३ असार २०८१ सोमबार
image/svg+xml
कला

सम्झनाका पलहरु....!

कथा

पुष्प आर जे

शिशिर ऋतु अन्त भई, 

बसन्त ऋतु आउँछरे!

मिलन भई विछोड हुँदा,

अवश्य याद आउँछरे!!

शिशिर ऋतुले बिदा मागि बसन्त ऋतु आगमन संगै हावाहुरीले पुराना पालुवा झार्दै गर्दा कतिखेर वसन्त ऋतु मध्य भइसकेको हुन्छ। अनि सुरुहुन्छ प्रचण्ड गर्मी लामा पट्यार लाग्दा दिनहरु। यहीं ऋतु संगै पलाउन थाल्छन् नव यौवनरुपी पालुवाहरु। छहारी खोज्दै चराचुरुङ्गी गुड बनाउन थाल्छन् चुच्चाले झारपात लागि। यहीं ऋतु हो जहाँ विधवा झै उजाड भएकी प्रकृति ऋतुको अन्तमा फेरि सिन्दुर हाली सजिएकी नव दुलही झै हरियाली हुन्छिन्। अनि सुरु हुन्छ नयाँ बर्ष।

नयाँ बर्षको शुभकामनाका साथै शुभकामनाले भरिएको ग्रेटिङ्ग काड र पोष्ट कार्डहरुको आदानप्रदान। रिसाएका लाई फकाउने अनि आफुले माया गरेकालाई प्रेमिल शब्दले सायरी लेखी पठाउँने समय अर्थात बैशाख महिना। यहीं महिनादेखि स्कुलमा नयाँ कक्षा सञ्चालन सुरु हुने गर्छ। कोही पास भएर नयाँ कक्षामा हाँस्दै त कोही फेल भएर अँध्यारो अनुहार बनाउँदै पुन: त्यहीं कक्षामा।

झापाकै पुरानो बजार गौरीगञ्ज। यहीं बजारको छेउमा अवस्थित छ श्री गौरीगञ्ज माध्यमिक विद्यालय जुन २००८ मा स्थापित। झापा जिल्लाकै पुरानो स्कुल मध्येको एक स्कुल। गौरीगञ्ज मा. बि. बुधबारको दिन त्यसै पनि हाफ छुट्टी हुने दिन। नजिकै बुधबारे बजारको एउटा अग्लो बाँस माथि बज्ने मायक, मच्छर मार्ने कि दवा,...चुहा मार्ने कि दवा..। 

दोस्रो घण्टी बाटै सिनेमा हलमा बज्ने हिन्दी गीत र मान्छेहरुको चहलपहल आभासको कक्षाकोठामा प्रस्ट सुनिन्छ। बाटोतिरको झ्याल खोली हेर्दा मान्छेहरुको चहलपहल प्रस्ट देखिन्छ। आभासको ध्यान कक्षाको पाठमा भन्दा पनि सिनेमा हलमा बज्ने गितमा हुन्छ। नौ कक्षा को पढाइ भर्खर भर्खर मात्र सुरु भएको । नयाँ बिद्यार्थीहरु फाट्टफुट्ट मात्र हुने कक्षा कोठामा पुरानैको हानिमुहाली हुन्छ। शिक्षक नहुँदा बरन्डामा निस्की हो-हल्ला गरेर छेउका अन्य कक्षाकोठामा असर गर्ने बानी कहिले गएन।

पुष्प आर जे

" ओइ.. राजेश आज त नयाँ सिनेमा लागेको छ ? हेर त कति राम्रो गीत बजेको जाम हेर्न?" आभासले भन्यो।

" आज हैन भोलि जाम न! बरु साथीहरू संग पनि सल्लाह गरौं। किताब राखिदिने पनि त चाहियो।"

सहमति अनुसार स्कुल बिदापछि आभास र उसका साथीहरू बजार तिर लाग्छन्। पहिले सिनेमाको पोष्टर हेर्ने सिनेमा घर जाने अनि बुधबारे बजारमा घुम्ने सहमति सहित। सिनेमा भने भोलिपल्टको लागि थाति राखे।

मध्यबजार किनमेल गर्नेको भिड। आभास र उसकाहरु साथीहरु भिडमा मिसिन्छन् हातमा किताब बोकेर। बजार लाई एक फन्को मारी

"पहिले बरफ खाउँ कस्तो गर्मि भएको छ?"

सुशीलले प्रस्ताव राख्यो। सबै मिली बरफ खान थाले यताउता हेर्दै।

आभासको ध्यान अगि देखि पर मिठाइँ पसलमा मिठाइँ किन्दै गरेकि केटीमा जान्छ। हल्का काली निलो कुर्था सुरुवालमा रातो टीका लाएकी। पसिना आउँदा सलले बेला बेला अनुहार पुछेको एकटक ले हेर्न थाल्छ।

" ओई आभास के हेरेको ?"

"प.....परी।"

"परी के परी देखिस दिउँसै?" 

हा...हा...हा सबै हाँस्न थाल्छन्।

"परी हैन के पर हेरेको।" आभास कुरा बनाउँछ।

" जाउँ साथीहरू पर सम्म घुम्न फेरि। "

सबै जना फेरि हिड्न थाल्छन् आभासले भने तिर। आभास अगि देखेको केटीलाई पिछा गर्छ साथीहरूले थाहा नपाउने गरि। कहिले सब्जी लाईनतिर बाट त घरि मनिहारी पसल तिर बाट। उनी जता जान्छिन् त्यसको अर्को तिर बाट।

" ला....आ......बाबा अब मार्नु हुन्छ?"

पुष्प आतिदै काराउँछ। सबै जना कपडा पसल तिर लुक्छन्। केही बेर पछि

"आभास यार जाउँ अब थाकियो। घरमा ढिलो हुन्छ। मार्छन् यार। आभास यता उता हेर्छ तर उसको परीलाई देख्दैन। अनि निराश भई घरतिर लाग्छ।

सदा झैं आभास स्कुलको लागि निस्कन्छ। बाटो पुष्प, राजेश रोसन र अन्य मिसिन्छन्। स्कुल समयमा बाटोमा प्राय विद्यार्थी मात्र देखिन्छन्। कोही कोही त साईकलमा आउँने नयाँ देख्ना साथ बाटो नै छोड्दैन् जति घण्टी बजाए पनि।

" ए आभास आज त सिनेमा हेर्न जाने भनेको हैन,कति धेरै किताब बोकेको। दुई घण्टी पछि हामी पढ्ने हैन होला?" 

" म चैं हाप्टेनमा आउँछु है टिकट राख नि। भरे संगै जानुपर्छ सिनेमा हेरेर हाहाहा.....!"

पुष्प कराउँछ सबै हाँस्छन्।

" हेर न आजभोलि त आभास कतै हिड्दैन,किताबमा मात्र ध्यान छ। कक्षाकोठा बाट बाहिर पनि जादैन। कतिखेर आउँछ कति खेर जान्छ थाहै हुदैन हामीलाई।"

" ए...आभास त त्यहीँ आभास होस्, जो हामी सबै थियो।"

सबै साथीहरू कराउँछन्। साच्चै आभास फेरिएको थियो। साथीहरूको नजरमा। तर उ आफ्नै नजरमा चैं फेरिएको जस्तो मान्दैन थियो ।

"हेर न यस्तो चाला रहेछ र पो हामी देखि टाढा भएको रहेछ यो आभास।"

एकदिन गौरीगंज चौकबाट आभास र रुसिका हाँस्दै चटपटे खादै स्कुलको मुख्य गेटमा पस्न लाग्दा भेट हुन्छ साथीहरू संग।

"ए अस्ति नै बजार जाँदा हामीलाई किन घुमाएको त्यसरी भनेको उ नै पो। परी त भन्दैथिस् तर उहीं भन्ने थाहा थिएन। तलाई हामी त्यहीं बजार देखि फरक देख्दै थियौं तर कारण यहीं हो थाहा थिएन यार।"

" ल... ल...आभास आजदेखि तलाई हामी बोलाउँदैनौ। त रुसिका संगै खुशी हुनु।"

" शुभकामना छ ए प्लस आर लाई तिमीहरूको प्रेम सफल होस्।"

" आज यो केटीको लागि हाम्रो साथ छोड्दैछस्। कुनै दिन पछुताउछस् त।"

"ओई आभास स्कुलको भित्ता, सिढीं अनि सरस्वतीको मन्दिरमा त ए प्लस आर लेखेको छ त। कतै तिम्रो र रुसिका को नाम त हैन ? स्कुलभरि तिमीहरूको प्रेमको चर्चा छ। म बिचमा पर्दिन, मैले त तिमीहरूको परिचय मात्र गराएको। तर प्रेम यहाँ सम्म पुगेको रहेछ हैं ।"

रोहन छेउमा गई आभास लाई भन्यो। हुन पनि उसका पुराना नजिकैका साथीहरू टाडिएपछि रोहन नजिकैको साथी भएको थियो। ६ कक्षा देखि संगै पढेता पनि रोहनलाई कसैले वास्ता गरेका थिएनन्। कारण रोहन कालो वर्णको अनि आदिवासी समुदायको थियो। 

आभासले त रुसिकाको नजिकै हुने बाटो खोज्दै जाँदा रोहनको नजिक भएको थियो। कारण रुसिकाको घर नजिकै रोहनको घर थियो। साथीहरूको यो हर्कतले आभास झन् टाढा भएको थियो। पक्कै यो सब उसैका साथीहरूको हो भन्ने लागेको थियो आभासलाई।

सधैं परीक्षामा राम्रो अङ्क ल्याएर पास हुने आभास कक्षा ९ बाट दशमा जाँदा बिषय लागेको थियो। यता रुसिकाको पढाइ भने मध्यम थियो।

" हेर त साथीहरू आभासले त बिषय लाएर पास गरेछ। खुच्चिङ्ग खुब रुसिकाको पछि कुद्थ्यो बल्ल थाहा पायो। राजेशले भन्यो

"खुब रुसिकालाई माया गर्थ्यो, यस्तै हो भने एसइइमा फेल हुन बेर लाग्दैन।"

" हेर.....साथीहरू हो अरु केही नभएनि आभास र रुसिकको बिहेमा नबोलाए पनि गएर मज्जाले नाच्ने हो म त हाहाहा...।"

सबै जना हाँस्न थाल्छन्।

महामारीको रुपमा कोरोना भाईरसबाट विश्व आक्रान्त थियो। देशमा पूर्ण रुपमा लकडाउन लागू भईसकेको थियो। घर बाट बाहिर निस्कन पुर्ण बन्देज थियो। यसैलाई सदुपयोग गर्दै साथीहरूले फेसबुकमा स्कुल पढ्दाका फोटो पोष्ट गर्दै साथीहरूलाई ट्याग गर्ने,सेयर गर्ने अनि कमेन्ट गर्न थाले। कसैले फोटोमा आफू नभएको त कसैले स्कुल पढ्दाका ती दिनहरु सम्झेर कमेन्ट गर्न थाले। हुन पनि स्कुल छाडेको बर्षौ भएको थियो। कोही बच्चाका आमा बा भैसकेका थिए। कोही हाकिम देखे पिहुन सम्म त कोही माथिल्लो तहका अधिकृत अनि कोही स्थानीय व्यापारी।

फोटो पोस्टको मुन्तिर कसै न कसैले केही न केही लेखेकै हुन्थ्यो।

" रुसिका खै त? ऊ आजभोलि कता छिन् नि? साच्चैं स्कुल छाडेपछि कसैको ऊसँग सम्पर्क भएको छ कि छैन ?"

सबैले उ संग भेटघाट नभएको भन्छन्। झन् स्कुल छाडेपछि भेटघाट नभएको लेख्छन्। ऊनी संग स्कुलमा हुँदा बिताएका पलहरु लेख्छन्।

लकडाउन भएको धेरै समय भइसकेको थियो। क्रमशः लकडाउनको समय थप भइरहेको थियो।

"आभासले धेरै माया गरेको थियो रूसिकालाई। पक्कै उनीहरु बिहे गरी कतै बसेका छन् कि?"

राजेशले कमेन्टमा लेख्यो। राजेशको मुनि आभासले आफू रुसिका संग विवाह नगरेको तर जागिरे भएपछि आफू संगै काम गर्ने स्टाफ संग मागि विवाह गरेको भनी स-परिवार को फोटो पोष्ट गर्यौ।

साच्चै रुसिका कता छिन् त? सबैको चासो रुसिका माथि गयो।

धेरै दिन पछि कुनै नयाँ आईडिबाट पुरानो फोटहरु राखिएको फेसबुकको लिङ्क कमेन्टमा देखा पर्यो।

आभासले चिनेझैं गरि मुन्तिर लेख्यो-

" यी फोटाहरु त रुसिकाको हो। हेरत हामी सबै रहेछौं। तर यी फोटाहरु कसले पोष्ट गर्यो? प्रोफाई फोटो त बच्चाको छ?"

केही दिन पछि कमेन्ट तलतिर लेखिएको थियो,

" हेल्लो साथीहरू म रुसिका अहिले म गाउँमा छु। सबैले भुलेको होला मलाई तर मैले भुलेको छैन। हुनत म गौरिगञ्ज मा.बि २ बर्ष मात्र पढें तर तिमीहरुको याद सधैं छ र भैरहन्छ। म मेरो श्रीमान् र नानीहरूको फोटो।"

फोटोमा रुसिका संगै थियो रोहन। तर रुसिका हुईलचेयरमा थिईन्।

"अरे रोहन र रुसिका......,अनि रुसिका ह्वलचेयरमा कसरी नि ?"

फोटोको मुनि साथीहरूको यस्तै प्रश्न थियो। तल आभासले लेख्यो-

" अरे रुसिका तिमी कसरी यस्तो भयौं? के भयो तिमी लाई? अहिले कस्तो छ?"

"आभास यति धेरै प्रश्न नगर न ल! लामो कहानी छ यति बुझ म मृत्यु बाट फर्केकी हुँ। दुर्घटनामा परेर मेरो दुबै खुट्टा चल्दैन्। आभास तिमी रोहन अनि मेरो घर आएको सबै थाहा छ। मैले नै रोहन लाई र घर परिवारलाई मेरो बारेमा नभन्न बाचा गराएकी थिएँ। माया त मैले मनबाट गरेकी थिएँ तर पनि मेरो शारीरिक अवस्थालाई स्वीकार्दैनौ भनेर हामी सबले यथार्थ कुरा लुकाएका हौ। त्यो दिन तिमी गएपछि धेरै रोएँ। 

क्रमशः म कसरी रोहन को माया मा हराए थाहै भएन। उसले नै मलाई नयाँ जीवन दियो। मेरो लागि घर परिवारसंग विद्रोह गर्यो। अहिले म जे छु यसमा रोहन को हात छ। म अहिले जुरोपानी भन्दा थोरै भित्र रोहन पनि संगै छ। कुनै दिन सम्झेर बाटो भुल्यौ भने जुरोपानी चौकमा आएर रुसि मिसको घर भन्नु सबैले देखाई दिने छन्। बिदा साथीहरू बाहिर केटाकेटीहरु मलाई पर्खिरहेका छन् लकडाउनमा कथा सुन्न। म गएँ सबैलाई सम्झना छ।"

प्रकाशित: २७ जेष्ठ २०७७ १६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App