१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

हेयर डिजाइनर बन्न जसले 'विद्रोह' गरे

देवेन गुरुङ सानो छँदा टोलका केटाकेटी बटुलेर कपाल काट्थे। गाउँमा केटाकेटीदेखि पाका मानिससम्म उनलाई कापाल काटिदिन आग्रह गर्थे। किन भने देवेनले राम्रो मिलाएर कापाल काट्ने सिप सिकिसकेका थिए। उनलाई लागेको थिएन यही सिप भविष्यमा व्यवसाय बन्छ भनेर। नुवाकोटका देवेन अहिले उम्दा हेयर डिजाइनर बनेका छन्। उनले काठमाडौंको हात्तीगौंडा कम्प्लेक्समा स्टुडियो चलाउँछन्।

उनको कथा यसरी सुरु हुन्छ। उनको गाउँमा कपाल काट्ने पेशामा कोहि थिएन। त्यसैले छिमेकीहरू ‘हजाम’ भनेर खिसिट्युरी गर्थे। छोरो ‘हजाम’ बन्ने भो भन्न परिवारलाई कत्रो चिन्ता हुन्थ्यो। तर उनी एकरत्ति विचलित भएनन्।  

समयसँगै देवेन गुरुङ बने हेयर डिजाइनर। नेपाली फेसन दुनियाँको उम्दा ‘हेयर डिजाइनर’ हुन् गुरुङ। हात्तीगौंडा कर्मसियल कन्प्लेक्स्मा उनले ‘देवेन हेयर एण्ड ब्यूटी लन्च’ चलाएका छन्। त्यहाँ प्रत्यक्ष रूपमा १० जनालाई रोजगारी दिएका छन्।  

अहिले नेपाली सेलिब्रिटीका हेयर स्टाइलिस्टको रोजाइमा छन् उनी। सेलीब्रेटी मात्रै होइन उनी युवा पुस्ताका लागि मन पर्ने हेयर डिजाइनर बनेका छन्। यहाँसम्म आइपुग्न उनले ठूलै संघर्ष गनुपर्योा।    

नुवाकोटका देवेन एसएलसी पछि ‘प्लस टू’ पढ्न काठमाडौं आए। दाई भाउजू काठमाडौंमै थिए। बुबा नेपालमा आर्मी। उनलाई आर्मीमा भर्ती गराउने परिवारको जोड थियो। तर उनलाई आफ्नो रुचीको पेशामा लाग्नु पर्छ भन्ने थियो।  

उनलाई सरकारी जागिरप्रति कहिल्यै मोह जागेन। उनको समुदायका युवा सेना तथा प्रहरीमा भर्ती हुन मरिहत्ते गर्थे। उनमा कहिल्यै भर्ती मोह जागेन। उनी कपाल काट्न पाउँदा दंग पर्थे। टोलमा केटाकेटी जम्मा गरेर कपाल काट्थे। झोलामा कैंची बोकेर हिँड्थे। फुर्सद हुनासाथ साथीहरूको कपाल काट्न तम्सिन्थे।

परिवार भर्ती हुन हौस्याउँथ्यो। ‘म चाहिँ फरक काम गरेर आफ्नो पहिचान बनाउन चाहन्थें’, उनी भन्छन्, ‘आफ्नो मनले रोजेको काम गर्दा पो मज्जा आउँछ।’  

सुरुका दिनमा सिक्नै भनेर उनले धेरैसँग हारगुहार मागे। तर, कतै राम्रो ठाउँ भेटेनन्। फेरि सिक्नका लागि चाहिने पैसा पनि त थिएन। त्यसमाथि घरपरिवारको एउटै मात्रै ‘डाइलग’ हुन्थ्यो, ‘कपाल काट्ने काम राम्रो होइन, यस्तो पेशाले हाम्रो इज्जत जान्छ। तर उनलाई कपाल काट्ने हुटहुटीले छाडेन।’  

फेसन डिजाइनर बन्ने सपना बोकेर डिजाइनिङ इन्स्टिच्युट धाउनेको जमात पछिल्लो समय बढेको छ। १० वर्ष अघिसम्म यो पेशालाई अर्कै नजरले हेर्को कमि थिएन।  

बिहान कलेज, दिउँसो काम। कपाल काट्ने भोक मेटिएन। ‘फुर्सद हुनेवित्तिकै लोकल शैलुनमा छिर्थेँ। बिहान कलेज, दिउँसो काममा जान्थेँ’, उनी भन्छन् ‘हात बसाल्न शैलुनमा जान्थेँ।’

काठमाडौं सहरलाई सोचे जस्तो भेटेनन्, उनले। सहरमा संघर्षका दिन सुरु भयो। सहरमा कसरी अल्झिने भन्ने नै प्रमुख रह्यो उनको लागि। विहान कलेज र दिउँसो काम गर्नु पर्थ्यो।  

कोठा भाडा र खानाका लागि घरमा रंग लगाउने काम पनि गरे। त्यसले उनलाई सन्तुष्टि दिएन। उनको दिमागमा विभिन्न डिजाइनमा कपाल काटेको दृश्य मात्र खेल्थ्यो। तर दिनहुँ घर रंगाउनु उनका लागि बाध्यता थियो।  

‘काम गर्न हिँड्दा पनि झोलामा कैंची बोकेर हिड्थेँ। काममा भेटिएका साथीको कपाल काटेर भए पनि सुन्तुष्टि लिन्थें’ विगत सम्झँदै उनी भन्छन्,‘एक किसिमको भुत सवार भैसकेको थियो। तर राम्रो सिक्ने ठाउँ भेट्टाएको थिइन।’  

संयोगले ‘लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियो’ का लक्ष्मी ठाकुरसँग उनको भेट भयो। ठाकुरले कतै सिकेर आएमा काम गर्न दिने बताए। उनलाई ‘ढुंगा खोज्दा देउता मिले जस्तो’ भयो। अनी उनको जीवन मोडियो।    

‘एउटा इन्स्टिच्युटमा १० हजार रुपैयाँ तिरेर सिकें’, गुरुङ सुनाउँछन्, ‘दुई महिना सिकेर ठाकुरको कोटेश्वस्थित स्टुडियो जान थालें।’    

उनले काम गरेस्वरुप महिनाको ४ हजार रुपैयाँ पाउन थाले। सुरुसुरुमा निकै मुस्किल हुन्थ्यो। कपाल विग्रदा आएका ग्राहक पनि धेरै पटक भट्किएका छन्। धेरै पटक गाली पनि खाएका छन्।

उनी लक्ष्मी ठाकुरप्रति कृतज्ञ छन्। ‘उहाँले मलाई मौका नदिएको भए जीवनले युटर्न लिने थिएन’, गुरुङले भने, ‘मैले जे सिकें उहाँकै स्टुडियोबाट सिकें।’  

उनलाई खारिन समय लाग्यो। ‘जीवन गोलमाल जस्तो भयो। सुरुमा काम गर्न जानिएन’, कहिलेकाहिँ उनी निराश बन्थे, ‘सपना हेयर डिजाइनर बन्ने थियो। तर काम गर्नै नजाने पछि हार खाइसकेका थिएँ।’  

उनले इन्टरनेटका माध्यमबाट धेरै स्टाइल हेरे। मेहेनत गरे। विस्तारै काममा सुधार हुँदै गयो। ग्राहकले उनको खोजी गर्न थाले। आज उनी कुशल हेयर डिजाइनरका रुपमा स्थापित भैसके।  

समयक्रममा उनी दिल्ली इन्टरनेसनल इन्स्टिच्युटमा डिजाइनिङ कोर्स गर्न हान्निए। त्यहाँ सोचेजस्तो भेटेनन्। बरु थुप्रै सास्ती खेप्नु पर्योम। त्यसैले एक सातामै स्वदेश फर्के।  

वनको काँडालाई तिर्खानु पर्दैन भन्ने भनाई नै उनको जीवनमा लागू भयो। कुनै पनि काम गर्न सीप भए पुग्छ भन्ने राम्रो उदाहरण बनेका छन् उनी।  

उनले नेपाली हेयर स्टाइल स्थापित गर्न तल्लीन छन्। उनले धेरैलाई आफ्नो क्षमता र कौशलले मोहित बनाएका छन्। उनको कामले स्याबासी पाएको छ। उनी समयसँगै नयाँ ट्रेन्डसँग ‘अपडेट’ हुन्छन्। त्यसैले त हेयर स्टाइलमा उनी आफैं ब्राण्ड बनिसके।  

‘अझै पनि सिक्दै छु, आफूलाई हेयर डिजाइनिङको विद्यार्थी नै ठान्छु’, उनी भन्छन्,‘सिकाई भनेको कहिले पनि सिकिँदैन्। तर आउने ग्राहकलाई चित्ता बुझाउने हेयर स्टाइल दिन्छु।’  

सेलेब्रिटी मात्र होइन, मध्यम आय वर्गलाई पनि हेयर डिजाइनप्रति आकर्षित गर्न तल्लीन छन्। हेयर स्टाइलले व्यक्तित्व विकास र आत्मविश्वास बढाउँछ। अचेल डिजाइनरप्रति सम्मान भाव बढ्दै गएको उनको अनुभव छ।

कपाल कटाइलाई पहिला पहिला मधेशी मूलकाले मात्र गर्ने काम भनेर हेपाहा दृष्टिले हेरिन्थ्यो। अचेल यसलाई सृजनात्मक पेसा मान्न थालिएको छ। जति राम्रो काम गर्न सक्यो, त्यति प्रतिष्ठा आर्जन हुन्छ।  

‘कपाल काट्ने पेशामा अचेल निश्चित समुदाय मात्र छैनन्। आज हरेक जाति र समुदायका युवा कपाल काट्ने काम गर्छन्’, गुरुङ  भन्छन्’, ‘तर आज भन्दा १० वर्ष अघि कपाल काट्न विद्रोह नै गर्नु पर्यो।’

 

प्रकाशित: २८ असार २०७७ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App