११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

कोरोनाभूति हाम्रो बस्तीका नानीबाबूहरू

 दीपक लोहनी

 

आफ्ना नानीबाबूहरू ठूलो भइसकेपछि कतिपय मान्छेहरू अर्काका नानीबाबूहरूमा चासो नराख्ने स्वभावका हुन्छन् । तर म त्यो स्वभावबाट सधै टाढा छु । र्यश्वरको रूप मानिन्छ नानीबाबूलाई । म त्यही रूप नानीबाबूमा पाउँछु र कतै भेटिन्छ कि भने खोजिरहन्छु ।

विश्वलाई यतिखेर कोभिड (१९ ले गम्लङ्गै छोपेको छ । चलनचल्तीको भाषामा यही कोभिड  १९ लाई कोरोना भनिन्छ । पछिल्लो समय तपाईं हाम्रो बस्ती वा वडामा यसले प्रवेश पाइसकेको छ ।

स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न आइएनजिओहरूले घरबाहिर अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनुस् भन्ने कुराको जनचेतनामूलक प्रस्तुतीहरू सुन्न, पढ्न र हेर्नमा पाइन्छ । तर जनचेतनामूलक प्रस्तुतिको अपहेलना गर्दै धेरै युवा र अधबैसे जमात बिनाकाम पनि लखरलखर घरबाहिर निस्किएका देखिन्छन् । कोरोनाको यो विश्वव्यापी महामारीमा घरमै रहेर कोरोनाविरुद्ध सजगता अपनाउनेमा नानीबाबूहरू एकदम अघि छन् भन्ने कुरामा म विश्वस्त छु ।

अहिले इन्टरनेटको जमाना छ । तसर्थ इन्टरनेट नानीबाबूहरूको घरघरमा मात्र हैन हातहातमा पुगिसकेको छ । हातहातमा पुगेको इन्टरनेटलाई युवा, अधबैंसेहरूले धेरै दुरूपयोग गरिरहेका समाचार सुनिनु वा महसुस गरिरहँदा पनि नानीबाबूहरूले भने इन्टरनेटको अधिकांश उपभोग गरिरहेको पाइन्छ । तर बिडम्बना यही इन्टरनेट र ग्याजेजहरूको दुरुपयोग भने नानीबाबूहरूले बढी गरिरहेका छन् भन्ने आरोप बढी नानीबाबूहरूलाई नै लगाइन्छ, जुन सरासर गलत हुनसक्छ । नानीबाबूहरू इन्टरनेटको प्रयोग गरी कोरोनाको पछिल्लो अपडेट राख्छन् । उनीहरूको अपडेटमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्टिय पछिल्ला तत्थाकंहरू सहीसलामत हुन्छन् ।

हाम्रो बस्ती काठमाडौको नयाँ बसपार्कबाट करीब १,५ किलोमिटर उत्तरमा पर्ने मनमैजु मन्दिरको वरिपरि छ । यो बस्ती समुन्द्री सतहबाट १२०० मिटर आसपासको उचाइमा छ । यो तारकेश्वर नगरपालिकाभित्र पर्छ । तारकेश्वर नगरपालिका पनि नयाँ कोरोनाका संक्रमितहरू भेटिइरहने सूचीभित्रै पर्ने एक नगरपालिका हो ।

हाम्रो बस्ती नयाँ पुराना घरहरू मिली बनेको ऐतिहासिक बस्ती हो । यहाँ हालसम्म नेवारहरूको बाहुल्य छ । क्षेत्रीय जाति पनि मनग्यै छन् ।पछिल्लो दशकमा बसाईसराईले गांजेपछि मगरहरूको संख्या पनि अत्याधिक छ । त्यसो त यस बस्तीमा प्राय सबै जाति र धार्मिक आस्था भएका परिवारहरूको बसोबास छ ।

मनमैजुको यो बस्तीमा नानीबाबूहरुको अवस्था रहरलाग्दो छ । कोरोनाको यो महामारीमा नानीबाबूहरू घरभित्र नै रहेको देखिन्छन् । उनीहरू युवा वा अधबैंसेहरू जस्तो बेलाबेलामा लखरलखर हिंडेको देखिदैनन् । मेरो छिमेकी घरमा सर्लाईतिरको सरोज मगर वर्ष २६, बस्छन् । उनले बिहानै टोलका ७,८ जना नानीबाबूहरूलाई भेला पारेर अग्रेजी, गणित र विज्ञान पढाइरहेको आवाज सुनिन्छ ।

टोलका नानीबाबूहरू कुनै न कुनै स्कुलका विद्यार्थी थिए भनेर भनिरहनु पर्दैन । तसर्थ उनीहरूका ती स्कूलहरूले नानीबाबूलाई भर्चुवल कक्षाहरू लिइएको आवाजहरू पनि सुनिन्छ । टोलका छिमेकीहरू तरकारी वा खाद्यान्नका पसलहरूमा आक्कलझुक्कल भेटिंदा आफ्ना नानीबाबूहरूलाई कुनै पनि स्कूलमा भर्ना नगरिदिंदा पनि पूर्वस्कूलले भर्जुवल केही कक्षाहरू लिएको सुनाउँछन् ।

अहिले बर्खे बाली सकेर हिउँदे बाली लगाउने मौसम सुरु भएको छ । काठमाडौको केही खुला बस्तीहरूमध्ये मनमैजुको यो बस्ती पनि केही खुला छ । तसर्थ नानीबाबूहरू केही नानीबाबूहरू साँझको ३ बजेपछि आफ्नो अभिभावकहरूसंग घरकम्पाउण्डमा रहेको करेसा वा कौसी बारीहरूमा माटोसंग खेलेको पनि देखिन्छ ।

केही नानीबाबूहरु साँझ ४ बजेबाट घरकम्पाउण्डमा ब्याटमिन्टन वा बल खेलेको पनि देखिन्छन् । केही नानीबाबूहरूले डोरी खेलेको पनि देखिन्छ । केही नानीबाबूहरू आफ्ना अभिभावकहरूसंग कौसीमा बसेर हावा खाने र टहलिने गरेको पनि पाइएको छ ।

 

बिस्तारै चङ्गा उडाउने मौसम देखिन थालेको छ । यस्तो बेलामा केही घरका नानीबाबूहरू विशेष बाबूहरूले पत्रिकाको चंगा बनाएर उडाउने असफल प्रयास पनि गरिरहेका छन् । केहीले भने पुरानो स्टक चंगाहरूको जोहो गरी उडाएका छन् । तर यो ज्यादै नगन्य मात्रामा हो । यति ठूलो आकाशमा एकाध चंगा देखिएको मात्र छ ।

नानीबाबूहरूको अवस्थालाई सूक्ष्म रूपमा हेर्ने हो भने उनीहरू कोरोनाको यो संक्रमण अवस्थाबाट आत्तिएको पटक्कै देखिँदैनन् । बरु उनीहरू सजग भएको देखिन्छ । उनीहरूमा कोरोनाको सुरुवाती बन्दाबन्दीमा झै तनाव, उकुसमुकुस र छटपटी छैन । उनीहरूको अनुहारमा सामान्य अवस्थाको खुसी, चञ्चलता र जिज्ञासाहरू नै देखिन थालेको छ । लाग्छ, उनीहरू दिनभरि घरभित्रै रहेर सामाजिक संजाल चलाउने, केही मीठा परिकार बनाउन अभिभावकलाई अडर दिंदै सहभागी हुने, आफ्नो रुचिको कला र सीपलाई बन्द कोठाभित्रै उझिल्याउने काम कसैले नदेख्ने गरी गरिरहेका छन् ।

प्रकाशित: १३ भाद्र २०७७ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App