१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

न्यायाधीशलाई पगालेको त्यो प्रेम

सर्वस्वसहित जन्मकैद ठेकिएको झन्डै चार दशकअघिको एउटा ज्यान मुद्दामा प्रेम कहानीले न्यायाधीशको चित्त कसरी पगालेको थियो भन्ने हाम्रो न्यायिक इतिहासमा अंकित छ।  

ठेकिएको कैद सजाय कसरी ६ वर्षमा झारिएको थियो र मुद्दा कसरी सर्वाेच्च अदालतसम्म पुगेको थियो भन्ने फिल्मको कहानीझैँ लाग्छ।

न्यायाधीशद्वय गजेन्द्रकेशरी बास्तोला र महेशरामभक्त माथेमाले गरेको सो फैसला तत्कालीन मुलुकी ऐन–२०२० को अदालती बन्दोबस्तको महलको १८८ नम्बरको प्रयोगमा अभियुक्तलाई ठेकिएको सजाय चर्काे लाग्न गएमा कसरी न्यायाधीशले घटाउन सक्छन् भन्ने एउटा राम्रो उदाहरण हो।  

साबिकको १८८ नम्बरको व्यवस्था र हाल प्रचलनमा रहेको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ को दफा १७ (१) मा अभियुक्तलाई ठेकिएको चर्काे सजाय घटाउन न्यायाधीशलाई विशेषाधिकार दिइएको छ।  

नौ वर्षअघि पत्नी गीता ढकालको हत्या मुद्दामा तत्कालीन डिआइजी रञ्जन कोइरालाले जन्मकैदको सजाय भोगिरहेका थिए। यस सम्बन्धमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीबाट सजाय घटाइदिने गरी असार १५ मा फैसला भयो, जुन अहिले चर्चामा छ। कोइरालाले ८ वर्ष ६ महिना कैद सजाय भोगेर बिहीबार रिहा भएका छन्।  

चार दशकअघिको प्रेम कहानीले न्यायाधीशलाई हुने विशेषाधिकारको प्रयोग र प्रचलनको अभ्यास बुझ्न सहज बनाउँछ।  

निर्णय नम्बर ३१७८ रहेको ज्यान मुद्दा सर्वोच्च अदालतबाट २०४४ असार १२ मा फैसला भएको थियो। फुलमतीको जाहेरीले वादी श्री ५ को सरकारविरुद्ध अब्दुलफत्ते मुसलमान भएको सो मुद्दामा प्रेम असफल पार्न खोजिएको आधारमा सँगै कसम खाई एकापसमा प्रण गरी मर्र्ने उद्देश्यले घटेको घटनामा आधारित छ। एकअर्काले छुरा प्रहार गर्दा प्रेमिकाको मृत्यु भएको तर प्रेमी मर्न नपाएको अवस्थामा प्रेमी मुसलमानविरुद्ध कर्तव्य ज्यान मुद्दा चली सर्वाेच्च अदालतसम्म पुगेको थियो।

न्यायाधीश बास्तोलाले लेखी अर्का न्यायाधीश माथेमाले समर्थन गरेको सो फैसलाले तत्कालीन पुरातनपन्थी नेपाली समाजको चर्चित प्रेम कहानीलाई मात्रै लिपिबद्ध गरेको छैन, त्यो जमानामा न्यायाधीशले कैद घटाउन प्रयोग गरेको विशेषाधिकार समेत स्पष्ट गरेको छ।  

२०३९ भदौ ३ मा सो घटना घटेको पाइन्छ। परिवार नियोजनमा काम गर्ने २७ वर्षीया इन्द्रा र उनका प्रेमी मुसलमानले आफूहरूलाई प्रेमबन्धनबाट छुटाउन खोजेपछि संयुक्त रूपमा आत्महत्याको प्रतिबद्धता गर्छन्। मध्यरातमा अचानक इन्द्रा सुतेको कोठाभित्रबाट आवाज आएको सुनेपछि आमा फुलमती बुझ्न जान्छिन्। बन्द ढोका नखुलेपछि शंका लागि गुहार माग्दा मानिस भेला भएर घटनाप्रति चासो राख्छन्।  

ढोकाहरू नखुलेको हुँदा घरको छानामा चढी फुसको छाना उक्काई हेर्दा प्रेमिका इन्द्राको घाँटी काटिएको र निजका प्रेमी मुसलमान समेत सँगै घाइते अवस्थामा भेटिन्छन्। त्यसपछि गाउँलेले प्रहरी कार्यालय तौलिहवामा खबर गर्छन्। प्रहरी गई घरको ढोका फोडी हेर्दा धारिलो हतियारले घाँटी काटिएर मृत अवस्थामा इन्द्रा खटियामा पल्टिरहेको र सोही खटियामा उनकै प्रेमी मुसलमान पनि छुरीले आफ्नो पेटमा घाउ बनाई आन्द्रा–भुँडी समेत निकालिएको अवस्थामा अचेत भेटिन्छन्।  

कसले कसलाई मार्ने भन्ने विवाद हुन्छ। इन्द्राले आफूलाई पहिला मार्न दबाब दिन्छिन् र भन्छिन्, ‘म तिमीलाई मार्न सक्दिनँ, तिमी मलाई मार अनि तिमी मर।’ मुसलमानले पनि ‘मैले तिमीलाई मार्न सक्दिनँ, तिमीले नै मार’ भनी छुरी फर्काइदिन्छन्। इन्द्राले पुनः छुरी आफैँलाई फकाईदिएपछि बाध्य भएर मुसलमानले छुरी लिन्छन् र रुन लाग्छन्।

मुद्दाको कारबाही अघि बढ्छ। र, तहतह हुँदै सर्वाेच्चसम्म पुग्छ। मुसलमानले अदालत दिएको बयान अनुसार, उनीहरूबीच सात वर्ष अघिदेखि प्रेम रहेछ। यही बीचमा इन्द्राको अर्कै एक डाक्टरसँग सम्बन्ध छ भन्ने मुसलमानले थाहा पाएछन्। त्यसपछि उनले ‘डाक्टरसँग बस्छ्यौ कि मसँग’ भनी सोधेछन्। जवाफमा इन्द्राले ‘डाक्टरसँग होइन, म तिमीसँग बस्छु र मर्नु परे पनि सँगै मर्छु’ भनी प्रतिबद्धता गरेकी रहिछन्। इन्द्राकी बज्यैले समेत डाक्टरलाई नै इन्द्रा जिम्मा लगाइदिने प्रपञ्च गरेपछि आफूहरू आत्महत्या गर्ने विकल्पमा पुगेको र सो घटना घटेको मुसलमानको बयान हुन्छ।  

मुसलमानले ‘इन्द्रालाई मन पराउने डाक्टरले कुनै मुद्दा–मामिलामा फसाएर आफूलाई जेल हाल्ने धम्की समेत दिएको र त्यसले आफूहरुलाई आत्महत्या गर्न प्रेरित गरेको’ बताउँछन्। दुवैबीच ‘सँगै मरौँ’ भन्ने निर्णय भएपछि भदौ ३ को राति ११ः३० बजे घटना घट्छ।  

घटनाको दिन बिहानको खाना खाई इन्द्राकी आमाको घरमै मुसलमान बसेका थिए। इन्द्रा परिवार नियोजन कार्यालयमा गएर ३ बजे फर्केपछि रुन लागिन्। त्यो देखेर ‘किन रोएको’ भनेर मुसलमानले सोध्छन्। इन्द्राले रामेश्वर डाक्टरले आफूलाई ‘तुमको अब ठोकर खाना लिखा है, अब उसका मौत १–२ दिन मे आरहा है’ भनेको सुनाइन्। र, आफू पनि घागरा नदीमा डुबी मर्ने बताइन्। मुसलमानले भने, ‘तिमी मर्ने भए पहिले मलाई मारिदेऊ।’ इन्द्राले सोधिन्, ‘तिमी पनि मर्ने हो त ?’ मुसलमानले भने, ‘मर्ने हो।’

घटना फिल्मको रिल चलेझैँ अघि बढ्छ। रातपरेपछि इन्द्रा भित्र आइन्, ढोका बन्द गरी छुरी निकालिन् र भनिन् ‘तुमको मरना है कि नहीं ?’  

मुसलमानले जवाफ फर्काउँछन्, ‘तिमी मर्ने भए म पनि मर्छु।’ त्यसपछि कसले कसलाई मार्ने भन्ने विवाद हुन्छ। इन्द्राले आफूलाई पहिला मार्न दबाब दिन्छिन् र भन्छिन्, ‘म तिमीलाई मार्न सक्दिनँ, तिमी मलाई मार अनि तिमी मर।’

मुसलमानले पनि ‘मैले तिमीलाई मार्न सक्दिनँ, तिमीले नै मार’ भनी छुरी फर्काइदिन्छन्। इन्द्राले पुनः छुरी आफैँलाई फकाईदिएपछि बाध्य भएर मुसलमानले छुरी लिन्छन् र रुन लाग्छन्। ‘एक दिन मर्नु नै छ, दुश्मनको हातबाट मर्नुभन्दा आफ्नै हातबाट मर्नु राम्रो’ भनेर इन्द्राले सम्झाउँछिन्। त्यसपछि इन्द्राले मुसलमानको हात समाई आफ्नो घाँटीमा पु¥याई जोडसँग दबाएर तानिन्। मुसलमाने पनि छुरी खिच्छन् र आफैंलाई प्रहार गर्छन्। आफू घाइतेसम्म हुन्छन् तर मर्दैनन्। बेहोस भएका उनको होस भोलिपल्ट अस्पतालको शड्ढयामा मात्र खुल्छ। त्यसपछि अदालती कारबाही अघि बढ्छ।  

शव परीक्षण प्रतिवेदन र लास प्रकृति मुचुल्का समेतबाट इन्द्राको मृत्यु कर्तव्यबाटै भएको ठहर भए पनि जिल्लादेखि नै १८८ नम्बरको प्रयोग गरी कैद घटाइदिने प्रक्रिया सुरु हुन्छ। इन्द्राको मृत्यु आफ्नै घरको बन्द कोठामा भएको, इन्द्रा र मुसलमानबीच प्रेम–सम्बन्ध भएको, प्रेममा व्यवधान उत्पन्न हुने आशंका भएपछि दुवैजनाले आत्महत्या गर्ने निधो गरेको, इन्द्राले मुसलमानलाई छुरी दिएको, उनको हात समाएर इन्द्राले आफ्नो घाँटीमा छुरी धसेको र मुसलमानले सोही छुरीले प्रहार गरी आत्महत्या गर्न लाग्दा बेहोस भएको तथ्यका आधारमा उनलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्नु घोर अन्याय हुने ठहर भएको पाइन्छ।

फैसलामा मुसलमानको साबिती बयान, इन्द्रा मृत अवस्थामा कोठामा फेला परेको तथ्य तथा घटनास्थलमा मुसलमान अचेत अवस्थामा फेला परेको विषय, कोठामा छेस्किनी बन्द भएको र अन्य मानिस वारदातको अवस्थामा कोठामा उपस्थित हुन सक्ने अवस्था नभएको विषयलाई मिहीन ढंगले विश्लेषण गरिएको छ। मुसलमानको शरीरमा पनि छुरीको प्रशस्त घाउचोट समेत देखिएको, दुवैबीच मर्ने र मार्ने वार्ता चली छुरी समेत लिई सँगै बसेको अवस्थालाई मार्नेसम्मको नियतको विश्लेषण गरिएको छ।  

प्रेममा बाधा आएपछि कमजोर मानसिकताका कारण दुवैले आत्महत्या गर्ने निधो गरी इन्द्राले आफ्नो घाँटीमा छुरी प्रहार गर्दा मुसलमानले मद्दत गर्छन्। त्यसपछि इन्द्रालाई मारी आफू पनि मर्ने प्रयत्न गर्छन्। उनको पेटमा यत्रतत्र छुरी प्रहार भएको र वारदातको स्थिति समेत विश्लेषण गरी फैसला हुन्छ। मुसलमानलाई सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखी ६ वर्ष मात्र कैद गर्ने गरी न्यायाधीशको चित्तमा लागी सो कैद सजाय घटाएर ६ वर्ष कायम गरिएको फैसलामा उल्लेख छ।  

कारुणिक प्रेम कहानीले जन्माएको अर्काे कुनै पनि हत्याकाण्ड सर्वाेच्च अदालतमा फेरि पुगेको पाइँदैन। अन्य धेरै खालका घटना सर्वाेच्चसम्म पुगेका छन् र न्यायाधीशले विशेषाधिकारको प्रयोग गरी कैद घटाएका उदाहरण पाइन्छन्।

निर्णय नम्बर १०२८९ भएको हर्कमाया विश्वकर्माविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा न्यायाधीशहरू मीरा खड्का र पुरुषोत्तम भण्डारीको इजलासबाट कुनै एउटा व्यक्तिलाई मार्ने उद्देश्य र मनसाय राखी गरिएको अपराधमा झुक्किएर अर्काे व्यक्तिको मृत्यु भएकामा समेत मनसाय प्रेरित हत्या ठहर गरिएको छ। त्यसरी झुक्किएर भएको अपराधमा दोषीलाई पूरा सजाय गर्दा चर्काे पर्न जाने विश्लेषणसहित १८८ नम्बरको प्रयोगबाट दश वर्षमा झार्ने गरी कैदको सजाय घटाएको पाइन्छ।  

त्यसैगरी निर्णय नम्बर १०३५२ भएको नेपाल सरकारविरुद्ध रामलाल मुखिया समेतको मुद्दामा मुख्य अभियुक्त र सहायक अभियुक्तको एउटै भूमिका नहुने आधार लिई न्यायाधीशद्वय केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको इजलासबाट सर्वस्वसहित जन्मकैद गर्ने जिल्ला अदालतको आदेशलाई सच्याई एक वर्ष र दुई वर्ष कैद सजाय भोग्ने गरी सजाय मिनाहा गरिएको पाइन्छ।  

अर्काे निर्णय नम्बर १००७६ रहेको बलराम खड्काविरुद्ध नेपाल सरकारको मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र टंक मोक्तानको इजलासबाट १८८ नम्बरले दिएको विशेषाधिकारको प्रयोगका सन्दर्भमा महत्वपूर्ण व्याख्या गरिएको छ।  

रामलाल मुखिया सन्सारी पूजाको प्रसादका साथै लोकल रक्सी खाएर फर्केका थिए। आफू हल्का मातेको अवस्थामा रातको ८ः३० बजे घरको भ¥याङ चढ्ने क्रममा उनले नारायणबहादुर बस्नेतलाई देखे। घरमा महिला मात्र रहेकामा चोर हो कि भन्ने शंकामा मुखियाले नारायणबहादुरलाई कुटपिट गरे। नारायणबहादुर लडी तलको सिमेन्टको भागमा परी घाइते भए। त्यसैका आधारमा मरेको अवस्थामा ज्यानै मार्नेसम्मको पूर्वरिसइबी समेत नदेखिएको, ज्यानै मार्नेसम्मको पूर्वयोजना, मनसाय वा पूर्वतयारी समेत भएको नदेखिएकाले दश वर्षको कैद गर्ने जिल्लाको राय उचित ठहराई सदर गरिएको छ।

विभिन्न ढंगले समाजमा अपराध घट्न सक्छन्। न्यायाधीशलाई अपराधको गाम्भीर्यताका आधारमा कैद घटाउन सक्ने विशेषाधिकार पनि दिइएको छ। तर, त्यस्तो अधिकारको प्रयोग गर्दा न्याय परेको छ कि छैन भन्ने विवेचना गरेर मात्रै यो विशेषाधिकारको प्रयोग हुन आवश्यक छ। सबै खालका मुद्दाको तथ्य र अवस्था फरक–फरक हुँदा न्यायाधीशको चित्त चार दशकअघिकै प्रेम–कहानीमा झैँ पग्लिन सक्छ भन्न सकिँदैन।  

प्रकाशित: १० श्रावण २०७७ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App