लकडाउनमा धेरैजसो नेपाली परिवारसँग घरमै बसेका छन् । कतिपय सीमाबाट मुलुकभित्र आउने संघर्षमा छन् । कतिपय गाउँको परिवार सम्झँदै शहरमा गुम्सिन बाध्य छन् । त्यस्तै काठमाडौंको एउटा कोठामा लकडाउन भोगिरहेका कलाकार हुन्–बुद्धि गुरुङ ।
लकडाउनका कारण काठमाडौंको सुन्धारामै अड्किएका पोखरेली कलाकार बुद्धि गुरुङले यस अवधिमा दुई दर्जनभन्दा बढी चित्र बनाउन भ्याइसकेका छन् ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद सदस्य गुरुङ प्रतिष्ठानको परम्परागत शिल्पकला विभाग प्रमुख हुन् । उनी प्राज्ञमा नियुक्त भएदेखि नै २०७५ साल पुसदेखि काठमाडौंको सुन्धारामा बस्दै आएका हुन् । लकडाउनमा पनि गुरुङ उनै मनकारी साथी युक्त शेरचनको ‘न्यू अमर लज’मा बसिरहेका छन् ।
‘बाहिर चरामुसो केहीको आवाज सुनिँदैन’, शुक्रबार मध्यान्ह गुरुङले टेलिफोनमा सुनाए, ‘साथीको परिवार पनि लजमै बस्ने भएकाले उहाँहरूकै भान्छामा खाएर बसिरहेको छु ।’
उनको परिवार पोखराको रानीपौवामा बस्छ । उताबाट ‘मिलाएर घरमा आउनु’ भन्ने आग्रह आइरहन्छ । यसरी परिवारले आग्रह गरेको दुई महिना बितिसक्यो । तर, उनी घर फर्कन सकेनन् । पुराना साथीसँग लजमा बस्दा आफ्नै घरमा बसेको अनुभूति हुन्छ । तर, यस्तो त्रासको बेला सिंगो परिवारसँंगै हुन सके राम्रो ।
गत चैत ८ गतेदेखि नै लजमा अरु पाहुना छैनन् । घर जाने भन्दाभन्दै प्रतिष्ठानमा मिटिङ प¥यो । त्यसको दुई दिनपछि त लकडाउन सुरु भैहाल्यो । ‘लकडाउन छोटो होला भनेको त’, उनले सुस्केरा हाले, ‘दिनदिनै लम्बिँदै पो छ त ?’
त्यही भाइरसको समाचार टिभीमा कति हेर्नु ? उनी परम्परागत चित्रकलाको अध्ययनमा जुटेका छन् । त्यसभन्दा बढी दिनदिनै क्यानभासमा रंग पोत्छन् । हेर्दाहेर्दै उनी बसेको लज आर्ट स्टुडियो बनिसक्यो ।
‘२५ वटा जति चित्र बनाईसकें’, मोर्डन आर्टमा ख्याति कमाएका गुरुङले भने, ‘कलामा नयाँ प्रयोग गरिरहेको छु ।’
‘परम्परागत शैलीमा आधुनिकताको लेप लगाउँदैछु’, उनले भने, ‘परम्परागत चित्रमा नेपाली माटोको सुगन्ध आउनुपर्छ ।’ आफैं कला साधना गरेर उनी अध्ययनमा होमिएका छन् ।
खासमा उनी अर्धमूर्त चित्र बनाउँछन् । पानी रंग, एक्रेलिक रंग र तैल रंगका माध्यमबाट । प्रतिष्ठानमा परम्परागत कला प्रवद्र्धनको अगुवाइ गर्ने जिम्मा पाएसँगै यसमा रुचि बढ्यो । त्यसले गर्दा उनमा ज्ञानको भण्डार फराकिलो बन्यो ।
लकडाउनमा उनले गंगादेवी धर्तीमा अवतरण गरेको चित्र बनाए । त्यसको पृष्ठभूमिमा कुमारी हिमाल माछापुच्छे« छ । उनले गणेश, बज्रयोगिनी, योगिनी आदिका चित्र पनि बनाएका छन् । त्यति मात्र होइन, गण्डकी प्रदेशको गुरुङ समुदायले मनाउने ट्होंटे पर्वका चित्रको फिनिसिङ पनि लकडाउनमै गरे ।
उनलाई गुरुङ लोककलाको विषयमा काम गर्ने इच्छा छ । केही समयअघि प्रतिष्ठानको लोककला विभाग प्रमुख मिथिला यादवको नेतृत्वमा पोखरामा गुरुङ कार्यशाला गरिएको थियो । उनले भने म पश्चिमी शैलीबाट प्रभावित थिएँ । अहिले हाम्रै पूर्वीय शैली अध्ययन गर्दैछु ।’
केही समयअघि उनको नेतृत्वमा दोलखा, जनकपुर र धरानमा परम्परागत कला यात्रा गरिएको थियो । त्यतिबेला घुमेका ठाउँहरू उनी क्यानभासमा उतार्दै छन् । ‘कालिञ्चोक, भीमेश्वर, सिन्धुली बसपार्क, जानकी मन्दिर, गंगासागर आदिका चित्र लकडाउनमै बनाएँ’, उनको योजना छ, ‘आफ्नो ४ वर्षे कार्यकालमा घुमेका ठाउँका चित्र बनाएर अन्तिममा तिनको प्रदर्शनी गर्नेछु ।’
उनी बसेको ठाउँ सुन्धारा सुनसान छ । सडक सुनसान छ । सबै कुरा ठप्प छ । ‘लाग्छ आज विज्ञान प्रकृतिसँग हारेको छ’, उनी भन्छन्, ‘लकडाउनले मान्छेको जीवनमा पारेको प्रभाव पनि चित्रमा उतार्दै छु ।’
चित्र बनाउने खुबी नभइदिएको भए उनी कसरी दिन कटाउँथे होला !
‘चित्र बनाउँदा पीर भुलिन्छ । रंग खेलाउँदा मनमा शान्ति छाउँछ’, उनले भने, ‘कलाबाट मन आनन्दित हुन्छ ।’
वरिष्ठ कलाकार गुरुङ ६२ वर्षमा हिँड्दै छन् । उनले कलाकर्ममा ५ दशक बिताइसके । उनका धेरै चेला छन् । प्राज्ञ बनेर काठमाडौं आउनु अघिसम्म उनी पोखराको एसोएस हर्मन माइनर स्कुलमा कला शिक्षक थिए । त्यहाँ उनले ३२ वर्ष सिकाएर बिदा लिए ।
जब उनी क्यानभासबाट बाहिरिन्छन् तब परिवारको सम्झना आउँछ । उनको परिवार कलामय छ । जीवनसाथी हरिमाया, छोरीहरू ज्योति, कृति र हेमकान्ती कलाकार हुन् ।
‘लकडाउन कहिले खुला र घर जान पाइएला’, उनले सोधे !
लकडाउनले जनजीवन उकुसमुकुस बनाइसक्यो । हाम्रो जीवनशैलीमै परिवर्तन आइसक्यो । जे नहुनु थियो, त्यही भयो । अब चिन्तामा डुबेर हुँदैन । मान्छेले चुनौती झेल्नुको विकल्प छैन । हामीले प्रकृतिको अधिक दोहन गरेको परिणाम भाइरससँग जुध्नुपरेको छ । त्यसैले कोभिड–१९ बाट पाठ सिकौं । प्रकृतिमैत्री बनेर बाँच्ने संकल्प गरौं । आशावादी बनौं ।
गुरुङले बुझेको सत्य यही हो कि बाँच्न प्रकृतिको आशीर्वाद चाहिन्छ ।
प्रकाशित: १० जेष्ठ २०७७ १२:०१ शनिबार