१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘देशको चिना’ भित्रका पाँच मुक्तक

मुक्तक

राजबाबु श्रेष्ठ ‘सागर’  

 

नसुक्दो रहेछ कहिल्यै नयनमा आँसुको मूल ।

तर पनि फुल्दो रहेछ आँखामा खुसी भएर फूल ।

जीवन मृत्यु बीचको एक उडान रहेछ जिन्दगी

साँच्चै भनूँ, यही त रहेछ प्रकृतिको सुन्दर रुल ।

 

मेरी  बूढी हजुरआमा दिनहुँ एउटा माला बुन्छिन् ।

उनी धागोमा फूलसँगै देशका सपनाहरू उन्छिन् ।

निदाउँछिन् सपनाका सिरानी लगाई चेपेर देश

बिउँझेपछि उनी आफ्नै देश सम्झेर धुरुधुरु रुन्छिन् ।

 

गाउँहरू मासेर मेरा शहर बनाउँछन् उनीहरू ।

बेचेर मेरा नदीहरू नहर बनाउँछन् उनीहरू ।

गाउँका साँढे जति सबैलाईै खसी पारेर यहाँ  

कुकुर र स्याललाई बहर बनाउँछन् उनीहरू ।

 

लौ न ए ज्योतिषी बा,  मेरो देशको भाग्य हेरिदेऊ !

साढेसात र खड्ग  छन् भने अर्को रेखा कोरिदेऊ ।

त्यति गर्दा पनि हाम्रा देशका दशाहरू टर्दैनन् भने

च्यातिन लागेको मेरो देशको चिना नै फेरिदेऊ ।

 

आजसम्म देशमा कोही पनि देशभक्त देखिएन ।

निकै भो  रणभूमिमा वीरहरूको रक्त देखिएन ।

नारा होइन मुटुमा हजुर, माया हुनुपर्छ देशको

दरबार  छिर्ने  जति कोही पनि सशक्त देखिएन ।

प्रकाशित: ३१ श्रावण २०७७ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App