सूर्यप्रसाद लाकोजू
कोलाहलको भीडमा हराएको म मान्छे,
शान्तिदेखि तर्सिएर कराएको म मान्छे
थाहा छैन आजकल केके भइरहेछ
मान्छे देखेर आफै डराएको म मान्छे ।
२.
किनाराले खोलालाई भुल्न थालेपछि
मनभरि पलाँस मात्र फुल्न थालेपछि
छानाबाट खसेको मान्छे जस्तो भएँ
षड्यन्त्रका पर्दाहरू खुल्न थालेपछि ।
३.
सुनकै गहना भन्दैमा सबै राम्रा हुँदैनन
व्यवहारको कसीमा सबै चाम्रा हुँदैनन
आफ्नै हातका औला छैनन् बराबर
आफ्नै रगत भन्दैमा सबै हाम्रा हुँदैनन् ।
४
तिमीलाई बसाउन दिलमा शहर छ मेरो
मायाको फूल फुल्ने प्रत्येक प्रहर छ मेरो
भनिदेऊ एकपल्ट हुन्छ भनेर ए प्रिय !
तिमीसँगै जीवन बिताउने रहर छ मेरो ।
५
घृणालाई फाल्न पाए जीवन सधैं माथि हुन्थ्यो
प्रेमको सुवास छर्न पाए सारा जगत साथी हुन्थ्यो
कसैको दुख नदेखीकन कसैलाई दुख नदिईकन
असल मान्छे बन्न पाए जीवन कति जाति हुन्थ्यो ।
६.
आफै मात्र ठूलो भन्दै खोकेर कहाँ हुन्छ
आफ्नै मात्र पाठ सधैं घोकेर कहाँ हुन्छ
कहिलेकाहीँ अरूलाई नि माया दिनुपर्छ
सधैंभरि अरूको बाटो छेकेर कहाँ हुन्छ ।
७.
घामपानीबाट बच्नलाई घर चाहिन्छ
माया लाउन पीपललाई वर चाहिन्छ
मेरो पनि जीवनलाई वसन्त बनाउन
तिमी जस्तो प्रियसीको भर चाहिन्छ ।
प्रकाशित: १२ भाद्र २०७७ ०८:३३ शुक्रबार