१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पातपतिङरबाटै आकर्षक चित्र !

उदाहरणीय महिला

कलाकार मिलन शेरचन

स्वभावैले कवि, लेखक र कलाकार भावुक प्रकृतिका हुन्छन्। देश दुख्दा आम नागरिकको मन पनि दुख्छ। यस्तो बेलामा स्रष्टाहरू भने सृजनामार्फत छटपटी पोख्छन्। त्यस्तै भावना घोलिएको ‘लिपुलेक’ शीर्षक चित्रबाट कलाकार मिलन शेरचन स्याबासी कमाउँदैछिन्।  

हाम्रो लिपुलेकमा भारतले बलमिच्याइँ ग-यो। त्यसैले ‘लिपुलेक हाम्रो हो’ भन्ने सन्देश बाँड्न उनले चित्र बनाइन्। त्यसले राष्ट्रिय ललितकला पुरस्कार जितेको छ। पुरस्कारको राशि ६० हजार रुपैयाँ छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वैशाख २ देखि गर्ने भनेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ लकडाउनका कारण स्थगित भयो। यद्यपि उसले पुरस्कृत हुनेहरूको नाम घोषणा गरिसक्यो।  

लिपुलेक’ शीर्षक चित्र

सुकेका झारपातलाई क्यानभासमा टाँसेर चित्र बनाउने जापानी शैली ‘हानानो ओशिवाना’ नेपालमा भित्र्याउने कलाकार हुन्–मिलन शेरचन। उनको ‘लिपुलेक’ शीर्षक चित्रकलाले भर्खरै ‘राष्ट्रिय ललितकला पुरस्कार’ जितेको छ।  

पुरस्कारको खबरले उनमा खुसी बढाएको छ। मनमा ऊर्जा थपेको छ। ‘राष्ट्रिय पुरस्कार पाउँदा खुसी त लागिहाल्छ नि’, उनले भनिन्, ‘मेरो कामको मूल्यांकन भएको अनुभव गरेकी छ।’  

अरू कलाकारको भन्दा उनको कलाकर्म फरक शैलीको छ। उनी सुकेका पातपतिंगर, फूल र झ्याउबाट क्यानभासमा चित्र बनाउँछिन्। लिपुलेक पनि पुराना पर्खालमा उम्रिने झ्याउ र रंगबाट बनाएकी।  

यस्तो जापानी शैलीलाई ‘हानानो ओशिवाना’ भनिन्छ। फूललाई जापानी भाषामा ‘हाना’ भनिन्छ। त्यस्तै ‘ओशिवाना’ भनेको च्यापेर सुकाउने विधि। आलो पातपतिंगर र फूललाई दुई हप्तासम्म गलैंचामा राखेर च्यापिन्छ। झ्याउलाई भने च्याप्नु पर्दैन बरु घाममा सुकाउनुपर्छ।

तिनै पात र झ्याउलाई क्यानभासमा टाँसेर विभिन्न रूप दिइन्छ। उनी कुनैकुनै चित्रमा फेब्रिक कलर पनि प्रयोग गर्छिन्। कुनै भने विनाकेमिकल कलर नै बनाउँछिन्।  

‘म फूलभन्दा बढी पातपतिंगर प्रयोग गर्छु’, शेरचन भन्छिन्, ‘खरायो र गाइभैंसीले खाने घाँस र करेसाबारीका फूल खासै काम लाग्दैनन् ।’  

रंगविरंगका पात खोज्न उनी सिमसार क्षेत्र, गाउँघर र वनजंगलमा डुुल्छिन्। ‘लिपुलेक’ बनाउन प्रयोग भएको झ्याउ याम्दी, नदिपुर र फूलबारीका पुराना पर्खालबाट बटुलेकी थिइन्। घाँस तथा झ्याउमा कीरा हुन्छ। त्यसैले जिम्बु केलाएझैं केलाएर सुकाउने गर्नुपर्छ।  

उनी भुदृश्य, संस्कृति, जीवनशैली र मुहारचित्र बनाउँछिन्। उनको पोखरा र काठमाडौंमा ६ पटक एकल प्रदर्शनी भैसकेको छ। त्यस्तै दर्जनौं सामूहिक प्रदर्शनीमा आफ्नो कला देखाइसकिन्।  

नेपालमा ‘हानानो ओशिवाना’ कला उनैले भित्र्याएकी। सजिलो छैन यस्ता कलाकृति बनाउन। झलक्क हेर्दा झारपात सजिलै पाइन्छ जस्तो लाग्छ तर यसको खोजीमा कुनाकाप्चासम्म पुग्नुपर्छ। धेरै दुःख गर्नुपर्छ । कहिले जुकाले टोक्छ, कहिले खोला तर्नुपर्छ भने कहिले रूखमा चढ्नुपर्छ । कहिले जीउमा कुरो टाँसिन्छ त कहिले टन्टलापुर घाममा असिनपसिन भइन्छ।  

‘मैले जस्तो अरूले पनि यो कला सिकून् भन्ने चाहना छ’, निरन्तर कलाकर्ममा समर्पित रहने अठोट गरेकी कलाकार शेरचन भन्छिन्, ‘हानानो ओशिवाना सम्बन्धी जानकारी दिन भविष्यमा सचित्र पुस्तक पनि निकाल्ने योजना छ।’ त्यसका लागि उनको अनुसन्धान जारी छ।  

पोखराको कलापूर्ण वातावरणमा जन्मेहुर्केकी शेरचन सानैदेखि कलाकर्ममा सक्रिय हुन्थिन्। मकैको खोस्टाबाट पुतली बनाएर उनले विसँ २०४२ सालमै पुरस्कार जितेकी थिइन्।

सिन्का, फेबिकोल, सुन बनाउने चिम्टा, क्यानभास, कैंची, झारपात र फ्रेब्रिक कलर खेलाएर कलाकारहरू मुडअनुसार चित्र बनाउँछन्। यसमा धेरै मेहेनत गर्नुपर्छ।  

उनले धेरैजनालाई सिकाइसकेकी छन्। जीवनको एउटा कालखण्डमा उनले आर्ट ग्यालरी पनि चलाइन्। २०६१ सालमा पोखराको थकाली सेवा समितिमा ग्यालरी खोलेर विद्यार्थी र गृहिणीलाई सिकाइन्। उनका अधिकांश चेला उच्च शिक्षा अध्ययन गर्न विदेश उडेका छन्।  

आजका मान्छेमा धैर्यको कमी छ। उनीहरू हरेक क्षेत्रमा ‘फास्टफुड’ खोज्छन्। त्यसैले यसमा समर्पित हुनेको संख्या न्यून छ। शेरचनको लगाव र प्रतिभाको सम्मान गर्नैपर्छ । उनी २०५१ सालदेखि निरन्तर कलाको नशामा चुर्लुम्म डुबेकी छिन्।  

तिनताका उनी जापानमा थिइन्। त्यहीँ गुरुआमा नोहारा उमीबाट हानानो ओशिवाना कला सिकिन्। नोहारालाई चिनाइदिएर जापानी दिदी साइतो सानले लगाएको गुन कहिल्यै बिर्सन्नन् उनी।  

पाँच वर्ष जापान बस्दा उनले दुई चीज कमाएकी थिइन्–केही पैसा र अमूल्य कला। त्यो पैसाले जीवन चलाउन सजिलो भयो भने कलाले परिचय बनाउन।  

उनी पोखराकी उदाहरणीय महिला हुन्। कलाकर्मसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन्। दुःखीको सेवा र महिला सशक्तीकरणका काममा उनले योगदान पु¥याउँदै आएकी छिन्।  

कलाबाट दाम होइन, नाउँ कमाएकी छिन्। ‘म पैसाको पछि कहिल्यै दौडिन्नँ’, उनी भन्छिन्, ‘कलामै आत्मसंतुष्टि मिलेको छ।’  

आफ्नै साधनाले उनलाई कुशल कलाकार बनायो । नेपाल फर्केको केही वर्षपछि २०५८ सालमा उनले पहिलो एकल कला प्रदर्शनी गरिन्। त्यसले राष्ट्रियस्तरमै ‘हानानो ओशिवाना’लाई चिनाउने काम ग-यो। त्यो बेला राष्ट्रियस्तरका पत्रपत्रिकामा उनको व्यक्तिचित्र छापिएको थियो।  

उनले बेलाबेलामा पुरस्कार जित्दै आएकी छिन्। विसं २०४२ मा मकैको खोस्टाबाट बनाएको पुतली हस्तकला प्रदर्शनीमा उत्कृष्ट भएको थियो। त्यसयता पनि उनले विभिन्न पुरस्कार पाएकी छिन्। तीनका प्रमाणपत्र घरमा सजाइएको छ।  

जापानबाट फर्केपछि उनको प्रतिभाले निखारिने मौका पायो। उनले बरिष्ठ कलाकार बुद्धि गुरुङसँग आधुनिक चित्रकला बनाउन सिकिन्। ‘क्यानभासमा वाटर कलर र एक्रेलिक कलर खेलाउन बुद्धि दाइसँग सिकें’, उनी सम्झिन्छिन्, ‘त्यसले मेरो कलालाई परिमार्जन गर्न सहयोग पु-यायो।’ 

उनी पोखराकी क्रियाशील कलाकार हुन्। सृजनशील कलाकार समूह र पोखरेली युवा सांस्कृतिक परिवारमार्फत तत्स्थानीय कला कार्यशालाको अगुवाइ गर्दै आएकी छिन्। यसरी धेरैको प्रेरणाश्रोत बनेकी छिन्।  

उनको दिनचर्या व्यस्त छ । त्यसैले रातमा चित्र बनाउँछिन्। परिवार मस्त निद्रामा हुँदा उनी सुकेका पातपतिंगर, गम, रंग र क्यानभाससँग खेल्दै हुन्छिन्। कहिले कल्पनाको सागरमा डुबुल्की मार्छिन् त कहिले रियालिस्टिक चित्र बनाउँछिन्। आफूले बनाएका चित्र हेरेर मुसुक्क मुस्कुराउँछिन। अनि सन्तोकले निदाउँछिन्।  

‘मैले जस्तो अरूले पनि यो कला सिकून् भन्ने चाहना छ’, निरन्तर कलाकर्ममा समर्पित रहने अठोट गरेकी कलाकार शेरचन भन्छिन्, ‘हानानो ओशिवाना सम्बन्धी जानकारी दिन भविष्यमा सचित्र पुस्तक पनि निकाल्ने योजना छ।’ त्यसका लागि उनको अनुसन्धान जारी छ।  

कलाकार मिलन शेरचनको जीवनको अर्को पाटो हो–समाजसेवी। उनले गरीब, दुःखी, बाढीपहिरो, भुइँचालो र कोरोना पीडितलाई सहयोग पु¥याउँदै आएकी छिन्। चित्रकला प्रदर्शनीबाट बचेको रकम पनि सामाजिक हितमै लगाउँछिन्। अहिले लकडाउनबाट पीडित ४० मजदूरलाई उनले राहत बाँडिसकिन्। आउँदो साता थप ५० जनालाई बाँड्दैछिन्।  

उनको होस्टेमा अमेरिका निवासी दुर्गा भट्टचन र राखी गौचन एवं काठमाडौंकी दिदी किरण शेरचन लगायतले हैंसे गर्दै आएका छन्।    

कलापूर्ण वातावरणमा जन्मेहुर्केकी मिलनका हजुरबुवा भीमबहादुर भट्टचन मोहारियाटोलस्थित धनशमशेर जवराको दरबारमा कलाकार थिए। त्यहाँ उनी सितार र तबला बजाउँथे। उनी चित्र पनि बनाउँथे। उनका पिता झपटबहादुर पनि चित्रकार हुन्। हस्तकलामा पनि निपुण थिए। दुवै समाजसेवी थिए। त्यसकै प्रभाव प-यो उनमा!  

कलाकार शेरचन ५५ वर्षअघि पोखराको नेवार बस्ती नालामुख, गणेशटोलमा जन्मेकी थिइन्। तिनताका त्यहाँ थकालीको एउटा मात्र घर थियो। अचेल पोखराको माछापुच्छ्रेमार्गमा परिवारसँग बस्छिन्। जीवनसाथी सत्यनारायण शेरचन, छोरी समृद्धि र छोरा समिपसहितको सुखी परिवार छ। कलाकर्ममा परिवारको बलियोसाथ मिलेको छ।  

दया, माया र करुणाले भरिएकी कलाकार मिलन शेरचन उदाहरणीय महिला हुन्। उनलाई धेरैधेरै शुभकामना!  

कलाकार मिलन शेरचन

प्रकाशित: ७ असार २०७७ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App