१५ आश्विन २०७७ बिहीबार
कला

याज्ञवल्क्यको व्यक्तित्वमाथि चर्चा

ललितपुर - नेपाली भाषाबाट संस्कृतमा अनुवाद गरिएको ‘महर्षियाज्ञवल्क्य’ नामक ग्रन्थका विभिन्न पक्षमाथि बहस गरिएको छ। सोमबार ललितपुरस्थित यलमाया केन्द्रमा आयोजना गरिएको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले ‘महर्षियाज्ञवल्क्य’ ग्रन्थका पात्र याज्ञवल्क्यको स्मृति गरेका थिए।

कार्यक्रममा विसं. २०२८ सालतिर बागमती किनारको पचलीघाटमा काजी हंसमान सिंहको उपस्थितिमा पण्डित जयदेव पौड्यालले ‘आत्मपुराण’ विषयमा दिएको प्रवचन सुनेर प्रभावित भई ‘दैलाको बत्ती’ शीर्षकमा पूर्णाङ्की नाटक लेखेको लेखक जोशीले बताए। नेपालसँग जोडिएका प्राचीन ऋषिहरूमा याज्ञवल्क्यको स्मृति मिथिलालाई कर्मक्षेत्र बनाई ध्यान गर्ने योगीको रुपमा परिचित छ।

शताब्दीपुरुष सत्यमोहन जोशीले लेखेको पुस्तक ‘महर्षियाज्ञवल्क्य’ लाई रोहिणीराज तिमिल्सिनाले संस्कृतमा अनुवाद गरेका थिए। पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको थियो। पुस्तकको मूल्य ३१२ रुपैयाँ राखिएको छ। शताब्दीपुरुष जोशीको १०० औं जन्मदिनका अवसरमा गत वैशाख ३० मा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘महर्षियाज्ञवल्क्य’ ग्रन्थ बजारमा ल्याएको थियो।

भगवान गौतम बुद्धको दर्शन संसारभर फैलिएजस्तै ऋषि याज्ञवल्क्यको आदर्शबारे सबैले थाहा पाउनुपर्ने तर्क समीक्षक टिकाप्रसाद ढकालले राखेका थिए। ‘मिथिलालाई कर्मक्षेत्र बनाई ध्यान गर्ने योगीको रुपमा परिचित ऋषि याज्ञवल्क्यको बारेमा मिथिला क्षेत्रका स्थानीयहरू समेत जानकारी छैन्। मिथिला क्षेत्र र ऋषि याज्ञवल्क्यबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘पूर्वीय मिथिला दर्शनमा याज्ञवल्क्यको योगदानको विषयमा बहस हुन आवश्यक रहेको छ।’

नाटकमा याज्ञवल्क्यको सबैभन्दा रोचक संवाद गार्गीसँग छ। प्राचीन समाजमा लैंगिक वा जातीय विभेद थिएन भन्ने तथ्यलाई नाटकले स्थापित गरेको छ। ‘नेपाली भूगोल र संस्कृतिका अनेक पक्ष पौराणिकतासँग जोडिएकाले नाटकको महत्व थप स्थापित हुन्छ। याज्ञवल्क्य जस्तै नेपाली भूगोलसँग जोडिएका धेरै दार्शनिकहरूको बारे लेखिनै बाँकी छ। तर, इतिहासको गाथाले मात्र भविष्य निर्माण हुन सक्दैन। हाम्रो ज्ञान परम्पराले सिकाएको आदर्श र नैतिकतालाई आजको व्यावहारिकतासँग जोड्न सक्नु ठूलो चुनौती हो,’ उनले भने, ‘संस्कृतमा अनूदित ग्रन्थमा नेपाली मूलपाठ समेत राखिएको भए पाठकका लागि सहज हुन्थ्यो।’

संस्कृतिविद् डा.राम दयाल राकेशका अनुसार पश्चिमा दार्शनिकको नामहरु याज्ञवल्क्यको नाम अग्रपंक्तिमा उल्लेख गरिएपनि नयाँ पुस्ताले उनलाई नचिल्ने तर्क गरेका थिए। ‘याज्ञवल्क्यको विषयमा नयाँ पुस्ताले थाहा पाउनु जरुरी छ। तर, याज्ञवल्क्यको योगदानको विषयमा थोरैलाई थाहा छ। मोक्ष, आत्म शान्तिको विषयमा धेरै राम्रो दर्शन उनले उल्लेख गरेपनि हामीले उनको नाममा केही गर्न सकेका छैनौं।’

नाटकले प्राचीन मिथिला नगरी र नेपाल उपत्यकाबीचको धार्मिक–सांस्कृतिक सम्बन्धमाथि प्रकाश पारेका छ। राजा जनकको महीनौं लामो आध्यात्मिक यात्रा कालीगण्डकी, मुक्तिक्षेत्र, गोसाइँकुण्ड हुँदै पशुपतिनाथबाट सिन्धुलीगढीको बाटो झरेर जनकपुरसम्म हुने र त्यसपछि दरबारमा विशेष शास्त्रार्थ हुने जानकारी छ।

प्रकाशित: २८ श्रावण २०७६ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App