३१ श्रावण २०७७ शनिबार
कला

मरिची

लैगिक विभेदविरुद्धको आवाज

विएन ढकाल

वैशाखजेठको समय, गाउँभरि मकै गोड्न धमाधम थियो। काजीबाको मेलामा ८–१० जना खेतालाहरूदेखिन्थे। घाम यसरी चर्किएका थिए कि– मानौँ, आकाशमा दुई वटा घाम झुल्किएका छन्। सबै खेतालाहरू असिनपसिन हुँदै मकै गोड्दै थिए।  

मेलामा सिरानघरे काइँलो पनि थियो। गाउँभरिकै काम गर्नको ठगाहरूको लिस्टमा पहिला उस्कै नाम आउँथ्यो। तर, मान्छे भने ऊ धूर्त थियो। कसैको मेलामा जाँदा अनेकका गफ लगाउँदै, खेतालाहरूलाई केके भनेर जिस्काउँदै उडाएर बस्थ्यो। खेत वा बारीधनी मेलोमा आएको देख्नासाथ फेरि धमाधम काम थाल्थ्यो। काजीबाको मेलामा पनि उसले त्यही क्रम दोहोरयायो। ऊ मरिचीलाई केके भनेर उल्लिबिल्ली पार्दै बसेको थियो। त्यहीबेला काजीबा घरमुनिको चिलाउने रूखको फेदमा देखिए। काजीबालाई देख्नासाथ ऊ धमाधम काम गर्न थाल्यो।

काजीबा मेलामा आइपुग्दा ऊ पसिनैपसिना भएको थियो। काजीबा पनि उस्कै सीधा पर्ने गरी माथ्लो गराको डिलमा उभिए। खेतालामध्येकै सबैभन्दा बढी आफूले काम गरेजस्तो गरी ऊ टक्क उभियो। र, निधारको पसिना दायाँ हातको चोर औंलाले सट्ट पुछ्दै बोल्यो, ‘घाम पनि कस्ता चर्किएका हौ आज त, बाफ्रे... बाफ्..!!’

एकछिन काजीबातिर हेर्यो। उसको हाउभाउ देखेर काजीबा पनि हल्का मुस्कुराइदिए। त्यसपछि ऊ मरिचीतर्फ हेर्दै बोल्यो, ‘ओइ मरिची !’ मकै गोडिरहेकी मरिचीले बिजुली चम्किए जसरी ऊतिर पिलिक्क हेरी र केही नबोली खन्न थाली। ‘जाजा पानी लिएर आइज धाराबाट, कस्तो तिर्खा लाग्यो ।’केही नबोली मरिचीले ऊतिर डेरा आँखा पल्टाई र फेरि काम गर्न थाली।  

काइँलोलाई पनि रिस उठ्यो। ‘जान ओई सुनिनस् कि के हो?’

‘तैँ जान, खूब अर्काको नाम राख्ने पुरेत भएको....मेरो नाम फूलकुमारी हो भन्ने जान्या छैनस् ?...कहीँ नभाको मुर्दार !” मरिची पनि के कम थिई र, रिसले दारा किट्न थाली।

‘हा...हा ! मान्छे छे सुकेको मरिचजस्ती नामचाहिँ फूलकुमारी रे ! हैन कसले भन्छ हौ फूलकुमारीचाहिँ तँ मरिचीलाई ?... मरिची...!’

‘तँ छस् नि कहीँ नभाको सुँगुर, ूुब अर्काको नाम राख्न जान्ने भको, खास नामबाट बोलाउन नसक्ने मुर्दार।’ ऊ रिस उठेपछि प्रायः सबैलाई मुर्दार भन्न छुटाउँदिन थिई। कुन्ताका ताता घाम त्यहाँमाथि रिस उठेको बेला, मरिची रातोपिरो भई। काइँलो चुप लाग्यो। मरिची भने केके भुतभुताउँदै फेरि खन्न थाली। 

मरिची...!, उस्को प्रख्यात नाम। मान्छे पनि नामअनुसारकै थिई। उसको उमेर मात्र बढ्यो, शरीर बढेन। कुन्ताकी होची मान्छे, त्यहाँमाथि मरिचजस्तै सुकेकी थिई। त्यसैले समाजले राखिदिएको उस्को नाम नै मरिची...!  

उसको वास्तविक नाम भने फूलकुमारी थियो। न्वारनमा पुरेत बाजेले जुराइदिएको। उसलाई खूब मन पथ्र्याे यो नाम तर के गर्नु ? नामजस्तो उसको शरीर फुल्नै सकेन। उचाइ पुगनपुग त्यस्तै चार फुट, मोटाइ सुकेको मरिचजस्ती चाउरिएकी। काटीकुटी ३४ केजिको थियो होला ज्यान। ऊसँगै स्कूलमा पढ्ने साथीहरू सबैको बिहे भैसकेको थियो। आफ्नो बिहे नहुनुमा शरीरकै दोष हो भन्ने लाग्थ्यो उस्लाई र बेलाबेला चिन्तित हुन्थी।  

मरिची घरकी जेठी छोरी थिई। उसका दुई भाइ र दुई बहिनी थिए। भाइबहिनी उमेरले साना तर ज्यानले ऊभन्दा ठूला र खाइलाग्दा थिए। भाइबहिनी हलक्कै बढेको र उनीहरूको ज्यान सुगठित र मिलेको देख्दा मरिचीलाई कताकति पीडाबोध हुन्थ्यो आफू देखेर।

सायद पहिलो सन्तान भएर होला, पहिलापहिला धेरै प्यारो गर्थे बाआमाले उसलाई। माया गरेर “फूलु“ भन्दै बोलाउँथे। ऊ पनि फुरुक्क हुन्थी त्यसो भन्दा। तर, जब भाइबहिनी हुर्किएर ठूल्ठुला भए, त्यसपछि बाआमाले पनि उसलाई मरिची नै भन्न थाले। बाआमासँगै भाइबहिनीले पनि त्यसै भन्न थाले। बाआमा, भाइबहिनी र सिङ्गो गाउँले नै मरिची उपनाम झुण्डाइदिएपछि उसलाई आफू हेपिएर बाँच्नुपरेको महसुस हुन थाल्यो। त्यही कारणले उसमा जीवनप्रतिको आशा कम नैराश्य ज्यादा हुँदै गएको थियो।

असार मासको समय, काजीबाकोमा रोपाई थियो। मरिची पनि गएकी थिई रोपाईँमा। त्यसदिन काजीबा मरिचीका छेउ आएर भने, ‘मरिची, भाइबहिनी पनि तँभन्दा ठूल्ठुला भैसके। अब त तेरो पनि बिहे गर्ने बेला भयो है। सँगैका साथीहरू काखी च्याप्ने भैसके, कि हैन मरिची ?’

काजीबाको कुराले उस्को मुटु चसक्क भयो। हुन पनि हो, उमेरले पच्चीस वसन्त पार गरिसकेकी थिइ सायद। त्यही स्कूलमा संगै पढेका साथीहरूका छोराछोरी त्यही स्कुल पढ्ने भैसकेका थिए। एउटी छोरी मान्छे, जसलाई आमा हुनुको अपनत्वले सधैं गर्व लाग्छ। उसलाई पनि आमा बन्ने रहर नभएको कहाँ होर तर माग्ने केटा नै आएनन्।  

‘बिहे गर्ने बेला भएर के गर्नु काजीबा, सबैले फुल्दै नफुली सुकेको कोपिला भन्छन्। कस्ले पत्याउँछ र मजस्ती अभागीलाई...!’ काजीबासामु उसले गुनासो पोखी।  त्यो सुनिरहेको सिरानघरे काइँलो बाउसे गर्दागर्दैको गरो छोडेर आयो र भन्यो, ‘के सुर्ता लिन्छेस् हौ मरिची, यो काइँलो जिम्दै छ नि...म छउन्जेल चिन्ता नमान्, मरेपछि जे होला होला..!’ काइँलो रौसिएर बोल्यो। मरिचीले ऊप्रती नजर लगाई। उसलाई काइँलो सधैँको भन्दा कताकती फरक लाग्यो। सायद, मरिचीले उसमा आफ्नोपन भेटी होली।\काजीबा भने डिलमा टुक्रुक्क बसेर मुस्कुराइरहेका थिए। छेउमै धान रोपिरहेका रोपाहरहरूले पनि जिस्काउँदै मरिचीलाई भने, ‘अँ चिन्ता नमान् है मरिची, तेरा लागि जिम्दै छ रे काइँलो ।’ सबै गलल्ल हाँस्न थाले। काजीबा भने लौ गर गर केके गर्छौ भन्दै घरतिर लागे। मरिची पनि धान रोप्न थाली। धान रोप्दै गर्दा काइँलोतिर नहेरी निउरिएरै बोली, ‘ठट्टा गर्न खुब आउँछ है तिम्लाई?’

‘ठट्टा हैन मरिची, यो काइँलोले बोलेपछि बोल्यो...बोल्यो ।’ ऊ गलल्ल हाँस्यो ।

‘चुप् लाग् मुर्दार, यहाँ बीउ सकिन लागेछ बीउ हाल्दे बरु ।’

‘बीउ हाल्ने बेला भकै हो र मरिची?’ मरिचीतर्फ आँखा कर्काउँदै अनौठो भावले लेग्रो तान्दै काइँलोले प्रश्न गर्यो । 

मरिचीले के बुझी खोई, उसले पनि तुरुन्त जवाफ फर्काई, ‘बेला भको हैन, ढिलाचाहिँ भैसक्यो नि। यहाँ रोपाहरको हात खाली भैसक्यो, देख्दैनस्?’

अरू रोपाहरहरूले अलिक बढी नै बुझेछन् क्यार गलल्ल हाँस्न थाले। उनीहरूको हाँसो देखेर मरिचीचाहिँ ट्वाँ परी। काइँलोले त्यहीबेला ब्याडबाटै बीउ फाल्दियो। बीउले हिलो उछिट्याएर मरिचीको अनुहार हिल्लै भयो। “तँ मुर्दारलाई पख् त भरे...!’ ऊ टाउकोमा बाँधेको सलले हिलो पुछ्न थाली। काइँलो भने ब्याडमै लडीलडी हाँस्न थाल्यो।  

‘मैले तँलाई हिलो छ्यापेको हैन है मरिची।’ काइँलो ब्याडबाटै लेग्रो तानेर करायो।  

‘योचाहिँ के गरेको त ?’ अनुहारको हिलो देखाउँदै मरिचीले प्रश्न गरी।  

‘माया...!’ काइँलाले आवाज ननिकाली मुख मात्रले संकेत गर्यो र बाउसे गर्न गयो।

गाउँघरका हरेक मेलापातमा सिरानघरे काइँलो र मरिची खूबै जिस्किन थालेका थिए। सिरानघरे काइँलो, जसलाई ऊ गाउँकै हाउडी मान्छे सोच्थी । सबैभन्दा घृणाको पात्र थियो ऊ । तर, आजभोलि किनकिन मरिची उसैलाई सम्झिएर हरपल टोलाउन थालेकी छ । वनमा घाँस दाउरा गर्न जाँदा होस् वा धारामा पानी लिन जाँदा मरिची उसैलाई सम्झिन्थी र एकनास टोलाउँथी । काइँलो पनि घरको काम छोडेर बेलाबेला मरिचीकातिर झुल्किन थालेको थियो । ऊ घरमा आएको बेला मरिची निकै खुसी हुन्थी । उनीहरूएक अर्कालाई कर्के नजर लाएर मस्किन्थे। कैलेकाहीँ बाआमाले उनीहरू मस्किएको देखिहाल्थे। र, काइँलो जानसाथ मरिचीका बा भन्थे, ‘आजकाल तेरो चाला निको देख्दिन नि मरिची, के हो पारा ?’

‘हैन के गरेँ र मैले ?’ ऊ रिसाएर भन्थी ।

‘अझ मुखमुखै पो लाग्छेस् ? के गर्दैछेस्, सब थाह छ मलाई ।’ मरिचीका बा दारा किट्दै झपार्थे। त्यसपछि मरिची भित्र कोठामा पसेर रुन थाल्थी । र उही काइँलोलाई सझिएर एकनास टोलाउँथी ।

एकदिन त्यसैगरी उसलाई बाले खूबै कराए। यस्तरी कराए कि, त्यसदिन त उसलाई संसारबाटै बिदा हुन मन लागेको थियो । तर, त्यसका लागि उचित समय र ठाउँ पाइन र बाँची सायद।

बाले पहिलो सन्तान छोरोको आश गरेका रहेछन्। तर छोरी भई, त्यो पनि मरिची। ए किनकिन खाइलाग्दी भइन। तै भएर मरिचीका बा उसलाई देखिसहँदैनथे। ‘तँ त उहिलै गर्भमै तुहिनुपर्ने थियो। भाग्यले जन्मिस् । अब आफ्नो ठाउँमा बस्न सिक् । आइमाई धेरै बाठो भएको राम्रो होइन।’ मरिचीका बा उसलाई यसरी झपार्थे।

‘छोरी भएकै कारण मैले गर्भमै तुहिनुपथ्र्यो ? आखिर किन ?’ ऊ आफैंलाई प्रश्न गर्थी। ‘छोरा र छोरीमा, महिला र पुरुषमा किन यति धेरै विभेद होला। तिमी पुरुषहरू, जसलाई तरुनी नभई पनि हुँदैन र देखिसहँदैनौ पनि । के महिलाहरू तिमी पुरुषहरूका कठपुतली मात्र हुन्, जसलाई चाहेको बेला जता पनि नचाउन सकियोस्।” ऊ मनमनै बालाई हप्काउँथी।  

विभिन्न बहानामा सधैंजसो बाले कचकच गर्न थालेको थिए। ऊ सोच्थी, ‘यो घरमा म नै बढी भएको रहेछु । बाआमा, जो भाइबहिनीलाई मात्र माया गर्छन्, केही भन्दैनन् तर मलाई किन यति धेरै पिरोल्छन्। जन्मनुमा के दोष थियो र मेरो भगवान्? यस्तो नर्कजस्तो घरमा बस्नुभन्दा जान्छु बरु कतै।’ एकदिन बिहानका राति नै ब्यँुझनासाथ उसमा यस्तो सोच आयो। घरमा कोही पनि उठेका थिएनन् । ऊ बाटो लागि हँसिया, नाम्लो र डोरी बोकेर ।  

भोलिपल्ट गाउँभरि हल्ला फैलियो, ‘मरिची हराइछ....मरिची हराइछ।’ सबै भेला भए मरिचीका घरमा । गाउँका हरेक ठाउँमा होहल्ला गर्दै पुग्ने  सिरानघरे काइँलो त्यहाँ देखिएन। पछि कुरा बुझियो कि मरिची र सिरानघरे काइँलो त राति नै टाप हानेछन्।

मरिचीकी आमा पिँढीमा बसेर झोक्राइरहेकी थिई। ‘के सुर्ता लिन्छेस् हौ तँचाहिँ? झन् आफैँले बढार्नुपर्ने कसिंगर हावाले उडायो, अब केलाई चिन्ता ? मरिचीका बाले बूढीलाई सम्झाए। तैपनि आमाको मन न हो छोराछोरीको चिन्ता त लागिहाल्छ।

विवाहपछि त जीवन फेरिएला, सबैको मायाममता पाउँला सोच्थी मरिची। सोचेअनुसार नै थिए उसका वैवाहिक जीवनका शुरुवाती दिनहरू। तर बिहे गरेको पाँच वर्ष बितिसक्दा पनि ऊ आमा बन्न सकिन। त्यही निउँमा उसलाई अति नै माया गर्ने काइँलो पनि किचकिचाउन थाल्यो। सासु ससुराले देखिनसहेपछि उनीहरूबिहे गरेको वर्ष दिन पनि नबित्दै छुिट्टएका थिए। छुट्टिएपछि खेतीपातीको काम गर्न थाले। काम पनि उनीहरू यति मिलेर गर्थे कि, गाउँका सबैले उनीहरूलाई नमुना जोडी भन्थे। बिहे भएको लामो समयसम्म पनि बच्चा नभएपछि काइँलो त्यही कुरालाई लिएर किचकिचाउन थाल्यो। केही काम सघाउँन छोड्यो। म्रिचीलाई घरकै काम भ्याईनभ्याई हुन्थ्यो झन् केही खेतीपाती सबै काम आफैँले गर्नुपर्दा मरिची भारमा परी।

काइँलो बिहानै गाउँ डुल्न जान्थ्यो। गाउँ डुलेर आउँदा मरिचीले भात तरकारी पकाई गोरु घस्याई मेला लान ठिक्क पार्नुपथ्र्यो। त्यति मात्र कहाँ होर मेला हिँड्ने बेला ऊ गोरु धपाउँथ्यो र हलो जुवा मरिचीलाई नै बोक्न लगाउँथ्यो। म्रिचीले हलोजुवासँगै खाजासामल पनि बोक्नुपथ्र्यो। कुन्ताकी सानी मान्छे,काइँलो सँगसँगै हलो, जुवा, खाजा सबैथोक सकिनसकी बोकेर खेत जान्थी। खेत पुगेपछि पनि यो गर् त्यो गर् भनेर नानाथरी काम लगाइरहन्थ्यो। ऊ एकछिन टुसुक्क बस्न पाउँदिनथी। मेलो सकेपछि काइँलो मरिचीलाई गोरु लेर जा भन्थ्यो र आफू भने रित्तै घर फर्किन्थ्यो।  

‘केको सजाय दिएको होला यो मलाई। हो, म आमा बन्न सकिन तर यसमा मेरो के दोष ? तिमीलाई अलिकति पनि मेरो माया लाग्दैन है काइँला? मेरो त भाग्य पनि कस्तो रहेछ। बाले भनेजस्तै यस्तो भाग्य लिएर जन्मनु भन्दा त बरु गर्भमै तुहेको भए हुने।’ ऊ बेलाबेला आफ्नो भाग्य सम्झेर रुन्थी।  

गोरु लिएर घर पुगेपछि मरिची भातभान्सा गर्ने, पधेँराबाट पानी ल्याउने काममा लाग्थी। काइँलो हल्लिँदै साँझमा मात्र घर आइपुग्थ्यो र खाटमा बसेर पुरुष हुनुको अहम्ता देखाउँदै अनेक काम अह्राउँथ्यो। मरिचीले भात पकाउँदा उसले पनि गोठको धन्दा गरे हुने नि, तर गर्दैनथ्यो। सबै काम मरिची नै सकिनसकी भ्याउँथी। त्यति गर्दा नि कहाँँ सुख पाउँथी र उसले। उसै त कामले लखतरान ज्यान, त्यसमाथि काइँलोले चाह्यो भने राति पनि उसको ओछयान बनिदिनुपर्ने....रातभरि सुत्न नि नपाउने । ‘यो कस्तो अत्याचार हो नारीमाथि, के नारीहरू पुरुष नामका लोग्ने मान्छेहरूका ओछयान मात्र हुन् र ?’ ऊ आफैँलाई प्रश्न गर्थी। कैलेकाहीँ त उसलाई पुरुष भन्ने जातदेखि नै घृणा लागेर आउँथ्यो।

बिहे अघिको सिरानघरे काइँलो र बिहे पछिको सिरानघरे काइँलो बीचको फरक पाएर ऊ दुःखी हुन्थी। अनि आँखाभरि आँसु पार्दै काइँलोलाई भन्थी, ‘छेपाराले रंग फेरेजस्तो तिमी त कति चाँडै बदलियौ है। सम्झना छ तिमीलाई, बिहेअघि हामीले खाएका कसमहरू? तिम्ले त यति चाँडै माया मारेउ, साँच्चै हो काइँला आजकाल तिमीलाई मेरो कति पनि माया लाग्दैन। तर, मलाई तिम्रो माया औधी लाग्छ। तिमी आफैँ भन न यो ज्यानले कति काम गर्न सक्छ र कति काम गरिरहेको छ। यो सब काम गर्ने तागत मेरो हैन, यो त तिम्रो मायाको हो काइँला। नत्र त म उहिले मरिसकेको हुने थिएँ।’

काइँलो केही बोल्दैनथ्यो। टोलाउँथ्यो मात्र।  

‘तिमीलाई बाबु नबनेकोमा जति पीडा छ त्यसको दोब्बर पीडा त मलाई पनि आमा बन्न नसकेकोमा छ नि। तर के गर्नु हाम्रो भाग्य नै यस्तै रहेछ। तै पनि मलाई किनकिन तिम्रो साथमा रहँदा संसार जितेको जस्तो लाग्थ्यो तर आजकालको तिम्रो व्यवहारले त मलाई व्यर्थै बाँचेजस्तो लाग्न थालेको छ। म के गरौं?’ ऊ काइँलालाई बेलाबेला सम्झाउँथी।  

‘केही नगर्, त्यसै बाँचेजस्तो लाग्छ भने मर् !’ काइँलो निर्दयी भएर जवाफ दिन्थ्यो अनि मरिची कोठामा पसेर रुन थाल्थी। काइँलाको नाममा उसले यति धेरै आँसु बगाएकी छ कि मानौं संग्रह गरेको भए उसका आँसुबाट यतिबेला अर्को कोशी बगिरहेको हुने थियो।

कत्रो सपना देखेकी थिई उसले काइँलोमाथि तर त्यो सपना सपनामै सीमित गराइदियो उसले। जति सम्झाए पनि काइँलाले सम्झेन। जति सम्झायो उति मरिचीमाथि नै जाइलाग्न थाल्यो। नानाथरी गाली गरने कुट्ने लगायतका हर्कतहरू गर्न थाल्यो। मरिचीलाई हप्काउनु, झपार्नु र कुट्नुमा नै आफूलाई मर्द सोच्न थाल्यो।

 ‘ओई बाँझी ..., गोरु घस्याइनस् आज ? भोकै देख्छु त, भोका गोरु लगेर कुन तेरो बाउले जोत्छ ?’ एकदिन बिहानै गाउँ डुलेर  आएपछि गोठ छिरेको काइँलो गोठबाटै कराउँदै आयो। मरिची भान्सामा भात तराकारी पकाउँदै थिई। उसले भान्साको ढोकामा आएर उही कुरा दोहोर्यायो।

मरिचीलाई पनि अति नै रिस उठ्यो। ‘भ्याउनु परेन मैले चाहिँ, मचाहिँ भात पकाउनु कि, गोरु घस्याउनु कि... के गर्नु ? कैलेकाहीँ त तिमीले गरे नि हुन्छ नि।’ दारा किट्दै साहसका साथ बोली ऊ।

‘के भनिस् रे बाँझी ..., फेरि बोल् त, तँलाई बसेर चिरिन ल्याको हो मैले ? मर्न नसकेकी अगति राणी,......तँलाई कालले बिर्सेकी...!’

‘खाली बाँझीबाँझी नभन है। पहिला तिम्रा नि आँखा फुटेका थिएनन् होला नि ।’ काइँलो केही नबोली आँखा पल्टाउँदै खाटमा गएर पल्ट्यो। ‘ती गोरुलाई दुईचार मुठा घाँस काटेर ल्यार हाल्दे नत्र तैँले नै जोत्नुपर्ला हलो।’

मरिचीले भर्खर तरकारी बसाएकी मात्र थिई। ऊ केही नबोली रिसले भुतभुताउँदै घाँस काट्न गई। कस्तो समाज हो यो, जहाँ पुरुषले उपरखुट्टी लगाएर बस्न हुने, गाउँ डुलेर खान हुने तर महिलाले एकछिन सास फेर्नै नपाउने...अनि फेरि गफचाहिँ पुरुषहरूकै ठूला हुने। घाँस ल्याएर गोरुलाई हालिदिई र भान्सामा पसी। तरकारी डढेर भस्याकभुसुक भएछ। मरिची घाँस काट्न जाँदा काइँलाले तरकारी हेरेको भए पनि हुने नि, तर हेरेन।  

‘यहीँ बस्दा यति तरकारी चलाइदिन नि नसकने मुर्दार, लोग्ने मान्छेले चाहिँ भात तरकारी पकाउन नहुने, घिच्नचाहिँ हुने कुन शास्त्रमा छ कुन्नि, अब खाउन् न डढेको तरकारीसँग भात।’ ऊ एकछिन भुतभुताई र काइँलालाई भात खान बोलाई।  

खाटमा ढल्किएको काइँलो ढल्किएरै बोल्यो। ‘हातमुख धुने पानी खोई त, तेतिकै भात खाइन्छ ?’  

‘त्यति हात धुने पानी समेत लान नसक्ने मुर्दार ।’ मनमनै कराई र पानी लगेर दिई।  

‘तरकारी के पकाएको यस्तो सबै डढाएर ? हैन तँ बौलाकी त छैनस् ?’ भात खाँदै काइँलो कड्कियो।

‘म घाँस काट्न गएको त देखेकै थियौ होला, घरैमा पसारिएको तिम्ले यति हेर्न सकैनौ त।’ काइँलाको बोली भुइँमा खस्न नपाउँदै मरिचीले जवाफ फर्काई।

‘स्वास्नी मान्छे भएर आफ्नो लोग्नेसँग धेरै मुखमुखे लाग्ने हैन है। आफ्नो ठाउँमा बसेर बोल्न सिक्।’  काइँलो आफू पुरुष हुनुको दम देखाउँदै बोल्न थाल्यो।  

‘अँ..., तिमी पुरुषहरूलाई त हाम्रो मासुको त्यही एक चोक्टो भए पुग्ने रहेछ हैन? अरू दयामाया केही छैन । कस्तो ढुंगाको मन हो। इज्जत चाहनेले त अरूको नि इज्जत गर्न सिकेको राम्रो।’

‘आज आएर मेरो मन तेरा लागि ढुंगाको मन भयो हैन?’ ऊ भावुक भएर बोल्यो।

‘बढ्ता नबोल अब, घिच्ने भए खुरुखुरु घिच।’ मरिची साहसका साथ बोली। मृत्युसँग त अब उसलाई कुनै भय थिएन भने किन डराउनु, नडराई भनी। 

‘तेरो भात तैँ खा...’ काइँलाले थालको भात तरकारी मरिचीतिर झटारो हान्यो। भात तरकारी सबै मरिचीका अनुहारभरि लाग्यो। उसले मुख धोई र भात नखाई काइँलाले खाको जुठा भाँडा माझ्न थाली। 

धन्न सकेकै थिइन। काइँलो खाटमा बसेर फेरि भट्याउन थाल्यो। ‘गोरुलाई खोले देकै छैन क्यार... खोले दिएर खेतमा जोत्न लानुपर्ने। आज पिपलबोटे हिल्लाइसक्नुपर्ने छ।’

‘म भाँडा माझ्दैछु, तिमीले दिँदा नि हुन्छ नि खोलेपानी। सधैं मैले मात्र दलिनुपर्ने त हैन होला?’

पोथी बासेको राम्रो होइन, धेरै नबास्।” यति भनेर ऊ खाटमा पल्टियो।काइँलाले जे जस्तो व्यवहार देखाए पनि मरिची उसलाई धेरै माया गर्थी। त्यही मायाले होला आजसम्म उसले सबै कुरा सहेर सबै काम सकेसम्म गरी। यो महिलाले गर्ने यो पुरुषले गर्ने काम भन्नुभन्दा पनि दुवैले मिलेर सबै काम गर्नमा ऊ खुसी हुन्थी र ऊ त्यही चाहन्थी पनि । विवाहका शुरुवाती दिनमा त काइँलो पनि त्यस्तै थियो। हरेक काममा मरचीलाई सघाउँथ्यो। तिनै विगत सम्झेर एकदिन काइँलाको मन फिर्छ भन्नेमा ऊ आशावादी भई र धन्ना सकेर खोलेपानी पनि दिई। 

त्यतिन्जेलसम्म काइँलो खाटमै पल्टिरहेको थियो। “अब मेला लाने हैन गोरु ? कि सुतिरहने?”काइँलो केही नबोली जुरुक्क उठ्यो । त्यसपछि गोरु लिएर दुवै मेला गए। 

त्यसदिन, बेलुका खाना खाइसकेपछि मरिची धन्ना गर्न थाली । काइँलो भने ओछ्यानमा गएर सुत्यो। सधैं भने मरिचीले धन्न सकुन्जेल बाहिर खाटमा पल्टिन्थ्यो । र, धन्न सकेपछि ओछ्यान मिलाउन भन्थ्यो अनि मात्र सुत्न जान्थ्यो। 

धन्न सकेर मरिची ओछ्यानमा पुग्दा ऊ निदाएजस्तो भएको थियो। मरिची पनि सुती। सधैंझैं किन हो काइँलोले दुःख दिने चेष्टा पनि देखाएन। 

‘आजचाहिँ धेरै थाक्यौ  क्या हो जोत्दाजोत्दै ?’ मरिची उसका कानमा खुसखुसाई।  

काइँलाले पिर्लिक्क आँखा पल्टायो रिसले र भन्यो। ‘अँ ...., निद्रा लाग्यो मलाई, अब सुत् तँ पनि चुप् लागेर ।’

मरिचीको मन कताकता चस्कियो। ‘पापी पुरुषहरू, उनीहरूले चाहँदाचाहिँ हामी महिलाहरूले जबर्जस्त भए पनि उनीहरूको ओछ्यान बनिदिनुपर्ने।’ उसले मनमनै सोची। धेरै अघिदेखि आफूले यौनहिंसा सहँदै आएको अनुभूतिले उसलाई बेस्सरी बिझायो।

मरिचीलाई किनकिन सधैंभन्दा बढी नै छटपटी लागिरहेको थियो। काइँलो भने मस्त सुतिसकेको थियो। मरिची काइँलाको अनुहारसँग बात गर्न थाली। ‘काइँला, सायद अब यो रात नै अन्तिम होला मेरो तिमीसँगको। म मरिची, नामले ठगिएकी यो समाजकी एउटी नारी, अब त मैले आफ्नो सक्कली नाम पनि बिर्सिसकें होला। जन्मघरमा पनि सधैं हेलाको पात्र भएँ म । कर्मघरमा पनि हेलाकै पात्र भएँ म र आज तिम्रो नजरमा पनि...।’ 

मरिचीको मन भक्कानिएर आयो। लामो सास फेरि र भन्न थाली, ‘बिहे गरेको यतिका वर्ष बितिसक्यो। तिमीले भनेपछि मैले अरू सबै दुख गर्न सकें तर एउटा दुःख चाहेर पनि गर्न सकिन, त्यो हो गर्भाधानको। मैले नचाहेको कहाँ हो र? मलाई नियतिले ठग्यो काइँला, म मेरो सक्कली नामजस्तो फुल्नै सकिन। अनि तिमी आफैँ भन न काइँला, फुल्दै नफुलेको बिरुवामा कसरी फल लाग्छ?’ मरिचीका आँखाका गहभरि आँसु देखिन्थे। ऊ बेलाबेला आँसु पुछ्थी। “बिहेअघि तिमीमा देखेको मेरो सपना आखिर सपनामै सीमित भयो। म आमा बन्न नसकेपछि तिमी ‘तिमी’ रहेनौ काइँला, तिमीमा एउटा राक्षस सवार भयो, जसले मलाई हरपल सताइरह्यो। समाजव्यवस्थाको दोष होला सायद, तिमीमा आफू पुरुष हुनुको अहम्ताले तिमीलाई नै खाँदै गयो।’

मरिची आफ्नो शरीर हेरेर आँसु झार्दै भन्न थाली, ‘काइँला, यहाँ हेर न मलाई। मेरो ज्यानै सानो छ। यो सानो ज्यान रातदिन यति धेरै काम गर्दागर्दै थाकिसकेकी छ। तिम्रो मन फिर्ला र साथ पाउँला भन्ने आश मरिसकेको छ, काइँला म हारेको छु अब आफ्नै जीवनदेखि...! काइँलोको कपाल दारी हातले मुसार्दै निकैबेरसम्म रोई। काइँलो मजाले निदाइरहेको थियो। त्यसपछि बत्ती निभाएर ऊ पनि सुती। 

बिहान उज्यालो भएको संकेत भालेले कुखुरी काँ... गरेर दियो। मरिची  ब्युँझिई। काइँलो भने निद्रामै घुरिरहेको थियो।  

‘काइँला....ओ काइँला,....,...’मरिचीले उसलाई घच्घच्याई।  

‘हँ....।’ ऊ निद्रामै बोल्यो। 

‘म घाँस काट्न जान लागेको, तिमी उठेर मिठो पारेर भात तरकारी पकाउँदै गर है।’

उसले ‘ल’ भन्दै मुन्टो हल्लायो। मरिची नाम्लोडोरी र हँसिया बोकेर घाँस काट्न एक्लै जंगलतिर लागि। बाटामा एउटा ठूलो पिपलको बोट थियो। त्यहीँनेर पानीपधेँरो पनि थियो। ऊ पिपलबोट पुग्दा तल्लाघरकी पूजा पानी लिन जाँदै रहिछ।  

‘कता हिँड्नु भो भाउजू?’

‘घाँस काट्न हिँडेको बहिनी।’ मरिचीले निन्याउरो भएर जवाफ फर्काइ। 

‘अनि एक्लै हिँड्नुभो त, खाला नि बाघले ।’ ऊ हाँसी।

‘अहिलेसम्म कालले त खान सकेन बहिनी के खान्थ्यो बाघले मजस्तीलाई... अघाओस् न ओरोस्।’ त्यति भनेर मरिची सरासर बाटो लागी।

मरिची जंगल पुग्दा उज्याले भैसकेको थियो। ऊ आफ्ना विगत सम्झिँदै घाँस काट्न थाली। बाक्लो थियो घाँस, भारी एकैछिनमा पुरयाई । सबै घाँस भेला पारेर  एक ठाउँमा थुप्रो लगाई। बसेर लामो सुस्केरा हाली। काइँलोलाई सम्झी। बा आमा, भाइबहिनी, साथीसँगी सबैलाई सम्झेर निकैबेर बसी। विगतका पलहरू सम्झेर एक्लै हाँसी, एक्लै रोई।

नजिकै एउटा सालको रूख थियो। एक मुठो सालका पात पो टिप्नुपरयो भनेर रूख चढी। फेरि के भयो कुन्नि पात नटिपी रूखबाट ओर्लिर्ई। कम्मरमा नाम्लो बाँधेर फेरि रूख चढी। सानासाना हाँगा बाँचेर तल झारी र त्यो नाम्लो त्यही सालको एक हाँगामा कसिलो गरी बाँधी अनि फेरि रूखबाट ओर्लिई।

पात बटुली मुठो बाँधेर घाँस थुपारेकै ठाउँमा लगेर राखी । त्यसपछि के सोची खोई, मरिची फेरि त्यही रूखमा चढी। मन बुझाउन एउटा काइँलो पाएकी थिई। उसले पनि पुरुष हुनुको अहम्ता देखाएर पछिल्लो समय गरेका हर्कतहरू सम्झेर निकैबेरसम्म घुँक्कघुँक्क रोई। काइँलाको मन फिर्छ कि भनेर उसले प्रयास पनि नगरेकी हैन तर उसले काइँलाको मन फिर्ने  देखिन। रूखमा बसेर जति सम्झे पनि उसले आफ्नो मन बुझाउने ठाउँ कतै पाइन। बिस्तारै नाम्लो बाँधेको हाँगामा गई र त्यसैमा पिङ खेलेर जीवनको भारी बिसाई ।  

प्रकाशित: २० असार २०७७ १६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App