२४ जेष्ठ २०७७ शनिबार
कला

'दोष कसैलाई दिन चाहन्न...'

काठमाडौं- दुवै मृगौला फेल भए पनि गीतकार सुक गुरुङ जीवनसंग संघर्ष गर्दै थिए। जीवन जीउने हुटहुटी उनमा थियो। र फेरी उस्तै गीत रचना गर्ने सपना उनका थिए तर नियतिले मनका सबै कुरा कहाँ पुरा गर्न दिन्छ र! फेरी अब कसैलाई दोष दिन नपर्ने गरी सुक गुरुङ आइतबार अस्ताए। अरुण थापाले उनको एउटा गीत गाएका थिए 'दोष कसैलाई दिन चाहन्न, पिउने छु बरु आँखाको आँसु...।' सुक गुरुङको जीवन पनि यस्तै भयो।  सांगीतिक जीवनका आरोह अबरोहमा विना दोष उनी आफ्ना रचना यो हावामा छोड्दै विदा भए।

नेपथ्यका सुरुवाती दिनमा उनले रचना गरेको गीत चर्चामा रह्यो। 'छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले....' नेपथ्य सुरुवाती दिनमा व्यान्डलाई स्थापित गर्न लागिरहेकै समयमा यो गीतले ठूलो भूमिका खेल्यो। यो गीत उनै सुकले लेखेका थिए भने रवीन श्रेष्ठले स्वर दिएका थिए। ५० को दशक पोखरेली गीत, संगीतको लागि मात्र होइन नेपालकै लोकपपको लागि स्वर्ण समय थियो। त्यही स्वर्ण समयका एउटा तारा थिए सुक।

'सुक दाईले लोकपक संगीतमा दिएको योगदान अतुलनीय छ,' नेपथ्यका संस्थापक मध्येका एक भिम पुनले भने, 'उहाँले लेखेका गीतको जुन चर्चा भयो त्यसले त्यतिबेलाको फरक संगीतलाई स्थापित गर्न मदत पुर्‍यायो।' हङकङमा बस्दै आएका पुनले ति कठिन दिनमा सुक गुरुङले गीत संगीतमा अविचलितरुपमा लागेर योगदान गरेको सम्झिन्छन्।

सुक गुरुङका गीत चर्चाको शिखरमा रहे तर उनको चर्चा भने कमै भयो। उनका गीत गाउनेहरु पनि चर्चामै रहे तर सुक गुरुङ चर्चा भन्दा बाहिरै बसे। उनको मृत्यु पनि त्यस्तै शान्त भैदियो। तर रोगसँग लड्दा भने उनलाई सहयोग र आत्मवल दिनेहरुको कमि रहेन।

नेपथ्यका गायक अमृत गुरुङले फेसवुकमा सुकबारे यसरी लेखेका छन्, 'अगस्त २६, २०१९ मा गीतकार, संगीतकार शुक गुरुंगसँग भेट्न संगीतकार विक्रम गुरुङ दाई र म उनको घर पुगेका थियौं। त्यो नै हाम्रो अन्तिम भेट लेखिएको रहेछ। शुकजीले नेपथ्यको प्रारम्भकालमा हामीलाई ‘छेक्यो छेक्यो’ गीत गाउन दिएर हामीलाई ठूलो गुण लगाएका थिए। उनको मृत्युको खबरले म दु:खी छु। उनको आत्माको चीर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली। परिवारजनमा हार्दिक समवेदना।

आँखाको ज्योती समेत गुमाएका उनले लेखेको अर्को चर्चित गीत हो, 'आँखैमा झलझली...हितैको दौंतरी'। मधुमेह र उच्चरक्तचापले उनका दौतरी खोस्न सकेन तर खोसिदियो आँखाको ज्योति। राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला बिदाइ छ आजलाई...,’ लेखेका सुक गुरुङ अब र्को भाइटिकामा आउने छैनन् तर हरेक भाइटिकमा उनको यो गीतले दिदी बहिनी र दाजु भाइलाई भावुक बनाइरहने छ।

लमजुङबाट उनको परिवार चितवनमा झर्यो। सुक पछि पोखरा आइपुगे। पोखरामा उनी गीत संगतीमा डुवे। यहीँ बसेर उनले गीत संगीतको दोवाटोमा आँखा जुधाई रहे। यसैले त उनले लेखे 'दोबाटोमा आँखाहरु नजुधेका होइनन्....'

उनले गीत मात्र लेखेनन्। कविता र मुक्तक पनि लेखे। ‘यी मेरा अन्तरवेदनाहरु’ पुस्तकमा उनका रचनाहरु समेटिएका छन्। उनले इसारा भाग १,  निवेदन, तिर्सना, विरानो मायाजस्ता लगायत ११ एल्बम निकालेका थिए।

सुकको उपचारमा सहयोग जुटाउन समिति नै बन्यो। देश विदेशमा कार्यक्रम भए। तर दैवको लिला मायाँ त पाए आयु पाउन सकेनन्। उनको उपचारको लागि ५४ लाख रुपैयाँ जुटेको थियो। यसैबाट उनको उपचार गर्दै सहयोग समितिले घर बनाइदियो। त्यो घरमा अब उनका श्रीमती र दुई छोरा छन्।  

 

प्रकाशित: ७ पुस २०७६ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App