतिदिन बढिरहेको छ । देशका कतिपय जिल्लामा अहिले पनि बन्दाबन्दी लागु छ । बजार ठप्प छ । आवश्यक वस्तुबाहेक अन्य सम्पूर्ण किनमेल गर्न रोक लगाइएको छ , आवश्यक समान खरिदका लागि समेत समय सीमा तोकिएको छ । तिमीलाई थाहा छ त, हेर त सडक कस्तो सुनसान छ ।  अनि यस्ता बेला कसले कहाँबाट चङ्गा पाओस् र उडाओस् ?”  

बाबाको कुरो सुनेर प्रवेशले मनै खिन्न भएको जस्तो अनुहार लगायो । उसको दुःखी  अनुहार देखेर बाबालाई असाध्यै दया लागेर आयो । “पीर नमान बाबू, यो वर्ष  घरैमा चङ्गा बनाउँला अनि  उडाउँला बाबुछोरा भएर, कि कसो?” बाबाले उसलाई सान्त्वना दिंदै भन्नुभयो ।  

बाबाको कुरामा उसलाई खासै स्वाद लागेन । “ छि, आफैंले बनाएको चङ्गा राम्रो नै हँुदैन, पोहोर साल रमेशले घरैमा बनाएर उडाको, भारी भएर उड्दै उडेन मैले देखेको, फेरि घुम्या घुमै गर्दो रैछ घरमा बनाको त !” उसले पल्लो घरको साथीको बारे सम्झदै भन्यो । “तर होस्, अरू कसैले नउडाउँदा आफू एक्ललै मात्र उडाउँदा त के मजा, चङ्गा जुधाउन, चैट पार्न पनि पाइँदैन ।”  उसलाई चङ्गा उडाउन मन मरेर आयो ।  

उसका कुरा सुनेर बाबाले पनि एकछिन कन्चटमा औंला राख्दै सोच्न लाग्नुभयो । छोरोले भनेको कुरो उहाँलाई पनि ठीकै लाग्यो । बाबाले छोरोको कुरालाई सही थाप्दै भन्नुभयो, “ठीक भन्यौ बाबू, केही छैन । अरू थोक पनि त छन नि रमाइलो नै गर्न ! क्यारामबोर्ड छ, ब्याडमिन्टन छ, चेस छ, लुडो छ । खेलौला नि बरु धीत नमरुञ्जेल ! एउटा खेलेर अल्छी लाग्यो फेरि अर्को, फेरि अर्को ।”  

तर प्रवेशलाई एकमनले, दशैंमा चङ्गा नै पो उडाउन पो मजा आउँछ त, अरू कुरा त मन लागेको बेला जति बेला पनि खेले भैहाल्छ नि भने जस्तोचाहिं लागिरह्यो । तर पनि उसले पछि चित्त बुझाउने प्रयत्न गर्यो । पोहोरसाल दशैंको बेला हजुर्बासँगै मिलेर चङ्गा उडाएको झलझली सम्झना भने उसको आँखै अगाडि आइरह्यो । हजुरबुबालाई सम्झिनेबित्तिकै ऊ भावुक भयो । ऊ दौडेर बैठक कोठामा गयो अनि आल्मारीबाट एलबम निकालेर  पाना पल्टाउँदै गयो । एल्बम पल्टाउँदै गर्दा उसको पोहोरसालको सम्झना झन् ताजा भएर आँखैअघि आयो– ‘अहा, आकाशमा कस्ता रंगीचंगी चङ्गासंग उडेका थिए ! आफ्नो सप्तरंगी चङ्गा पनि आकाशै छोउँलाझैं  माथिमाथि उडेको थियो । हजुरबुबा पनि सँगै हुनुहुन्थ्यो । फेरि त्यो सप्तरंगी चंगा हजुरबुबाले किन्दिनुभएको थियो ।  आमा पनि छेवैमा हुनुहुन्थ्यो । आमालाई पनि उसले खुशी हुँदै चङ्गा देखाएको थियो ।’  तर अचानक उसका ध्यान भङ्ग भयो । एक त यसपालिको दशैं त्यसै नरमाइलो, त्यसमाथि यसपालि हजुरबुबा पनि नहुने । उसले विरक्तिंदै मनैमन भन्यो, ‘हे भगवान्, अब त लकडाउन खुले हुन्थ्यो नि! ’  

त्यति नै बेला छोरो के गर्दै छ भनेर हेर्न आमा आइपुग्नुभयो । बल्ल एक वर्षमा आउने चाड दशैं पनि मनाउन नपाइने भन्दै दिक्क भएको प्रवेशले आमालाई सोध्यो–“ आमा, साँच्चै यो वर्ष दशैं मनाउन पाइन्न हो ?”  

छोरोको चित्त दुख्ला कि भन्ठानेर आमाले पनि छोरोको कपाल मुसार्दै मिलाएर जवाफ दिनुभयो –“छोरा, यसपालिको दशैँतिहार मनाउन नै नपाइएला भन्न अहिल्यै  त नमिल्ला तर मिल्ने अवस्था नै हुन्छ भनेर  भन्न सकिन्न । कोरोनाले गर्दा अहिले मान्छेलाई ज्यानै जोगाउन धौधौ परेको छ । जोजो जहाँ छौ त्यहीँ बसेर रमाइलो मानौला नि, हुन्न ?”  

“हुन्छ आमा” भन्दै उसले टाउको त हल्लायो तर मनमा खुशी भने थिएन । ऊ झट्टै एलबम थन्काएर फोनतिर लम्कियो । हतारहतार हजुरबुबालाई फोन लगायो विराटनगरमा । हजुरबुबाले फोन नउठाउञ्जेल उसलाई सकसझैं भयो । आखिर वल्ल फोन उठ्यो । “हेलो हजुर्बा म हजुरको नाति, प्रवेश ।”  

नातिको आवाज  हजुरबुबाले सुन्नेसाथै चिनिहाल्नु भो ।  “ओहो, के छ हौ नाति भन बा । मलाई त लाग्याथ्यो आज तिम्रो फोन आउँछ होला भनेर । ”  

प्रवेशले आफ्नो  बेखुशी हजुरबालाई सुनाउँदै भन्यो, “अरू त ठीकै छ, तर हजुर्बा अहिलेका वर्ष त मलाई दिक्क लाग्या छ, बुझ्नु भो ? एक त हजुर पनि हुनुहुन्न, चङ्गा पनि उडाउन पाइएन ! पसल सबै बन्द छन् । सडक सुनसान छ ।”  

आफ्नो नातिको विलौना सुनेर हजुरबुबाले उसलाई सम्झाउँदै भन्नुभयो, “यस्ता कुरामा पनि चित्त दुखाउने हो नाति ? झन् मेरो नाति बुझक्की छ भनेको त ! किन दिक्क मान्छौ नाति बाबु, अहिले सबैतिर यस्तै बेहाल छ त के गर्छौ ? तिमीहरूकामा पोहोर साल मनाएका चाडपर्व सम्झेर हामीलाई पनि कम सम्झना आको छ र , भनिसाध्यै छैन नि ! तर के गर्छौ अवस्था नै खराब प¥यो । चाडपर्व त अर्को  साल पनि आउँछन नि !”  

हजुरबुबाको कुरा प्रवेशले बुझे पनि उसलाई भरसक आए हुन्थ्यो नि भने जस्तोचाहिं भाको थियो । “ अनि रमाइलै हुँदैन नि त, हजुरर्बा !” प्रवेशले जिद्दी गरेझैं गर्यो ।

“धत लाटा ! रमाइलो भन्या त गर्ने पो हो त, रमाइलो हुने आफै हो र ? घरमा बाबाआमा छन् । सँगै बस्ने, रमाइलो कुराकानी गर्ने, कहिले मीठोमीठो परिकार पकाएर खाने, रमाइलो गर्ने । अँ साँच्चै, बरु सुरक्षित भएर चाहिं बस्न नबिर्सनु है ? भौतिक दूरीको पालना गर्नु, बेलाबेलामा साबुनपानीले हात धोई राख्नु नि !” हजुरबुबाले प्रवेशलाई अझै बुझाउँदै भन्नुभयो ।  

बारम्बार एउटै कुरा सुन्दा वाक्कदिक्क भएको प्रवेशले भन्यो, “ ओहो,  कोरोना, दूरी, साबुनपानी, सुरक्षित–जो पनि एउटै कुरा गर्ने । बाबा पनि, आमा पनि अब हजुर पनि, हैन ?”  

सानो नातिको त्यस्तो कुरो सुनेर हजुरबुबालाई हाँसो पनि उठ्यो । नातिलाई सम्झाउन अब उहाँले विराटनगर आफ्नै घरछेउको घटनाको उदाहरण नदिई धरै भएन । “ नाति बाबू ! हेर, हाम्रा छिमेकमा पनि एकजना संक्रमित भएर आइसोलेसनमा राख्या छ नि अस्पतालमा ! यहाँ त डरले सब त्राहिमाम पो छन् त अहिले, सबैलाई सर्यो कि भनेर ! वडाबाट स्वास्थ्यकर्मी आएर रातारात घरैपिच्छे घाँटीको स्वावको नमुना धमाधम संकलन गरेर पिसिआर परीक्षण गर्न हिजैका दिन लिएर गाका छन् । मेरो र तेरी हजुरआमाका पनि लग्याछन, तर थाहा छ हामीलाई संक्रमण छैन, पक्कै नेगेटिभ आउँछ ।”  

हजुरबुबाको त्यस्तो कुरा सुनेपछि अघिसम्म कोरोना भन्दा नडराएको प्रवेश बल्ल डराएजस्तो भयो । उसको अनुहार डरले कालो भयो । उसले रुञ्चे अनुहार लाउँदै सोध्यो, “ला अब, हजुरहरूलाई पनि साँच्चै लाग्यो भने?”  

प्रवेशको चिन्तालाई साम्य पार्दै हजुरबुबाले भन्नुभयो, “कहाँबाट लाग्छ त्यो जाबो ! हजुरर्बालाई के कमजोर ठानेको ! एक, दुई, तीन लाग्दैन लाग्दैन लाग्दैन ! डराउ नै पर्देन ! यहाँ हामीले आफ्नो स्वास्थ्यको कम ध्यान राखेका छौं ? बिहान उठेर प्रणायाम, योगा, ध्यान गर्छौ  । घरकै शुद्घ पौष्टिक खाना । त्यसमाथि बिहान बेलुकै बेसार, तुलसीपत्र, अदुवा, जिरा, मरीचको काँडा पानी !”  

हजुरबाको त्यति कुरा सुन्नेबित्तिकै उसले फोनको रिसिभर फ्याट्ट राख्यो र अँध्यारो अनुहार लाउँदै पल्लो कोठातिर दौडियो । हजुरबुबासँग छोरोले फोनमा गरेको वार्तालाप प्रवेशको बाबाले अघिदेखि  मुसुमुसु हाँस्दै पर्तिर सोफामा बसेर सुनिरहनु भएको थियो । तर छोरो त्यसरी फोनमा कुरा गर्दागर्दै  दौडेको उहाँले ख्याल गरिरहनुभएको थियो ।  

एकछिनपछि आमा प्रवेश कहाँ छ भनेर खौज्दै उसलाई खाजा खान बोलाउँदै ऊ अघि गएको कोठामा पस्नुभयो । प्रवेश त्यसबेला घोप्टो परेर ओछ्यानमा सुतिरहेको देख्दा आमालाई अनौठो लाग्यो । उहाँले छोरोको कपाल सुमसुम्याउँदै सोध्नु भयो, “के भो बाबू, तिमीलाई सन्चो त छ, हैन?”  

आमाले बोलेको सुनेर प्रवेश जरयाकजुरुक उठ्यो । उसका आँखा रसिला थिए । आमाले उसको निधार छाम्नुभयो । “ ज्वरो त छैन रछ, डराउनु पर्दैन ! ”  

हजुरबुबाले अघि गरेको कुरा सम्झियो उसले । आमाको काखमा टाउको राख्दै, अँध्यारो मुख पार्दै उसले आमालाई सोध्यो, “आमा, हजुर्बाहजुरआमालाई पनि कोरोना लाग्छ कि क्या हो ! रगत जाँच्न लगेको छ रे !”  

आमाछोरा कुरा गर्दै गर्दा प्रवेशको बाबा पनि छोरोलाई के भएछ भनेर त्यँही आइपुग्नुभयो । छोराले हजुरबुबा– हजुरआमालाई औधी माया गर्छ भन्ने कुरो बुझेको बाबाले उसलाई आँट दिंदै भन्नुभयो, “यस्तो कुरामा पनि डर मान्ने हो र, छोरा ? उहाँहरू स्वास्थ्यको धेरै ख्याल गर्नुहुन्छ । व्यायाम गर्ने, योग गर्ने, सन्तुलित भोजन गर्ने । उहाँहरूबाट मैले कति कुरो सिकेको छु बरु ।  उहाँहरुलाई राम्रोसँग थाहा छ स्वास्थ्यको हेरविचार कसरी गर्ने भनेर ! तिमी सय प्रतिशत ढुक्क बन, उहाँहरूलाई केही हुँदैन ।”  

बाबाको आडभरोसाले प्रवेशको अनुहारमा चमक आयो । अचानक उसमा ऊर्जा भरिएर आयो । “आमा, कस्तो भोक लाग्यो खाजा खान जाऊँ न !” ऊ अब सामान्य भएपछि आमाबाबा दुवैका अनुहारमा पनि खुशी देखियो ।

हजुरबुबासँग कुरो भएको ठीक चौथो दिन बैठक कोठामा फोनको घण्टी बज्यो । प्रवेश ढुक्क थियो यो पक्कै हजुरबुबाकै फोन हो भनेर र यो उसैलाई नै गर्नुभएको हो भनेर। किनकि आमा–बाबासँग कुरा गर्नुपर्दा उहाँले प्रायः मोबाइलमै फोन गर्नुहुन्थ्यो । उसले हस्याङ्पस्याङ्  गर्दै रिसिभर उठायो –“ हजुर्बा, दर्शन गरे ।” 

नातिले आवाजै नसुनी चिनेको देखेर, हजुरबुबा पनि दङ्ग पर्नुभयो । “ लल, भाग्यमानी भएस्, नाति !  ल अब खुशी होऊ, मेरो र तिम्री हजुरआमा दुवैको रिपोर्ट नेगेटिभ आयो, संक्रमण भएको रहेनछ, बुझ्यौ?” हजुरबुबाको कुरा सुनेर प्रवेशको भुँइमा खुट्टा भएन, कतिखेर बाबा–आमालाई सुनाउनुझैं भयो ।

“थ्यांक गड् ! अर्को वर्ष दशैं  सँगै भएर मनाउनुपर्छ है, हजुर्बा!” खुशीले अत्तालिएर फोनको रिसभर होल्डमै राखेर आमाबाबालाई खबर सुनाउन ऊ भान्छातिर दौडियो । 

“लल , बाबा–आमालाई पनि यताको पीर नलिनु भन र तिमीहरु सबैले पनि आफ्नो ख्याल राख्नु है ?” भनेर हजुरबुबाले भन्दै गरेको मधुरो आवाज रिसिभरमा आउँदै थियो ।

प्रकाशित: १७ भाद्र २०७७ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App