आख्यान लेखनको एउटा प्रवृत्ति हो, अधिआख्यान अर्थात् मेटा फिक्सन। यो आख्यानमार्फत प्रस्तुत जीवन यथार्थप्रतिको दृष्टिकोण पनि हो। त्यस्तै, जीवन यथार्थको गतिशीलता र सत्यको अनिश्चिततालाई स्वीकार गर्ने उत्तरआधुनिकतावादी चिन्तनबाट प्रभावित पछिल्लो प्रवृत्ति हो। पाश्चात्य साहित्यबाट विकसित अधिआख्यानात्मक लेखनको प्रभाव नेपाली उपन्यासमा पनि पाइन्छ।
अधिआख्यानात्मक लेखनको परम्परा ज्यादै पुरानो हो। प्राचीन मानव जातिका आत्मसचेत निजी अनुभव र अनुभूतिका रूपमा रहेका पुनर्कथनका माध्यमबाट विकसित मिथक अधिआख्यानका आदि रूप हुन्। प्राचीन समयका कथा सुन्ने र सुनाउने परम्परामा विकसित लोककथाहरूमा पनि अधिआख्यानको स्वरूप पाउन सकिन्छ। यसमा कथा वाचकले कथालाई रोचक बनाउन जुनसुकै तरिका अपनाउन सक्छ। यसका लागि उसले कथालाई जतासुकै मोडेर जुनसुकै संरचनामा प्रस्तुत गर्न सक्छ। यसमा कथावाचक र पाठक÷श्रोता निश्चित संरचनामा नबाँधिने भएकाले श्रोताले पनि वाचकले जतिकै सक्रिय र प्रत्यक्ष सहभागिता जनाउन सक्छ।
पूर्वीय सभ्यताका प्राचीन ग्रन्थमा पनि अधिआख्यानको विशेषता पाउन सकिन्छ। अधिआख्यानमा कुनै एक कृतिमा सिर्जना गरिएको पात्रलाई अन्य लेखकले जीवन्तता प्रदान गर्दै अन्य कृतिमा पनि प्रस्तुत गरेका हुन्छन्। यसर्थ पूर्वीय सभ्यतामा मौखिक रूपमा विकसित वैदिक ग्रन्थ, पुराणलगायत रामायण, महाभारतजस्ता ग्रन्थ पनि अधिआख्यानात्मक रहेका छन्।
अधिआख्यानमा लेखक आफ्नो सीमा उल्लंघन गरी कृतिभित्र आफैँ पात्रका रूपमा उपस्थित हुन्छ। महाभारतमा यसका लेखक व्यास आफैँ पात्रका रूपमा उपस्थित भएका छन्। रामायण र महाभारतलाई त्यस समयको प्रतिविम्ब मानिन्छ। यी रचनामा त्यस समयका यथार्थलाई काल्पनिक र अलौकिक बनाई पात्रलाई ईश्वरीयता प्रदान गरिएको छ। महाभारतका पात्र कृष्णका क्रियाकलापले पाठकमा भ्रम सिर्जना गरेको छ। तथ्य र कल्पनाबीच भ्रम सिर्जना गर्ने अधिआख्यानात्मक विशेषता भेटिने भएकाले पौराणिक ग्रन्थ महाभारत आदिमा पनि अधिआख्यानको पूर्वसंकेत रहेको देखिन्छ।
सैद्धान्तिक अवधारणा
अधिआख्यानको सैद्धान्तिक चिन्तनको आरम्भ विलियम एच गासको ¬‘फिक्सन एन्ड फिगर अफ लाइफ’ (सन् १९७०) बाट भएको हो।
यसको विकासमा पाट्रिसिया वा, लिन्डा हचिअन, मार्क क्युरी, रोबर्ट स्कल्स, स्टेफानो टानी, इरिन जे भ्याचोन, ल्यारी म्याक क्याफरीलगायत विद्वान्को योगदान छ। अधिआख्यानात्मक चिन्तनको पृष्ठभूमिमा अनिश्चितता र बहुलतालाई महत्व दिने उत्तरआधुनिकतावाद, रोलाँ बार्थको पाठसम्बन्धी रिडर्ली र राइटर्ली (पाठकीय र लेखकीय) अवधारणा, डेरिडाको विनिर्माणवादी सिद्धान्त, पाठक¬–प्रतिक्रिया र ग्रहण सिद्धान्त, अम्बर्टो इकोको सेमियोटिक्स (चिह्न विज्ञान) र नमुना पाठकको अवधारणा रहेका छन्।
अधिआख्यान अर्थात् मेटाफिक्सन आख्यानको काल्पनिक संसारभन्दा पर भन्ने अर्थमा अधि तथा मेटा उपसर्गको प्रयोग गरिएको छ। यसले आख्यानमा प्रस्तुत यथार्थभन्दा परको अर्को यथार्थको खोजी गर्छ। पाट्रिसिया वाको ‘मेटाफिक्सन ः द थ्यौरी एन्ड प्राक्टिस अफ सेल्फ कन्सियस फिक्सन’ (सन् १९८४) नामक कृतिमा अधिआख्यानको सैद्धान्तिक पक्षको चर्चा गरिएको छ। उनले अधिआख्यानलाई आख्यान लेखनमार्फत खोजी गरिएको नवीन सिद्धान्तका रूपमा चर्चा गरेकी छन्। उनको विचारमा अधिआख्यानको संसार पनि यथार्थ संसार नै हो, तर यसले यथार्थलाई अस्थिर तथा परिवर्तनशील तत्वका रूपमा स्वीकार गर्छ। सत्य शाश्वत र स्थायी नभएजस्तै उपन्यास लेखनका मान्यता पनि स्थायी नहुने उनको विचार छ। इतिहास र समाजका यथार्थ परिवर्तन हुँदै जाँदा आख्यान लेखनको स्वरूप पनि परिवर्तन हुन्छ। यसै परिवर्तित यथार्थको आख्यानात्मक लेखनका सन्दर्भमा अधिआख्यानको विकास भएको हो। वाले अधिआख्यानमा सामाजिक–सांस्कृतिक आत्मचेतनाको प्रभाव रहने बताउँछिन्। दोस्रो विश्वयुद्धपछि पश्चिमी समाजमा विकसित व्यक्तिवादी चेतना र त्यससँगै निर्मित सामाजिक, सांस्कृतिक आत्मचेतनाको परिणामका रूपमा अधिआख्यानको विकास भएको वाको भनाइ छ। उनका अनुसार, अधिआख्यानले यथार्थवादको परम्परालाई उदांगो पार्छ, तर यथार्थको उपेक्षा र परित्याग चाहिँ गर्दैन। त्यस्तै, कल्पनाको आत्मरतिवादी आनन्दका लागि वास्तविक संसारलाई परित्याग गर्दैन, आफ्नो प्रतिविम्बनद्वारा एउटा आख्यानात्मक रूपको खोजीका निम्ति यथार्थवादको परम्परालाई पुनः परीक्षण गर्छ।
मूलतः उपन्यास लेखनको परम्परालाई भत्काएर नवीन शिल्पका माध्यमबाट नवीन जीवन–सत्यको खोजी गर्ने उपन्यास–लेखनका प्रवृत्ति अधिआख्यान हो। यसले यथार्थ र कल्पनाबीचबाट जीवन यथार्थको खोजी गर्ने प्रयास गर्छ ।
परम्परागत लेखनले आख्यानको काल्पनिक संसार निर्माण गरेर जीवन यथार्थलाई भिन्न बनायो, परिवर्तित यथार्थलाई समेट्न सकेन। त्यसैले अधिआख्यानात्मक लेखनको विकास भएको हो।
पाट्रिसिया वाले अधिआख्यानलाई ‘आख्यानबारेको आख्यान’ का रूपमा चिनाएकी छन्। उनका विचारमा स्वरति र आत्मकेन्द्री प्रवृत्ति वर्तमान जीवनको यथार्थ भएकाले आख्यान लेखन पनि आफ्नै परम्परा र आफ्नै लेखन प्रवृत्तितर्फ केन्द्रित हुन्छ। त्यसैले अधिआख्यानभित्र यसको रचनागर्भदेखि प्रकाशन सन्दर्भ मात्र नभएर आख्यानको विषय, घटना, पात्र, परिवेश, शिल्प, उद्देश्य आदिबारे उपन्यासभित्रै चर्चा गरिएको हुन्छ। जसलाई मार्क क्युरीले ‘आख्यान र समालोचनाको सीमारेखा’का रूपमा चिनाएकी छन्। मूलतः उपन्यास लेखनको परम्परालाई भत्काएर नवीन शिल्पका माध्यमबाट नवीन जीवन–सत्यको खोजी गर्ने उपन्यास–लेखनका प्रवृत्ति अधिआख्यान हो। यसले यथार्थ र कल्पनाबीचबाट जीवन यथार्थको खोजी गर्ने प्रयास गर्छ।
अधिआख्यानका सैद्धान्तिक चिन्तक लिन्डा हचिअनका अनुसार परम्परागत रूपमा लेखकले अनेक स्रोतबाट कच्चा सामग्री संकलन गरेर कल्पनाको कारखानाबाट आख्यान उत्पादन गर्छ, त्यसैले परम्परागत लेखन ‘उत्पादनको अनुकरण’ थियो। अधिआख्यानले कच्चा सामग्रीको संकलनदेखि निर्माणका समग्र प्रक्रियालाई प्रस्तुत गर्ने भएकाले यसलाई हचिअनले ‘प्रक्रियाको अनुकरण’ भनेकी छन्।
कुनै पनि वस्तुको उत्पादन प्रक्रियाप्रतिको आम उपभोक्ताको रुचि वर्तमानको यथार्थ भएकाले यसमा लेखनका समग्र रचना प्रक्रियालाई नै यथार्थका रूपमा स्वीकार गरी आख्यानको विषय बनाइएको हुन्छ। यसर्थ अधिआख्यान परिवर्तित यथार्थको अनुकरण गर्ने गतिशील प्रवृत्ति हो।
अधिआख्यानले आख्यानबाहिरको यथार्थ संसार र आख्यानभित्रको काल्पनिक संसारबीच रहेको दूरीलाई मेटाउँछ। यसका लागि वास्तविक संसारका लेखक र पाठकलाई पनि आख्यानभित्रै सहभागी गराइएको हुन्छ। रचना–प्रक्रिया नै यसको विषय हुने भएकाले लेखक स्वतः पाठभित्र समाहित हुन्छ भने यसमा पाठकलाई पनि पाठभित्रै सहभागी गराइएको हुन्छ। हचिअनका विचारमा अधिआख्यानको शक्ति भनेको पाठकलाई सह–सिर्जना प्रक्रियामा सामेल गराउनु र अधिआख्यानात्मक पाठ रचना–तरिका तथा सम्भाव्यताप्रति पाठकलाई सचेत गराउनु हो।
अधिआख्यानले यथार्थ र कल्पनालाई जोड्ने सेतुको काम पनि गर्छ। हचिअनका विचारमा अधिआख्यानले लेखन र पठन, कला र जीवन, यथार्थ र कल्पनाबीच सम्बन्ध निर्माण गर्छ। लेखन र पठन तथा कला र जीवनको सम्बन्ध टाढा हुँदै गएको अथवा यथार्थ र कल्पना दुई भिन्न कुरा हुन् भन्ने मान्यता स्थापित भएको सन्दर्भमा अधिआख्यानले यिनीहरूबीच नजिकको सम्बन्ध निर्माण गर्दै कला र जीवन बीचको खाडल पूरा गर्दछ। बाह्य यथार्थ मात्र जीवनको वास्तविकता नभएर आन्तरिक यथार्थका रूपमा रहेको कल्पना पनि जीवन बचाइको एउटा वास्तविक पक्ष हो।
इरिन जे भ्याचोनका विचारमा जीवन यथार्थका दुई पक्ष छन्– बाह्य र आन्तरिक। हाम्रो बाह्य जीवन समय र घडीद्वारा शासित छ, तर आन्तरिक जीवन दैनिक समयको यस्तो आदेशमा कम निरन्तर छ। हामीलाई ठाउँ, समय र विगतको सीमा परित्याग गर्ने स्वतन्त्रता छ। जीवनको बाह्य यथार्थ दृश्य हुन्छ, यसको स्थान, काल र समय बोध्य हुन्छ। जीवनको बाह्य यथार्थलाई मान्छेले लुकाउन सम्भव छैन, तर उसको भित्री जीवन अदृश्य हुन्छ। आन्तरिक रूपमा मान्छेलाई कल्पनाको संसारमा रमाउन छुट छ। बाहिरी यथार्थका तीता अनुभवलाई भुल्न ऊ मिठामिठा कल्पना गर्न सक्छ। मान्छेको कल्पनाको संसार निरपेक्ष हुन्छ। मान्छे यथार्थमा मात्र रम्न सक्दैन, उसलाई बाँच्नका लागि कल्पना गर्ने छुट चाहिन्छ। तर उसका कल्पना र सपना नै बाह्य जीवनमा पनि कहिलेकाहीँ यथार्थ भइदिन्छ। आज सत्य र यथार्थ मानिएका कुरा भोलि असत्य हुने र आज कल्पना गरिएका कुरा भोलि यथार्थमा परिणत हुन्छन्। यसर्थ मान्छेको जीवन नै यथार्थ र कल्पनाको अनौठो संगम हो। त्यसैले अधिआख्यानले यथार्थ र कल्पनालाई मिसाउँछ।
उपन्यासमा अधिआख्यान
अधिआख्यानलाई उपन्यासविरोधी लेखनका रूपमा पनि चर्चा गरिएको पाइन्छ। यसले उपन्यास परम्परालाई भत्काएर अराजकता पैदा गरेको र उपन्यासलाई मृत्युको मुखमा पु-याएको भनी यसको आलोचना भएको छ, तर पाट्रिसिया वाले अधिआख्यानले उपन्यासलाई मृत्युको मुखमा नपु¥याएर यसलाई समसामयिक संसारसँग जोडेर उपन्यास लेखनलाई अझ परिपक्व बनाएको विचार व्यक्त गरेकी छन्।
अधिआख्यानका चिन्तकहरू परम्परागत उपन्यास लेखनको प्रवृत्तिले वर्तमान समयको यथार्थलाई चित्रण नगर्ने बताउँछन्। उनीहरुका अनुसार, वर्तमान समयको जीवन–यथार्थ अनिश्चित, असुरक्षित र जटिल बन्दै गएको अवस्थामा आख्यान रचना पनि जटिल बन्दै गएको छ। तर, यसलाई उपन्यासको मृत्युका रूपमा नहेरी समसामयिक जीवनको यथार्थ प्रतिविम्बनका रूपमा हेर्नुपर्छ।
परम्परागत आख्यानले जस्तै अधिआख्यानले पनि जीवन–जगत्को यथार्थकै चित्रण गर्छ। अधिआख्यानले यथार्थवादको विरोध गर्छ, यथार्थको इन्कार होइन। पाट्रिसिया वाका अनुसार, अधिआख्यानको सम्बन्ध यथार्थसँग हुन्छ। तर, यसले यथार्थ पाठको पछाडि रहेको हुन्छ भन्ने मान्यता राख्छ। आख्यान आफैँमा यथार्थ होइन, यसमा यथार्थको वर्णन मात्र हुन्छ। उनका विचारमा यथार्थको वर्णन र यथार्थ एकै हुन सक्दैन। साहित्यको यथार्थ बिल्कुल भाषाद्वारा निर्मित हुन्छ। त्यसैले पाठबाहिरको यथार्थको खोजीका निम्ति आख्यानमा नवीन प्रयोग आवश्यक भएकाले अधिआख्यानात्मक लेखनको विकास भएको हो। यसले आख्यानलाई मृत्युको सम्मुख नलगेर गतिशील बनाउँछ भन्ने धारणा अधिआख्यानका चिन्तकको रहेको छ।
अधिआख्यानले उपन्यास लेखनमा पनि परम्परागत रूपमा स्थापित विषय र शिल्पभन्दा भिन्न प्रयोगका माध्यमबाट नवीन सत्यको खोजी गर्छ। यस क्रममा अधिआख्यानमा विशृंखलता, लेखक र पाठकको उपस्थिति, आख्यानभित्र आख्यानको प्रयोग, प्यारोडिक र प्यास्ट्रिच लेखन, अन्तर्पाठीयता, स्वैरकल्पना, दृष्टिबिन्दुको स्थानान्तरण, विधामिश्रण र विधाभञ्जन, गैरभाषिक संकेत र गैरआख्यानात्मक तत्वहरूको प्रयोग, रचनाप्रक्रियाको विषयकरण, छलफल, समालोचना र टिप्पणीको प्रयोग, इतिहास र मिथकको पुनर्लेखन जस्ता लेखनयुक्तिहरूको प्रयोग गरिएको पाइन्छ।
ग्रिसेली र अंग्रेजी भाषाका प्राचीन ग्रन्थमा पनि अधिआख्यानात्मक विशेषता पाइन्छ। मौखिक परम्परामा पुनर्कथन गरिएका प्राचीन ग्रिसेली ग्रन्थ ‘इलियड’ र ‘ओडिसी’, पाठभित्रै आफ्नाको संरचनाबारे बताउने चसरको ‘क्यान्टबरी टेल्स’, सेक्सपियरको ‘नाटकभित्र नाटक’, अठारौँ शताब्दीका काव्य र आख्यानका पत्रात्मक रूपहरू, आख्यानको बीचमा प्रवेश गरेर पात्र वा घटनाबारे टिप्पणी गर्ने आख्यानकर्ता भएका हेनरी फिल्डिङ र रिचर्डसनका कृतिहरू आदि यसको अग्रदूत रहेका छन्।
अधिआख्यानात्मक लेखन परम्परामा सोह्रौँ शताब्दीका स्पेनिस उपन्यासकार मिगुएल डी सर्भान्तेसको ‘डन क्विजोट’, जान अस्टिनको ‘नर्थह्याङ्गर एब्बे’ (सन् १८१७) तथा लौरेन्स स्टेर्नको ‘ट्रिस्ट्राम स्यान्डी’ (सन् १७६०) महत्वपूर्ण रहेका छन्। ‘ट्रिस्ट्राम स्यान्डी’मा एकालाप, अस्वाभाविक विषयान्तर, हास्यात्मक दृश्य, पाठकका लागि खाली पाना तथा कुनै पात्रको मृत्युको शोकमा कालो रङको प्रयोगजस्ता अधिआख्यानात्मक शैलीको प्रयोग गरिएको छ। त्यसैले पाट्रिसिया वाले मेटाफिक्सन शब्द नयाँ हुन सक्ला, तर यसको अभ्यास धेरै पुरानो रहेको छ भन्ने धारणा व्यक्त गरेकी छन्।
नेपाली उपन्यासमा अधिआख्यान
नेपाली साहित्यमा अधिआख्यान प्रयोगपरक उपन्यास लेखनका रूपमा विकसित भएको पाइन्छ। नेपाली उपन्यासमा वि.सं २०२० को दशकदेखि नवीन प्रयोगको खोजी भएको छ। यसमा धु्रवचन्द्र गौतमको भूमिका महत्वपूर्ण छ। उनको कथानक, पात्र आदिको परम्परागत संरचनालाई भञ्जन गरी लेखिएको ‘अन्त्यपछि’ (२०२४) नवीन प्रयोगका दृष्टिले पहिलो उपन्यास हो। प्रयोगपरक शैलीमा यथार्थलाई भिन्न ढंगले प्रस्तुत गरी लेखिएको गौतमको अर्को उपन्यास ‘अलिखित’ (२०४०) ले मदन पुरस्कार प्राप्त गरेको थियो। अनुभवन्यासदेखि सूत्रउपन्याससम्मको नवीन प्रयोगले उनलाई नेपाली उपन्यासमा सदावहार बनाएको छ। उनका दुई दर्जनभन्दा बढी प्रकाशित उपन्यासमा अधिआख्यानको प्रयोग पाइन्छ। मञ्जुलको ‘छेकुडोल्मा’, जगदीश घिमिरेको ‘साविती’, ओकिउयामा ग्वाइनको ‘सुनाखरी’, पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, नयनराज पाण्डेको ‘विक्रमादित्य एउटा कथा सुन’, कविताराम श्रेष्ठको ‘बकपत्र’, सरुभक्तको ‘पागलबस्ती’, ध्रुवचन्द्र गौतमको ¬‘उपसंहार अर्थात् चौथो अन्त्य’ जस्ता प्रयोगपरक उपन्यासले नेपाली अधिआख्यानात्मक लेखनको पृष्ठभूमि निर्माण गरेका छन्।
धु्रवचन्द्र गौतम र धु्रव सापकोटाको ‘ज्यागा’ (२०५०) नेपाली साहित्यको पहिलो पूर्ण अधिआख्यानात्मक उपन्यास हो। यस उपन्यासले रचना प्रक्रियालाई विषय बनाई उपन्यासको काल्पनिक संसारमा आख्यानबाहिरको यथार्थ प्रस्तुत गरिएको छ। त्यस क्रममा उपन्यास लेखनका लागि लेखकबीच गरिएका सरसल्लाह, घटनाको खोजी, पात्रहरूसँगको भेटघाट र कुराकानी, अन्य सामग्रीको संकलनदेखि उपन्यास लेखनसम्मका सन्दर्भलाई उपन्यासको विषय बनाइएको छ। रचना प्रक्रियालाई विषय बनाइएका अन्य पछिल्ला उपन्यासमा राजेन्द्र पराजुलीको ‘अनायिका’, टङ्कप्रसाद चौलागार्इंको ‘कथाको खोजी’, राजवको ‘बेकारीमा उपन्यास’ पनि अधिआख्यानात्मक प्रयोगका दृष्टिले महत्वपूर्ण रहेका छन्। त्यस्तै धु्रव सापकोटाको ‘अकल्पनीय’ उपन्यासको विषय खोजी गरिएको यथार्थ प्रसंगलाई काल्पनिक रूपमा प्रस्तुत गरिएको अधिआख्यानात्मक उपन्यास हो।
उत्तरआधुनिकतावादी सिद्धान्तबाट प्रभावित उपन्यासकारले अधिआख्यानात्मक लेखनलाई महत्वपूर्ण युक्ति (टेक्निक) का रूपमा प्रयोग गरेका छन्। यस क्रममा २०५० को दशकपछि नेपाली अधिआख्यानले मात्रात्मक तथा गुणात्मक रूपमा विकसित हुने अवसर पाएको देखिन्छ। यसदृष्टिले कृष्ण धरावासीका ‘शरणार्थी’, ‘राधा’, ‘तपाईं’, ‘गेस्टापो’ आदि उपन्यास उल्लेख्य छन्। विनिर्माण, पुनर्लेखन र अन्तर्पाठका माध्यमबाट यथार्थ र कल्पनालाई मिसाइएको अधिआख्यानात्मक उपन्यास हो, शरणार्थी। त्यस्तै, राधामा महाभारतको पुनर्लेखन गरी परम्परागत अवधारणालाई भत्काउने काम गरिएको छ। त्यस्तै, सिर्जनाभित्र समालोचना मिसाइएको नवीन प्रवृत्तिपरक उपन्यास हो, तपाईं । तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएको यस कृतिभित्र यसै उपन्यासका घटना, पात्र, परिवेश, भाषा आदिबारे पाठकबीच भएको छलफल प्रस्तुत गरिएको छ। गेस्टापो उपन्यासमा हिटलरको इतिहासलाई पुनर्लेखन गरिएको छ। यो कृति इतिहासप्रतिको स्थापित धारणालाई भत्काई भिन्न दृष्टिबाट नवीन यथार्थको खोजी गरिएको नेपाली पहिलो ऐतिहासिक उपन्यास हो। धरावासीको ‘आधाबाटो’ र ‘पाण्डुलिपि’मा लेखकको आफ्नै जीवनका यथार्थलाई काल्पनिक ढंगले प्रस्तुत गरिएको छ। यस प्रकारको उपन्यास लेखनमा धु्रवचन्द्र गौतम अग्रज छन्। उनका ‘बाल्यकाल’, ‘बाढी’लगायत चार उपन्यासमा आफ्नै जीवनका यथार्थलाई विषय बनाइएको छ।
पछिल्लो समय अधिआख्यानात्मक प्रवृत्तिलाई अनुसरण गरिएका उपन्यास धेरै देखापरेका छन्। यस क्रममा मनुजबाबु मिश्रको ‘स्वप्न सम्मेलन’ स्वैरकल्पनाको प्रयोगसँगै कल्पना र यथार्थको संयोजन गरिएको महत्वपूर्ण अधिआख्यानात्मक उपन्यास हो। त्यस्तै, तेराखको ‘सर्वजा’ स्वैरकल्पनाको प्रयोग गरी ज्ञान–विज्ञानलाई प्रस्तुत गर्न सफल उपन्यास हो। जगदीश शमशेर राणाको ‘सेतो ख्याक’को आख्यानमा प्राचीन मिथक र नेपाली इतिहासको पुनर्लेखन गरिएको छ। त्यस्तै, विमलकुमार सुवेदीको ‘रोसा’ पूर्वीय मिथकलाई विनिर्माण गरी लेखिएको सिद्धान्तनिष्ठ उपन्यास हो। सुजातको ‘अन्त्यहीन पीडा’मा आख्यानभित्र आख्यान प्रस्तुत गरिने अधिआख्यानात्मक ‘टेक्निक’को प्रयोग गरिएको छ। नारायण वाग्लेको ‘पल्पसा क्याफे’लाई नेपाली उपन्यासको बजारीकरणका निम्ति एउटा ‘टर्निङ प्वाइन्ट’ मानिन्छ, यसमा पनि लेखक आफैँ उपन्यासभित्र उपस्थित भएर अधिआख्यानात्मक लेखनको ‘ट्रेन्ड’ समातिएको छ। रोशन थापा नीरवका ‘प्रत्येक श्रवणकुमार अर्थात्् युद्ध’, ‘प्रस्थानान्तर’, ‘स्वप्नसहर’ र ‘आवाजहरूको जङ्गलभित्र’ उपन्यासहरूमा दृष्टिबिन्दुको स्थानान्तरण, उपन्यास विधाको भञ्जन र लेखनका अनौपचारिकता जस्ता प्रवृत्तिका कारण अधिआख्यानात्मक कित्तामा उभिएका छन्।
चैतन्य प्रधानको ‘आँखा+आँखा’ उपन्यासलाई लेखकले नै अउपन्यासको नाम दिएर दर्शनको पुनर्लेखन गरेका छन्। अमर न्यौपानेको ‘पानीको घाम’ उपन्यास र कथा विधाको मध्यस्थानबाट सिर्जना गरिएको अधिआख्यान हो। यसले आख्यानको परम्परागत मान्यतालाई भंग गरेको छ भने राजनप्रसाद निरौलाको ‘खुला आकाश’ यथार्थ र कल्पनाको मिश्रण गरिएको उपन्यास हो। त्यस्तै, नयनराज पाण्डेको ‘लु’ उपन्यासमा पनि यथार्थ र कल्पनाको मिश्रण गराई पाठकमा भ्रम सिर्जना गरिएको छ भने सुस्मिता नेपाल र रजनी ढकालको पत्रैपत्र उपन्यासले पत्रलेखनको पद्धतिलाई पूर्ण रूपमा अंगीकार गरी नवीन प्रवृत्तिको खोजी गरेको छ। यसले पनि उपन्यास परम्परालाई भत्काउने काम गरेको छ।
तथ्य र कल्पनाको संयोजन र भ्रमलाई जीवन–यथार्थका रूपमा प्रस्तुत गरिएको सञ्जीव उप्रेतीको ‘घनचक्कर’देखि आख्यानभित्रै आख्यानको प्रयोग गरिएको निरूपा प्रसुनको ‘अभिषेक’ पनि नेपाली अधिआख्यानात्मक उपन्यासका गहना हुन्। त्यस्तै, उपन्यास लेखनको सिद्धान्तलाई विषय बनाइएको गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ पूर्ण रूपमा अधिआख्यान हो। अधिआख्यानात्मक प्रवृत्तिलाई सचेत रूपमा प्रयोग गरिएको यो उपन्यास नेपाली अधिआख्यानको एउटा ‘मोडेल’ नै हो। यसमा उपन्यास सिद्धान्त, परम्परा र उपन्यास लेखनका प्रयासलाई नै उपन्यासको विषय बनाइएको छ। यसभित्र विज्ञापन, सूचना, अभ्यासका लागि दिइएका प्रश्न, लेखकीय भूमिका, सन्दर्भस्रोत जस्ता गैरआख्यानात्मक तत्वलाई पनि आख्यानभित्रै प्रस्तुत गरिएको छ। यसको लहरमा मञ्जुल, सुस्मिता नेपाल, कृष्ण बराल, भूमिराज बस्ताकोटी, इन्दिरा प्रसाईं, श्रेष्ठ प्रिया पत्थर, किरण रिमाल, अम्बिका अर्याल आदि उपन्यासकार पनि रहेका छन्।
अधिआख्यान उत्तरआधुनिकतावादी चिन्तनबाट प्रभावित लेखन भएकाले यसलाई प्रगतिवादी चिन्तकले आलोचना गर्ने गरेका छन्। यस सन्दर्भमा पनि नेपाली प्रगतिवादी धारका उपन्यासकारले यसको सफल प्रयोग गरेका छन्। यसको पुष्टि नारायण ढकालको ‘प्रेतकल्प’ र युग पाठकको ‘उर्गेनको घोडा’ उपन्यासले गर्छन्। ‘प्रेतकल्प’मा आख्यानबाहिरको विषयका रूपमा रहने कथास्रोतलाई उपन्यासभित्रै प्रस्तुत गरेर अधिआख्यानात्मक प्रवृत्तिलाई अंगीकार गरिएको छ। ‘उर्गेनको घोडा’मा तामाङ जातिको मिथकलाई पुनर्लेखन गर्नुका साथै आख्यानभित्रै लेखक, पाठक र पात्रको मिलन गराई यथार्थ र कल्पना बीचको भ्रम प्रस्तुत गरिएको छ। तसर्थ, नेपाली अधिआख्यानात्मक उपन्यास लेखनको क्षेत्र ज्यादै फराकिलो छ।
साहित्य लेखनको यात्राले मोड लिने ठाउँ भनेकै नवीनताको प्रवेश बिन्दु हो। स्थापित लेखनको एकोहोरो यात्रामा भिन्न स्वादको प्रवेशले नवीनताको आभास दिन्छ। यसलाई पाठकले पनि स्वीकार गरेर लेखनको परम्परा स्थापित भइसकेको अवस्थामा एउटा प्रवृत्ति बन्दछ। नेपाली उपन्यासमा अधिआख्यानात्मक प्रयोगको परम्परा लामो रहेको र पछिल्ला दुई दशकभित्रै यस प्रवृत्तिका ५० भन्दा बढी उपन्यास प्रकाशित भइसकेको सन्दर्भमा यो एउटा महत्वपूर्ण प्रवृत्ति बनेको पुष्टि हुन्छ। त्यस्तै, उत्तरआधुनिकतावादलाई विरोध गर्ने प्रगतिवादी उपन्यासमा पनि अधिआख्यानात्मक शिल्पको प्रयोग गरिएको र ती सफल पनि भएको अवस्थामा यो सर्वस्वीकार्य प्रवृत्ति बनेको छ। जीवनप्रतिको स्पष्ट दृष्टिकोण नभएका र औपन्यासिकतालाई ख्याल नगरी परम्परालाई भत्काउने अनि नवीनताको खोजी गर्ने नाममा ‘प्रयोगका लागि प्रयोग’ मात्र गरिएका केही उपन्यासलाई छाडेर हेर्ने हो भने नेपाली अधिआख्यानात्मक उपन्यास सफल पनि छन्।
नेपाली उपन्यासमा अधिआख्यानको मूल्यांकन
नवीनता साहित्यिक यात्राको एउटा महत्वपूर्ण मोड हो, जसले साहित्यिक परम्पराको यात्रालाई नवीन मार्गतिर डो¥याउँछ। नेपाली उपन्यासको परम्परालाई हेर्ने हो भने रुद्रराज पाण्डेको ‘रूपमती’ उपन्यासले एउटा नवीन प्रवृत्ति भित्र्याएको छ। यसलाई नेपाली उपन्यासको आधुनिक कालको प्रस्थानबिन्दु मानिएको छ। यसले नेपाली उपन्यास परम्परामा आदर्शवादी–यथार्थवादी प्रवृत्ति अनुसरण गरेको छ। त्यसपछि स्वच्छन्दतावादी, सामाजिक यथार्थवादी, प्रगतिवादी, मनोविश्लेषणवादी प्रवृत्तिजस्ता नवीन प्रवृत्ति भएका उपन्यास देखापरेका छन्। यी प्रवृत्ति देखापरेको समयलाई आधुनिक नेपाली उपन्यासको पहिलो चरण मानिन्छ। त्यसपछि इन्द्रबहादुर राईको ‘आज रमिता छ’ले विसंगतिवादी र अस्तित्ववादी प्रवृत्तिको आरम्भ गरेको छ। यसपछिको समयावधिलाई दोस्रो चरण मानिएको छ। वि.सं. १९९० बाट आरम्भ भएको आधुनिक नेपाली उपन्यासमा २०२१ अर्थात् करिब तीन दशकको अवधिमै दोस्रो चरण आएको भए पनि त्यसपछि लामो समयावधिलाई अर्को चरणका रूपमा चर्चा गरिएको छैन। यसबीचमा समसामयिक धारा र उत्तरवर्ती चरणका रूपमा नेपाली उपन्यासका पछिल्ला प्रवृत्तिलाई चर्चा गर्ने गरिएको भए पनि तिनले स्पष्ट वैचारिक चिन्तनसहितको लेखन प्रवृत्तिलाई औँल्याउन नसकेको पाइन्छ। यस सन्दर्भमा अधिआख्यान एउटा भिन्न विचार, विषय र शिल्पका माध्यमका साथ देखापरेको छ। यसको आफ्नै स्पष्ट वैचारिक जीवनदृष्टि छ। यसलाई प्रस्तुत गर्ने आफ्नै स्पष्ट विषय र शिल्प नेपाली साहित्यमा सफल रूपमा प्रयोग गरिएको पाइन्छ, जसले आधुनिक नेपाली उपन्यासलाई अर्को चरणमा प्रवेश गराएको छ। यस प्रवृत्तिका ५० भन्दा बढी उपन्यास देखापर्नु र यसले निरन्तरता पाइरहेको सन्दर्भले अधिआख्यानले नेपाली उपन्यासको महत्वपूर्ण प्रवृत्तिको स्थान ग्रहण गरेको छ।
प्रकाशित: २४ श्रावण २०७७ ०२:४३ शनिबार