१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मनिषामाथि खनियो भारतीय मिडिया

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएको छ ।

परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’

उनको सो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन् । उनीहरूको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’

लिम्पियाधुरासहित तीन सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्ष लिएको भन्दै भारतीय मिडियाले अभिनेत्री कोइरालाको आलोचना गरेका हुन् । भारतीय मिडियाले उनलाई चीनको पक्ष लिएको भनेर समेत लेखेका थिए । उनीहरूले अभिनेत्री कोइरालालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका थिए ।

बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरू आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्षमा उत्रिएका थिए । पछिल्लो समय अनलाइन स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘मस्का’ मा अभिनय गरेकी थिइन् । उनले ‘सौदागर’, ‘सञ्जु’, ‘१९४२– अ लभस्टोरी’, ‘खामोसी’, ‘दिल से’, ‘कम्पनी’, ‘लुस्ट स्टोरिस्’, ‘अकेले हम अकेले तुम’,‘मन’ र

‘बम्बे’ लगायतका फिल्मरूमा अभिनय गरिसकेकी छिन् ।

डेढ वर्षअघि उनले ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक गरेकी थिइन् । सो पुस्तकमा समावेश घटनाक्रम सम्झन उनलाई झन्डै पाँच महिना लागेको थियो । जसमा उनले झन्डै ३० वर्ष लामो फिल्मी करियरमा सफलताको शिखर चुमेर एक्कासी फ्लप हुँदाका कारण स्वास्थ्यमा असर परेको घटना समावेश गरेकी थिइन् । 

सन् १९९१ मा सुभाष घईको ‘सौदागर’ फिल्मबाट बलिउड फिल्ममा प्रवेश गरेकी अभिनेत्री कोइरालाका लागि सन् २०१२ को पाठेघर क्यान्सर भएको थियो ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App