८ वैशाख २०८१ शनिबार
कला

गजलकारलाई ‘वान्स मोर !’

बेनी – चर्चित गजलकार प्रकट पगेनी ‘शिव’ले प्रणयपरक गजलहरूको २१ औं एकल वाचन पुरा गरेका छन्। एक दशक अघि काठमाडौंबाट सुरु भएको उनको एकल वाचनको सृङ्खला मुलुकका विभिन्न ठाउँ हुँदै बेनी बजारमा पुगेको हो। म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको पछिल्लो कार्यक्रममा उनले दुई घन्टासम्म श्रोतालाई मन्त्रमुग्ध बनाए। 

युवा सञ्जाल म्याग्दीको आयोजना र म्याग्दी साहित्य सञ्चारको सह–आयोजनामा शनिबार उद्योग वाणिज्य संघको सभाहलमा खचाखच दर्शकका बीच ‘प्रणयमा प्रकट’ कार्यक्रममा पगेनीले वातावरणलाई प्रेमिल बनाए। 

जब ६४ वर्षे बैंशालु गजलकार पगेनीले गजल वाचन गर्न थाले तब दर्शक दीर्घाबाट पररर ताली बजिरह्यो। को युवा, को प्रौढ, को महिला, को पुरुष सबैजना उनको फ्यान बनिहाले। उनीहरू बेलाबेलामा ‘वान्स मोर’ भनिरहन्थे।

कार्यक्रम संयोजक दिपक शर्माका अनुसार दर्शकको लहरमा म्याग्दी, पर्वत र बागलुङका साहित्यप्रेमीको सहभागिता थियो।

पगेनीले संसारमा मिलन विछोड, दुःखसुख जे भए पनि आपसमा प्रेम कहिल्यै नमर्ने र प्रेम विनाको जीवन अलिनो हुने सन्देश बाँडे। उनले रसिला गजल वाचनसँगै जीवनका सुख, दुःखका कथा पनि सुनाए। ‘२५ औं पटक पुगेपछि एकल वाचनको सृङ्खलालाई विश्राम दिनेछु’, उनले भने। केही समय पछि उनको २२ औं एकल वाचन सिन्धुपाल्चोकको मेलम्ची बजारमा हुँदैछ। 

गजल सुन्न उपश्थित भएका प्रमुख अतिथि प्रजिअ ज्ञाननाथ ढकालले पगेनी सहित सबै साहित्यकारलाई शुभकामना बाँडेका थिए।

कार्यक्रममा गजलको विषयमा म्याग्दी साहित्य सञ्चारका संस्थापक अध्यक्ष घायलश्री, युवा सञ्जालका अध्यक्ष सन्दिप शर्मा, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष सन्दिप खत्री लगायतले प्रकाश पारेका थिए।

पोखरामा बसेर साहित्य सृजना गर्दै आएका पगेनी बहुमुखि प्रतिभाका धनी हुन्। उनी गीत, कविता, गजल र मुक्तक लेख्छन्। उनका ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ नामक गीत संग्रह प्रकाशित छन्। त्यस्तै ‘प्रणय वेदका ऋचाहरू’ गजल संग्रह र ‘अक्षरभरि अक्षता’ कविता संग्रह प्रकाशित छन्। यतिवेला उनी उपन्यास प्रकाशनको तयारीमा छन्।

प्रकाशित: २ मंसिर २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App