२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

त्यो संघर्ष, त्यो योगदान

स्मृति

मेरो बुबा (रामशरण दर्नाल)को जन्म १९९४ असार २७ गते शुक्ल तृतीयाको दिन काल्धारामा भएको थियो। पिता झाप्रे दर्नाल र माता दिलकुमारीको साधारण घरगृहस्थीमा जन्मनुभएका उहाँको जीवन संघर्षमय रह्यो।  

पढ्ने लालसा हुँदाहुँदै पनि आर्थिक अवस्थाले पढ्न नसकेको र जिन्दगी निराशमय हुँदा जीवनै त्याग्न खोजेको पनि देखिन्छ। उहाँको ११ वर्षको उमेरमै नौवर्षकी हरिमाया(नानी)सँग विवाह भएको थियो। आफ्नो बालापन मामाघर गोकर्ण र थलीमा बितेको थियो। छोइछिटोको त्यो जमानामा काठमाडौंको गल्ली, दरबार स्कुल तथा दार्जिलिङको सेन्ट रोबर्टमा पढे पनि आर्थिक कठिनाइले पढाइ पूरा गर्न नसकेको थाहा हुन्छ। सानैदेखि संगीत कलामा आकृष्ट भई अर्गन, कर्नेट, ट्रम्पेट घरमै सिक्नुभएको थियो। जर्जी ब्याङ्क्सले सर्वप्रथम नेपालमा पियानो एकर्डियन ल्याएका थिए। दार्जिलिङमा उनैसँग ट्रम्पेट र पियानो एकर्डियन बजाउन सिक्नुभयो। त्यसपछि उहाँ कामका लागि कलकत्ता पुग्नुभयो र संगीतसम्बन्धी काम गर्दै गितार, मेन्डोलिन र हवाई गितार सिक्नुभयो। मेन्डोलिन सिक्न चाहिँ मनोहरि सिंहको प्रेरणा थियो। त्यसपछि नेपाल फर्की आधुनिक अर्केस्ट्रा खडा गरी रेडियो नेपाल, सोल्टी होटेल, अमेरिकन सहयोग मिसन रवि भवन आदिमा संगीत कलाको छाप छाड्नुभयो।  

२०१६ सालमा नेपाल एकेडेमीको सेवामा नोटेसनकारको रूपमा प्रवेश गरी विभिन्न पदमा रहेर प्राज्ञ सभाको प्राज्ञ हुनुभयो। आफ्नो जीवनको महŒवपूर्ण समय प्रज्ञा प्रतिष्ठानमा व्यतीत गरेर २०५४ सालमा अवकाशपछि पनि प्रज्ञामा करारमा २०६१ सालसम्म सेवा गर्नुभयो। त्यसपछि पनि म्युजिक नेपालमा सन्तोष शर्माले बोलाएकाले उहाँ त्यहाँजान थाल्नुभयो। जीवनको अन्तिम महिनासम्म पनि उहाँ त्यहाँ कार्यरत हुनुहुन्थ्यो।  

उहाँकोजीवनको पहिलो मोड २००८ सालमा दार्जिलिङ पढ्न जानु रहेको देखिन्छभने दोस्रो मोड २०२५ सालमा आएको थियो।त्यो सालको दशैँमा वर्षात्ले घर भत्की आमाको मृत्यु तथा संग्रहित बाजाहरू नष्ट भएपछि उहाँले वाद्यवादन चटक्क छाडी संगीतको अध्ययन अनुसन्धानमा लाग्नुभयो। देशको दुर्गम कुनाकाप्चा पुगी अनुसन्धानात्मक लेख लेख्न थाल्नुभयो। उहाँको संगीतसम्बन्धी ११ वटा पुस्तक (संगीत परिक्रमा, नेपाली संगीत साधक, प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू (सहलेखन), संगीतको विस्तृत अवलोकन, विश्व विख्यात संगीतकार, नेपाली संगीत संस्कृति, संगीत सौरभ, नेपाली वागीना र कला, नेपाली बाजा, गायन शैली, काठमाडौं उपत्यकाका समसामयिक गीतहरू)प्रकाशित भइसकेका छन्। तीमध्ये नेपाली बाजाको दोस्रो संस्करण पनि बजारमा सकिइसकेको छ।

अस्पतालमा उहाँको निधनपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा लैजाने कुरा उठेको थियो। बाँचुन्जेल वास्ता नगर्ने, मरेपछि गुणगानको प्रवृत्ति पुनरावृत्ति गर्न मन लागेन, त्यसैले सोझै आर्यघाट लगियो।

उहाँले २०६५ सालमै भृकुटी प्रकाशनलाईदुईवटा पुस्तक ‘शास्त्रीय आधुनिक संगीतमा प्रचलित केही वाद्ययन्त्र’, ‘विश्व विख्यात संगीतकार (संशोधित र परिवर्तित)’ र रत्नपुस्तक भण्डारलाई ‘नेपाली संगीत साधक’छाप्न दिनुभएको थियो। भृकुटी प्रकाशनले सुरुमा ‘पाण्डुलिपि नै हरायो, भेटिएको छैन’ भनिरहेको थियो, यहीबीचमा बुबाको स्वर्गवास भयो। अहिले पाण्डुलिपि भेटिएको छ। तर, कोरोनाले गर्दा कहिले छापिन्छ टुंगो छैन। नेपाली संगीत साधकको प्रथम संस्करणमा एक सय दुईजना कलाकारको जीवनीमध्ये एक सय एक जनाको फोटो छापिएको छ। तर,दोस्रो संस्करणमा स्केच राख्न उस्ताद उजिर तण्डुकारको खोजी गर्दा ढिला भयो। यो पुस्तक २०७१ सालमा बजारमा आयो।  

बुबाको देहावसानपछि उहाँको जीवनकालमा लेखिएको उहाँसम्बन्धी लेख तथा अन्तर्वार्ताहरू सँगालेर एउटा स्मृति ग्रन्थ निकाल्न पाए हुन्थ्यो भन्ने लागेको थियो। त्यसलाई दलित साहित्य तथा संस्कृति प्रतिष्ठान ररत्नमाया दलित साहित्य संरक्षण समितिले ‘संगीतमय जीवन, संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म’ नामक पुस्तक राजेन्द्र महर्जन र पदम सुन्दासको सम्पादनमा प्रकाशित भई मूर्त रूप लियो। उक्त पुस्तक २०७१ भदौ १३ गते सत्यमोहन जोशीद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरिएको थियो। त्यहीबेला जोशीले कसरी बुबाले लेखेको ‘काठमाडौं उपत्यकाका समसामयिक गीतहरू’ पुस्तकले युनेस्को प्रोजेक्ट अन्तर्गतको रिपोर्ट लेख्न सघायो र इज्जत जोगायो भन्ने चर्चा गर्नुभएको थियो। यो पुस्तक म्युजिक नेपालले सिडी समेत राखेर प्रकाशन गरेको थियो। उपत्यकामा बाह्रै महिनामा मनाइने चाडपर्वमा गाइने गीतहरू नोटेसनसहित र त्यससँग सम्बन्धित फूलको महत्वबारे पुस्तकमा उल्लेख छ। कार्यक्रममा सन्तोष शर्मा, रामप्रसाद कँडेल र डम्बर पहाडीले पनि बोलेका थिए।

जीवनभर अध्ययन, अन्वेषण र साधनामा लाग्नुभएका उहाँको २०६८ आश्विन १ गते ठमेलस्थित मनमोहन अस्पतालमा देहावसान भयो। उहाँको इच्छा थियो–नेपालको संगीतसम्बन्धी इतिहास र कोश लेख्ने, तथा संगीत विद्यालय स्थापना गरेर राष्ट्रिय अर्केस्ट्रा र क्वायर विकास गर्ने। यही भएर नै जीवनको उत्तराद्र्धमा पनि उहाँलाई म्युजिक नेपालप्रति मोह थियो। कोशका लागि शब्दहरूको तयारी ज्योति (मेरो कान्छो भाइ) ले गरिरहेको पछि कागजपत्र केलाउँदा भेटेँ।

अस्पतालमा उहाँको निधनपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा लैजाने कुरा उठेको थियो। बाँचुन्जेल वास्ता नगर्ने, मरेपछि गुणगानको प्रवृत्ति पुनरावृत्ति गर्न मन लागेन, त्यसैले सोझै आर्यघाट लगियो।

बुबाको हुलाक टिकट प्रकाशन गर्न हुलाक विभागका मनोज नरसिं राणाको ठूलो सहयोग थियो। पछि पूर्णकला लिम्बुले तयार गरेको टिकट नेपाल सरकारले २०७० कात्तिक १३ गते पहिलो टाँचा लगायो। २०७३ सालदेखि विद्यालयमा कक्षा ९ को नेपाली पाठ्यपुस्तकमाउहाँको जीवनी समावेश गरिएको छ।

बुवा बित्नुभएको अर्को वर्ष २०६९मा भाइ ज्योति र २०७१ सालमा आमाको पनि मृत्यु भयो। त्यसको लगत्तै वैशाख १२ को भूकम्पले बस्न नहुने गरी घर भत्कियो। हाम्रो बास किरण (मेरो माहिला भाइ) को घरमा भयो।बुबाको साथै आफ्ना किताब कागजको बाकसमा प्याक गरी अन्य सामान समेत सबै प्रेस चलाउन बनाइएको टहरामा सारियो। घर–व्यवहारले गर्दा नयाँ घर छिटै बनाउन सकिएन। टहराका सामानको चिन्ता भए पनि अन्यत्र सार्नका लागिविकल्प थिएन। बुबाको प्रकाशोन्मुख पुस्तकहरूमा ‘आरबाजो’ पनि थियो। जुन शम्भुजित बास्कोटाको एक संस्थामार्फत छापिने कुरा थियो। पछि मैले शम्भुजित बास्कोटालाई भेटेर कुरा गर्दा पाण्डुलिपि नै भेटिएन।

म बुवाको जेठो छोरा, मेरो जागिर पुरातत्व विभागमा थियो, त्यहाँबाट सेवानिवृत्त भएपछि बल्ल समय पाएझैँ भयो। धेरै वर्षदेखि राखेका टहरा पनि चुहिन थालेपछि कागज–पत्र के भयो होला भनी ध्यान गयो। मेरा केही महत्वपूर्ण पुस्तक चिसो र धमिराले सखाप पारेको देखेपछि बुबाको दर्जनौँ फाइल–बक्सहरू हेर्दा चिसोले कागज–पत्र ध्वस्त पारेको पाएँ। बुवाले हरेक कागजपत्र छुट्ट्याएर अलग–अलग फाइल बनाएर कार्डबोर्ड बक्समा जतनले राख्नुभएको थियो। ती कोठामा हुँदा सुरक्षित थिए। तर, भुइँतलाको टहरामा वर्षौं राख्दा नष्ट भएको देख्दा साह्रै दुःख लागिरहेकोछ। अनुकूल समयमा बुबाको नाममा स्मृति केन्द्र खोलेर उहाँकोसंगीतसम्बन्धी अमूल्य पुस्तकहरू, डायरी, टिपोर्ट आदि सबै एकै ठाउँमा राखेर खोज, अनुसन्धान, अध्ययन गर्ने गराउने विचार भताभुंग भयो। बचेका कागजपत्र राखेर नष्ट भएकालाई जलाउनुबाहेक अरु उपाय थिएन।

समाज र राष्ट्रलाई योगदान गर्नेको जन्म दिनलाई जन्मजयन्ती र मृत्यु भएको दिनलाई स्मृति दिवसका रूपमा मनाउने प्रचलन छ, आ–आफ्ना परिवारले खोलेको प्रतिष्ठानमार्फत। तर बासको ठेगान नभएकाले त्यतातिर सोच्न सकिएको छैन। उहाँले संगीतसम्बन्धी संकलन गरेका ग्रन्थहरुको चिन्ता चाहिँ छ। सबैजना यसलाई सहयोग र दानस्वरूप लिन इच्छुक छन्। तर, परेको लागत टार्न खोज्छन्। संग्रहकर्ताले संग्रह गर्दा आफ्नो पुँजी लगाएको बिर्सन्छन्।

डिल्लीरमण रेग्मी पुरस्कार हरिराम जोशीलाई प्रदान गर्दा विष्णु आत्रेयसँग भेट भएको थियो। उनैले कपिलवस्तु साहित्यधाममा बुवाको प्रतिमा राख्न प्रस्ताव गरेका थिए। मैले घरमा सल्लाह गरेर जवाफ दिन्छु भनेँ। घरमा कुरा राख्दा सहमति भएकाले पछि भेट्दा उनले फोन नम्बर लिई जानकारी दिन्छु भनेका थिए। पछि उनी आफैँ दिवंगत भएकोदुःखद खबर सुनेँ।

बुबाले जगदम्बाश्री पुरस्कार–२०६५, राष्ट्रिय प्रतिभा पुरस्कार–२०५३, नारायणगोपाल संगीत पुरस्कार–२०६६, इन्द्रराज्यलक्ष्मी पुरस्कार–२०६२ र सम्मान, कदरपत्र, अभिनन्दनपत्र आदि पाउनुभएको थियो।

उहाँले भोगेका तीता अनुभव पनि धेरै छन्। ‘संगीत सरिता’ नामको पत्रिकामा राजा महेन्द्रको ‘तास’ शीर्षकको कविताहल्दार (राजा महेन्द्रनिटक दरबारिया एक व्यक्ति)बाट प्राप्त भएको थियो।त्यसलाई छाप्दा सम्पादिका लक्ष्मी राणा र सहायक सम्पादक रामशरण दर्नालले अञ्चलाधीश कार्यालयबाट दुःख पाउनुभएको थियो।

बुबा ज्यादै परिश्रमी, सोझो, इमानदार र सरल हुनुहुन्थ्यो। उहाँले कर्मयोगी र ऋषिमुनिझैँ आफ्नो जीवन व्यतित गरेर जानुभयो। जस्तै प्रतिकूल परिस्थिति र समयमा पनि विचलित नभई आफ्नो गन्तव्यमा कर्तव्यनिष्ठ भएर लागिरहनुभयो। कसैको चित्त नदुखाउने, सहयोगी, हाँसिरहने तर अन्याय नसहने उहाँको बानी थियो। उहाँले जीवनमा कसैसँग गुनासो गरेको थाहा छैन। तर, स्वनामधन्यहरूले उहाँमाथि प्रताडना गरेको पाइन्छ।ज्ञान र शिक्षामा उहाँको ज्यादै लगाव थियो।उहाँ हरहमेशा अध्ययन र लेखनमा लागिरहेको देखेँ। शिक्षाको महत्व बुझेर नै आफ्ना सन्तानलाई शिक्षा दिनका लागि कठिन समयमा पनि कहिल्यै पछि हट्नुभएन। त्यसैले बुबाको याद सधैँ आइरहन्छ।

प्रकाशित: ३१ श्रावण २०७७ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App