१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

सोझो कर्मा, कर्ली कपाल

यज्ञश, काठमाडौं, साउन १– नेपालीमा एउटा उखान छ ‘वर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ । वर्माको नाम फेरिएर म्यानमार भएकाले हो वा अन्य कुनै कारणले यो उखान पनि आजभोली त्यती प्रयोग गरिएको पाइदैन । नेपालमा एकजना हिरो छन् जोसँग गजबको कपाल छ । हिरो भइसकेपछि उनको ‘कर्म’ पनि छ । ‘कर्मा’ त उनको नाममै छ ।
केही महिनाअघि यिनको यो कपालको थुम्कोको फोटो राजधानीका सबैजसो बिजुलीका खम्बा र पर्खालमा टाँसिएका देखिन्थे । तपाइँले ती पोष्टर देख्नुभएको छ वा ‘सानो संसार’ फिल्म हेर्नुभएको छ भने यिनलाई चिन्न गाह्रो पर्दैन ।
नाम हो यिनको महेश शाक्य । आलोक नेम्वाङले निर्देशन गरेको र सहरीया दर्शकले मन पराएको भनिएको फिल्म ‘सानो संसार’ मा यिनको नाम ‘कर्मा’मात्र थियो । ‘एथ्निक न्युट्रल हुनका लागि यो नाम राखेको’ नेपालीमा यसको अर्थ जातिय तटस्थता भन्ने लाग्छ ।
‘सानो संसार’ मा भुक्क उठेको उनको कर्ली कपाल नयाँ फिल्ममा पनि देखिनेछ । देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म ‘एक दिन एक रात’ मा उनी अनुप बराल, दिया मास्के, गौरी मल्ल, पुजा लामा, विनय श्रेष्ठका साथमा देखिने छन् । अहिले यो फिल्मको दामनमा सुटिङ भइरहेको छ । यो फिल्ममा उनको भूमिकामात्र होइन कपाल पनि फरक देखिनेछ ।
‘सानो संसार’ मा यिनको घुंघरिलो कपाल मिलाएर बाँधिएको थियो । तर ‘एक दिन एक रात’मा पूरै लट्टामा महेश देखिनेछन् । केहीअघि होटल बज्रमा देखाइएको नाटक ‘वेटिङ फर गोदो’ मा चाहिँ यिनको कपाल मसिनोसँग केस्रा पारेर बाटिएको थियो । यो नाटकमा उनी ठूलो जुत्ता, ह्याट र आस्कोटमा देखिएका थिए । करिब यस्तै गेटअप ‘पाइरेट्स अफ क्यारेबियन’ फिल्ममा हलिउड स्टार जोनी डिपको थियो ।
‘मेरो कपाल यस्तै हो,’ उनले सुनाए ‘धेरैले बनाएको भन्ठान्छन् ।’ स्कूल पढ्दादेखि नै कपाल घुर्मिन थालेको थियो । पाल्ने छुट चाहिँ प्लस टु पढ्न थालेपछि बल्ल पाइयो । लामो हुँदै गएपछि कपालमा ‘डेडलक’ आउन थाल्यो । ‘सँधै आमालाई छुट्याउन लगाउँथे,’ पछि त्यही कपाल स्टाइल बन्यो । कपालको स्टाइल उनको जस्तो बनाउन केही साथीले दश हजारसम्म खर्च गरेको उनले थाहा पाएका छन् ।
दुई वर्ष गुरुकुलमा अभिनय सिकेपछि फिल्मतिर लागेका महेशले यस्तो कपाल पालेको चार वर्ष जति भयो । त्यसयता बाटो हिँड्दा कसैको अलि फरक कपाल देखे भने उनको ध्यान तानिन्छ । कपालले व्यक्तित्वमा कत्तिको फरक पार्छ उनी भन्छन्- ‘लुकमा फरक पार्छ पूरै पर्सनालिटी कपाल हेरेर भन्न सकिँदैन ।’
‘म कलाकार भएकाले मन लागेजस्तो कपाल पाल्न पाउछु, डाक्टर वा बैंकको कर्मचारी भएको भए यो स्वतन्त्रता हुने थिएन,’ यो भयो फाइदाको कुरा । कपालका केही वेफाइदा पनि छन् । जस्तो ‘मान्छेले आवारा भन्दिन पनि सक्छन् ।’ ‘पार्टीमा जाँदा सुरुमा मान्छेले अलि अर्कै नजरले हेर्छन्,’ यो अर्को वेफाइदा । ‘कर्मा’ कपाल पाल्नुलाई स्टाइल कम शोख ज्यादा मान्छन् । भन्छन् ‘कपाल पाल्नु, मुद्रा लगाउनु, फाटेको पाइन्ट लगाउनु मान्छेको शोख हो ।’ तर समाजले मान्दैन । लामो कपाल पालेकालाई थोरैले मात्र सभ्य र भद्र मान्छन् । धेरैले चाहिँ झगडालु र डरलाग्दो भन्ने सोच्छन् । छवि बिग्रिने डरले महेशलाई पनि पछ्याइरहन्छ । यसैले कपाल बाँधेरै हिड्छन् ‘छोड्दा इम्प्रेसन बिगि्रन्छ ।’
‘डेडलकको चलन अफ्रिकाबाट आएजस्तो लाग्छ,’ उनको विश्लेषण छ । गिटारिस्ट जिमी ह्यान्ड्रिक्स र गायक बब मार्लीको कपालले उनलाई कपाल पाल्न उक्साए । आजकल उनलाई जोनी डिपको गेटअप मनपर्छ । हाम्रै सुपरस्टार राजेश हमालको कपाल त ‘अलटाइम फेभरेट’ भइहाल्यो । बीचमा कपाल ‘स्ट्रेट’ गरेका राजेशको फोटो पनि उनले देखेको थिए । ‘यो लुक त झन् मनपर्यो,’ उनले भने ।
पार्टीमा मात्र होइन सडकका ‘पुलिस दाइ’ ले पनि कहिलेकाहिँ अर्कै नजरले हेरिदिन्छन् । अनि पर्छ समस्या । ‘कर्मा’ लाई पनि कपालले एक दिन यस्तै पार् यो । यो कथा सुनौं उनकै मुखबाट । ‘डेढ महिनाजति अघि आमालाई हस्पिटल लिएर जाँदै थिए । गाडी मैले चलाइरहेको थिएँ । जमलमा पुगेपछि गाडी घुमाउनु पर्ने भयो अगाडि ‘कप्स्’ थियो । मैले घुमाइन पाइन्छ कि पाइदैन भनेर सोधें, उसले पाउँछ भन्यो । तर घुमाउन लाग्दा अर्को ‘कप्स्’ आयो र मलाई सिधै ‘तँ यता आइज’ भन्यो । उसले ‘तँ’ भनेको सुनेपछि मलाई रिस उठ्यो । भनाभन भयो मैले बोली सुधार भनेर गाली गरें उसले मेरो लाइसन्स लग्यो ।’ अहिले आएर सोच्दा उनलाई लाग्छ ‘मेरो कपाल देखेरै पुलिसले हेपेर ‘तँ’ भनेको होला ।’
यो कपालले गर्दा भोग्नु परेको हेपाइ थियो । यस्तै एउटा सुखद् स्मरण पनि कपालसँग जोडिएको छ । ‘सानो संसार’ चलेपछि यी फिल्मका ‘थापाजी’ले कपालले गर्दा फिल्म हिट भएको प्रतिक्रिया पाए । ‘यस्तो कमेन्ट सुन्दा रमाइलो लाग्थ्यो’ अर्को फिल्मका लागि पनि यस्तै कमेन्ट सुन्न उनी लालायित छन् ।
लामो कपाल पाल्नु भनेको दिनको केही अंश समय टाउकोलाई छुट्याउनु पनि हो । त्यसमाथि आपसमा जेलिएर लट्टा भएका कपाल त नुहाउनै पनि समस्या होला । फेरि एउटा हिरोले जोगीको जस्तो कपाल त्यत्तिकै छाडेर पनि भएन । तर महेशलाई यस्तो समस्या छैन ‘नुहाउन कुनै समस्या पर्दैन खास त्यस्तो स्याहार गर्नु पनि पर्दैन ।’ कपालले हुने समस्या एउटै छ ‘गर्मी धेरै हुन्छ ।’
खोजी पस्यो भने नेपाली हिरो र नेताका कपालमा विपरित विशेषता भेटिन्छन् । जति हिरोले लामो कपाल पालेको छन् त्योभन्दा धेरै नेताको कपाल उजाड छ । सबैभन्दा धेरैपटक प्रधानमन्त्रीको सपथ खाएका गिरिजाप्रसाद कोइरालाको कपाल विहिन टाउको घरिघरि विरोधीको निशानामा पर्ने गरेको छ ।
एकारित प्रायः टोपी लगाउने कोइराला छन् भने अर्कातिर सिनित्त पारेर कपाल कोर्ने माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल पनि छन् । कमै टोपी लगाउने प्रचण्डको राजीनामापछि प्रधानमन्त्री भएका माधव नेपाल चाहिँ बिना टोपी सार्वजनिक कार्यक्रममा देखिदैनन् ।
‘नेताले धेरै टोपी लगाउँछन् । कसको कपाल छ कसको छैन थाहै हुँदैन,’ नेताको कुरा सुरु गर्दा हिरो अल्मलिए । तर धेरैबेर होइन । एकछिनमा भने ‘प्रचण्ड र झलनाथ खनालको चाहिँ लामो कपाल छ दुवै जना चिटिक्क परेर हिँड्छन् ।’
नेताको कपाल किन खुइलिएको होला ‘खोइ धेरै सोच्यो भने तालु खुइलिन्छ भन्छन् । टोपी धेरै लगाएर पनि हो कि !’ उनले अनुमान गरे । नेता वा अरु कसैका कपाल बिनाको टाउको देख्दा यी हिरोलाई कहिल्यै कपाल झर्ने डर लागेको छ कि छैन ‘आजभोली डर लाग्न थालेको छ । बेलैमा उपचार गरेन भने मेरोजस्तो कपाल झर्न थाल्छ भन्ने सुनेको छु’ उनी अब कपालको उपचार गराउने सुरमा छन् ।
व्यक्तित्वको प्रभावदेखि स्याहारसम्ममा कपालका समस्या भए पनि महेशमात्र होइन नेपाली फिल्मका प्रायः सबै हिरो लामो कपालमा देखिन्छन् । प्रहरीको डिएसपीको भूमिका होस् या आर्मीको मेजरको हाम्रा हिरोहरु कपाल काट्दैनन् । मानौं हिरोले कपाल होइन कपालले हिरो पालेको छ !
महेश भने कपाल काट्न परे पछि हट्नेवाला छैनन् । ‘भिक्षुको भूमिका आयो भने कपाल काट्छु’ उनले भने । र, चार वर्षजति अघि गुरुकुलको नाटक ‘अग्नीको कथा’ मा अभिनय गर्न कपाल पूरै खौरिएको इतिहास सम्झाए, ‘त्यसमा मेरो भिक्षुको रोल थियो ।’ भूमिकाअनुसार गेटअप बनाउन अरु हिरोले पनि सिक्दा नेपाली फिल्मको केही हानी होला ?

प्रकाशित: १ श्रावण २०६६ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App