१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विवश माताहरूको मर्म

कुमाता कथासंग्रह (२०७६)। धेरैलाई यो शीर्षक नै असहज लाग्न सक्छ। आमा अर्थात् मातामा ‘कु’ उपसर्ग ?  

हो, वसन्त पराजुलीको कथासंग्रह कुमाताका कथाहरूले समाजमा आमालाई कुमाता बन्न बाध्य बनाइन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेका छन्। जेलमा परेका महिलासँग पुरुषको कुनै न कुनै सम्बन्ध देखाइएको छ। उनीहरू आफ्ना प्रेमी, श्रीमान्, समाज आदिबाट तिरस्कृत हुनुपर्ने डरले कानुनले निषेध गरेका कार्य गर्न पुगेका छन् र कुमाता बनाइएका छन्। यसमा कथाकारले समाजको विसङ्गत पक्षप्रति दह्रो झापड लगाएका छन्।

कुमाताका अधिकांश कथामा नारी पात्रको उपस्थिति छ। कुमाता, छापामारको प्रेम, परिबन्द, अस्मिता, उकुच, दोषी को ? जस्ता कथामा नारीपात्रको उपस्थिति सशक्त देखिन्छ। ‘कुमाता’ कथामा आफ्नो सन्तानको घाँटी थिचेर मार्न विवश आमा, ‘छापामारको प्रेम’मा छापामारको मृत्युपछि अदालतबाट नाता कायम गराउन सफल नारी, ‘अस्मिता’मा देहव्यापार गरी बाँच्न विवश नारी, ‘उकुच’मा बिदेसिएको लोग्नेको प्रतीक्षामा बसेकी नारी, र ‘दोषी को ?’मा लोग्नेबाट यौनेच्छा परिपूर्ण नभएपछि परपुरुषसँग सम्बन्ध राखी बच्चा जन्माएकी नारीका कथा–व्यथालाई प्रस्तुत गरिएको छ।  

त्यस्तै ‘पत्रकार’ कथामा पत्रकार हुनुको पीडा पाइन्छ। अरूको समाचार लेख्ने पत्रकार स्वयंले आफ्नो समाचार लेख्न नसकेको, बढी पारिश्रमिक बुझेँ भनेर तलबमा सही गर्ने अनि कम पारिश्रमिक लिनुपरेको तीतो यथार्थलाई प्रस्तुत गरिएको छ।  

बाआमाप्रतिको सन्तानको व्यामोह ‘सन्न्यास’ कथामा प्रस्तुत गरिएको छ। आधुनिक पुस्तामा आफ्ना अग्रजप्रति मान–सम्मान घट्दै गएको कारुणिक अवस्थाको चित्रण यस कथामा गरिएको छ।  

त्यस्तै, ‘परिबन्द’ कथामा चितवनको रापती नदीको आसपासमा बसोबास गर्ने निम्नवर्गीय परिवारको कथा–व्यथालाई समेटिएको छ। सुरक्षाकर्मीबाट यौनशोषणमा परेकी मङ्गलीको दशापूर्ण अवस्थाको चित्रण गरिएको छ।  

‘नियति’ सडक बालबालिकाप्रति समर्पित कथा हो। बाबुआमाको माया, ममता नपाएपछि बालबालिका कसरी सडकमा पुग्छन् भन्ने यथार्थ चित्रण यस कथामा देखाइएको छ। सडक बालबालिकाको दुःखद् जीवनलाई गहिराइमा पुगेर देखाइएको छ।  

कुमाता शीर्षकलाई सोझो रूपमा कुमाता र अस्मिता कथाले प्रतिनिधित्व गरेका छन्।  

आख्यानकार पराजुलीले सामान्यभन्दा सामान्य भाषा र शैलीमा आफ्नो अभिव्यक्तिलाई प्रस्तुत गरेका छन्। प्रथम र तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग उनका कथामा भेटिन्छ। जीवनका भोगाइलाई नजिकबाट सरल शब्दमा व्यक्त गर्नु उनको कथाकारिताको वैशिष्ट्य हो। पेसाले पत्रकार भएका कारण पनि उनका भाषाशैली सरल बन्न पुगेको देखिन्छ। दशवटा कथाका शीर्षकले कथाका कथ्यलाई समेटेको पाइन्छ। निम्न र मध्यम वर्गका मानिसहरूका दैनन्दिनी पराजुलीका कथागत परिधि हुन्।  

पराजुलीले कथाको उठान राम्रोसँग गरेका छन् तर त्यसको व्याख्या र विश्लेषणमा अलि हतारिएकाले पाठकले खोजेको गहिराइ भने केही कथामा भेटाउन सक्दैनन्। घटनाको एकोहोरो वर्णन केही कथामा अलि बढी भएको र कलापक्ष ओझेल परेको देखिन्छ। पात्रको मनोद्वन्द्व र घटनाको परिपाकमा कथाकार कतैकतै चुकेका छन्।  

नेपाली कथा साहित्यमा विकसित कथा लेखनकै मियोलाई आधार बनाएर उनका कथा आएका छन्। प्रायः कथामा यथार्थको प्रकटीकरण पाइए पनि केही कथालाई उनले आदर्शमा टुंग्याएका छन्। समग्रमा पाठकले एक बसाइमा कुमाताका कथाहरू पढिसक्छन्। यस संग्रहका कथाले पराजुलीलाई एउटा बलियो सम्भावना बोकेको कथाकारको रूपमा चिनाउने काम गरेको छ।

प्रकाशित: २४ श्रावण २०७७ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App