माया गर्छु भनिन्, मुटुमा राख्छु भनिन् म हुरुक्क भएँ
यस्तो साहस बढयो्, धर्ती नै उचालिदिउँ झैँ जुरुक्क भएँ
स्वाद लिनसम्म लिइन्, कागती निचोरेर फालेझैँ बनाइदिइन
यति धेरै ठक्कर खाएँ, पिरतीदेखि धुरुक्क भएँ ।
०००
नसोच आकाशका जुनतारा धर्तीमा झारिदिन्छु भनेर
नसोच उदाउने सूर्यको किरणलाई छड्के पारिदिन्छु भनेर
कति स्वार्थ, घमण्ड र अहंमताको सागरमा डुबेका छौ तिमी
नसोच आफैं बसेको धर्तीलाई जुरुक्क उचालिदिन्छु भनेर ।
०००
मन परेको एउटा मुटु, अर्कैसँग साट्न नपरोस
प्रेमको दियो, उसैको सम्झनामा दिनरात काट्न नपरोस्
दुई किनारा बनाइदिने के बरदान दिन्छौ प्रेमदाता ?
प्रेमिल जोडिका सुन्दर सँसारमा मनहरू फाट्न नपरोस ।
०००
अडिरहोस जिन्दगी धान्ने दरिलो मियो बनेर
बलिरहोस जिन्दगी उज्यालो छर्ने दियो बनेर
सबै जनहरूको, सबै मनहरूको म त मालि बन्दै
वितोस जिन्दगी फाटेको मन सिलाइदिने सियो बनेर ।
०००
मलाई जन्मायौ, हुर्कायौ, पढायौ अनि बढायौ बाआमा
आफू तल बसी सधैं काँधमाथि चढायौ बाआमा
त्यो गुन, त्यो खुन तिर्नु मैले कसरी
सधैभरि मेरै पिरले आँखामा आँशु ढडायौ बाआमा ।
०००
मानेर कसैको निम्ति रोजीरोटी बनिदिन्छ
छानेर एकपटक होइन हजार चोटी बनिदिन्छ
आफ्नै धर्म र कर्ममा हिँडेको मान्छे यहाँ
तानेर मौका पर्दा कसैको गोटी बनिदिन्छ ।
०००
मान्छेहरू अचेल बलेको आगो ताप्नेहरू मात्र भेटिन्छन्
जता फाइदा उतै काँध थाप्नेहरू मात्र भेटिन्छन
जुन दिशातिर हावा बहन्छ उतैतिर दगुर्नेहरू
अझ हावाको गहिराई र उचाई नाप्नेहरू मात्र भेटिन्छन ।
०००
तिम्रो मुटुभित्र मेरा जुनतारा छन्
तिम्रो आँखाभित्र मेरा सँसार सारा छन्
जे जति छन् मेरा सबै तिमी भित्रै छन्
तिम्रा प्रत्येक अँगअँग मेरा प्यारा छन् ।
०००
किन होला यो जिन्दगी हिजोभन्दा आज दुखो
बल्झिँदै गए दुःखका घाउहरू ओठ, मुख, तालु सुको
जति मलजल गरे पनि, जता बसाइँ सरे पनि
कर्म मेरो खोटी रैछ यही छातिको पाटो रुखो ।
०००
तिम्रा मेरा, पिरतीका विरुवा दोबाटोहरूमा रोपेर हिँडें
वरपिपल चौतारीको ढुंगामा तिम्रै नाम खोपेर हिंडें
जतिजति टाढा भयौ, हृदयमा झनझन गाढा भयौ
फुलिनौ जिन्दगीमा के भो त कलेजोमा कोपेर हिँडे ।
(फेदिखोला, स्याङ्जाका मुक्तककार पारखी हाल जापानको टोकियोमा बस्छन्।)
प्रकाशित: १२ भाद्र २०७७ ०१:३१ शुक्रबार