स्मृति ढुंगाना
काठमाडौं -
रेटिंग ३.५
कलाकार: आयुष्मान खुराना, जितेन्द्र कुमार, गजराज राव, नीना गुप्ता।
निर्देशक: हितेश केवल्या
दुई वर्षअघि ब्लगर लेक्स लिम्बूले आफ्नो आधिकारिक युट्युब च्यानलबाट गर्वका साथ घोषणा गरेका थिए, ‘म समलिंगी पुरुष हुँ।’ परिवारले आफ्नो समलिंगी पहिचानलाई सहजै नस्वीकार्ने डरबाट उनी त्रसित थिए। उनका अनुसार बुबाआमालाई आफ्नो यौन पहिचानबारे जानकारी गराउन धेरै समय लागेको थियो। आफ्नो ‘गे’ पहिचान बुबाआमालाई भन्दा भावनात्मक रूपमा साथ पाएका उनले अन्य समलिंगीहरूले परिवारको साथ नपाउने गरेको अनुभव सुनाएका थिए। उनले भनेझैं समलिंगी र समलिंगी जोडीले आफ्नो पहिचानका लागि गरेको संघर्ष गत शुक्रबारदेखि रिलिज भएको ‘शुभ मंगल ज्यादा सावधान’ फिल्म प्रस्तुत गरिएको छ।
लैंगिक तथा यौनिक अल्पसंख्यकलाई परिवार र समाजले गर्ने विभेद, हिंसा र तिरस्कारका कारण उनीहरू खुलेर बाहिर आउन नसकिरहेको अवस्थामा फिल्मले उनीहरूप्रतिको डर हटाउन आग्रह गरेको छ। विभिन्न सांस्कृतिक र जातीय विविधताले भरिएको भारतीय समाज नयाँ विचारहरूलाई स्वागत गर्न तत्पर देखिएपनि उनीहरूका लागि समलिंगी र समलिंगी सम्बन्ध अपाच्य रहेको पाइन्छ। एक समलिंगी जोडीले आफ्नो पहिचानको लागि परिवार र समाजसँग गरेको संघर्षमाथि बनेको ‘शुभ मंगल ज्यादा सावधान’ फिल्ममा दुई केटाहरूको प्रेम सम्बन्ध प्रस्तुत गरिएको छ। निर्देशक हितेश केवल्याले निर्देशन गरेको फिल्ममा ‘प्रेम प्रेम हो’, त्यो केटाकेटीबीच होस वा दुई केटा वा दुई केटीबीच होस भन्ने भाव दर्साइएको छ। फिल्मले हालै भारतमा समलिंगी विवाहले वैधता पाएको प्रसंगलाई जोड दिएको छ ।
फिल्मको कथा भारतको अलाहाबादमा बस्ने मध्यवर्गीय जोडी शंकर त्रिपाठी (गजराव राव) र उनकी श्रीमती सुनैना त्रिपाठी (नीना गुप्ता) को भाई चमन त्रिपाठी (मनु ऋषि) र चम्पा त्रिपाठी (सुनीता राजवार) की छोरी गुगल (मान्भी गग्र्रो) को विवाहको तयारीबाट सुरु हुन्छ। शंकर र सुनैना एकमात्र छोरा अमन (जितेन्द्र कुमार) को विवाह
कुसुम (पंखुरी अवस्थी) सँग गर्ने योजनासहित उनको प्रतिक्षामा गरिरहेका हुन्छन्। यता दिल्लीमा बसिरहेका अमन कार्तिक सिंह (आयुष्मान खुराना) सँग समलिंगी सम्बन्धमा हुन्छन्। यी जोडी गुगलको विवाहमा सहभागी हुन आएलगत्तै फिल्मले रोचक मोड लिन्छ। एक्कासी शंकलले रेल यात्राको क्रममा छोरा अमन र कार्तिकले एक अर्कामा चुम्बन गरिरहेको दृश्य देखेर स्तब्ध हुन्छन्। उनी परिवारसहित अमनलाई कार्तिकबाट टाढा लैजान प्रयासरत देखिन्छन्। फिल्ममा अमन र कार्तिकले एक अर्काको सम्बन्ध परिवारलाई स्वीकार्नको निम्ति गरेको संघर्ष हेर्न पाइन्छ।
अभिनेता आयुष्मान खुराना र भूमि पेडनेकर अभिनित आर एस प्रसन्नाको ‘शुभ मंगल सावधान’ फिल्मको सिक्वेल ‘शुभ मंगल ज्यादा सावधान’ लाई हितेश केवल्यशन गरेर आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गरेका छन्। फिल्मको पटकथा, पात्र र संवादमार्फत उनले दर्शकलाई भरपूर मनोरञ्जन दिन खोजेका देखिन्छन्।
चुनौतीपूर्ण भूमिका निर्वाह गरेको रूचाउने अभिनेता आयुष्मान खुरानाको अभिनय फिल्मभर तारिफयोग्य भएपनि केही काल्पनिक लाग्ने दृश्यमा उनी जम्न नसकेझैं लाग्छ। फिल्मको सुरुवातदेखि अन्त्यसम्म जितेन्द्र कुमार अन्यौलग्रस्त देखिएका छन्। मुख्य पात्रमा देखिएपनि उनीले फिल्ममा कुनै छाप छाड्न नसकेको भान हुन्छ। मान्भी गग्र्रोले फिल्मभर आफ्नो अभिनयमार्फत मनोरञ्जन दिएकी छन्। त्यस्तै अभिनेता गजराज राव र नीना गुप्ता आ–आफ्नो भूमिकामा दमदार प्रस्तुति दिन लागिपरेका देखिन्छन्। विशेष भूमिकामा देखिएकी अभिनेत्री भूमि पेडनेकरले ‘शुभ मंगल सावधान’ को पृष्ठभूमिको स्मरण गराएकी छन्।
फिल्मको कथाअनुसार संगीत सुहाउँदो लागेपनि करण कुलकर्नीको संगीत चर्को सुनिन्छ। फिल्ममा सिनेमेट्रोग्राफी सामान्य रहेपनि सम्पादन पक्षका कारण दर्शकलाई मनोरञ्जन दिन सफल देखिन्छ। मसलेदार फिल्मले समलिंगी सम्बन्धसँगको डरलाई समाजले हटाउनुपर्नेमा जोड दिएको छ। हालै भारतमा वैधानिकता पाएको समलिंगी विवाहको प्रसंगले फिल्मलाई रोचक बनाएको छ।
समलिंगी जोडी परिवार र समाजमा ‘एक्स्पोज’ भएपछि आउने उतारचढावका कारण कतिपय आफ्नो पहिचान लुकाउन बाध्य भएको सन्दर्भमा फिल्मले परिवारको साथ अपरिहार्य रहेकोमा जोड दिएको छ।
प्रकाशित: ११ फाल्गुन २०७६ ०२:३३ आइतबार