८ वैशाख २०८१ शनिबार
कला

‘शत्रु कसरी साथी हुनसक्छ ?’

काठमाडौं– शत्रुता र मित्रताको व्यवहारलाई नजिकबाट नियाल्ने हो भने नेपालको राजनीतिलाई हेरे पुग्छ। एकअर्कालाई देख्नै नसक्ने सत्तापक्ष र प्रतिपक्षको आरोप–प्रत्यारोप चलिरहँदा तिनै आरोपी–प्रत्यारोपी अंकमाल गर्दै मित्रवत् व्यवहार पनि देखाउँछन्। तर यहाँ राजनीतिक कुरा नगरी यस्तै सामाजिक विषयको चर्चा गरिँदैछ। जहाँ कहिले रिस, कहिले माया त कहिले बदला प्रष्ट देखिन्छ। गत शुक्रबारबाट राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘क्लेशाः’ हेर्दा दर्शकले आफ्नै समाज र देश सम्झन्छन्। एक परिवारमा भएको घटनाले पहाडबाट विस्थापित भई तराई पुगेको एउटा समुदायले भोगेको जीवन र त्यो परिवारभित्र उब्जिएको बद्लाको भावलाई यो नाटकमा देखाइएको छ।

नाटकको शुभारम्भ पहाडबाट विस्थापित भई तराई झर्दै गरेको समुदायको लर्कोबाट सुरु हुन्छ। शुभारम्भमा यो दृश्य देखिए पनि यही दृश्यबाट नाटकको फ्ल्यासब्याक सुरु हुन्छ। नाटकको कथा नाटककी पात्र कान्छी (रुजु शर्मा) को कथा वरपर नाटक घुमेको छ। उनको जीवनमा आइपरेको भवितव्यले नाटकका पात्रबीचको द्वन्द्वलाई उजागर गरेको छ।

रुजाको गाउँका महाजन देवदत्त(प्रतिक मरहठ्ठा)का भाइ अनुज(सुदिप खतिवडा)सँग प्रेम हुन्छ। प्रेम झांगिँदै गएपछि अनुजले आफुले अर्को केटीसँग विवाह गर्नुपरेको बहाना बनाउँदै रुजालाई छोडिदिन्छन्। रुजालाई छोड्ने निर्णय रुजालाई सुनाइरहँदा रुजा दुई महिनाको गर्भवती हुन्छिन्।

यो कुरा थाहा पाएका कान्छीका दाजु रुद्र(कुशल पाण्डे)ले आफ्नी बहिनीमाथि भएको अत्याचारको बद्ला लिन देवदत्तकी श्रीमति भूमि(सुरक्षा पन्त)को अपहरण गर्छन्। समाज र परिवारमा सोझो रुद्रको आक्रामक व्यवहार देखेर उनका भाइ राज खड्का त्रसित हुन्छन्। राजले दाजुलाई सुध्रिनका लागि आग्रह गरे पनि भाइको कुरा सुन्दैनन्।

श्रीमति हराएपछि चिन्तित बनेका देवदत्तले गाउँकै बलराम(स्वपनिल घिमिरे)लाई श्रीमति खोजिदिन आग्रह गर्छन्। देवदत्त बसेको स्थानबाट एकदिन लाग्ने गाउँमा भूमि रहेको बलरामले पत्ता लगाउँछन् र यसबारे देवदत्तलाई जानकारी दिन्छन्।

रुद्रको अपहरण परी रुद्रकै घरमा बन्धक बनेकी भूमि सुरु रुद्रकी आमाप्रति नरम र रुद्र प्रति कठोर बन्छिन्। रुद्र प्रति कठोर बनेकी भूमि विस्तारै रुद्रप्रति नै नरम बन्दै जान्छिन्। रुद्रको बन्धकमा परेको १४ दिनपछि भूमिले श्रीमानलाई रुद्रको व्यवहारबाट प्रभावित भएको बताइरहँदा उनको रुद्रप्रति नरम भएको प्रष्ट हुन्छ। तर आफुले शत्रु मानेको व्यक्तिको बन्धकमा परेर ‘स्वतन्त्रता’का लागि गरगहनासमेत लगाउन छोडेकी भूमिले रुद्र आफ्नो ‘साथी’ जस्तो भएको बताइरहँदा देवले ‘शत्रु कसरी साथी हुनसक्छ ?’ भन्दै गाली गर्छन्। के कारणले भूमि रुद्रप्रति नरम बनेर उनलाई ‘साथी’ जस्तो मान्छिन् भन्ने जान्न चाहिँ नाटक नै हेर्नुपर्ने हुन्छ।

ग्रामीण शैलीमा तयार पारिएको स्टेजमा मन्चन गरिएको नाटकले नेपाली समाजको वास्तविकतालाई देखाएको छ। महाजनले सोझा गाउँलेलाई दुव्यर्वहार गरेपछि गाउँबाटै विस्थापित हुनुपरेको समाचार सुनेका र पढेका दर्शकलाई नाटकका दृश्यले त्यही घटना सम्झाइदिन्छ।

नाटकले देवमार्फत उनको अहंकार, घमण्ड, नारी प्रति हेर्ने दृष्टिकोणलाई देखाएको छ। आफ्ना पिता महाजन भएकैले आफू पनि महाजन भएको अहमता देखाउने देवको ‘मनमा जे रोप्यो, व्यवहारमा पनि त्यही फल्छ’ भन्ने संवादले पनि उसको अहमता झल्काउँछ। विवाह गरेर ल्याएकी श्रीमतिले समाजको कुरा बुझ्न खोज्दा ‘पहिला घरव्यवहार बुझ्ने, अनि समाज बुझ्ने’ संवादले पितृसत्तात्मकको झल्को दिन्छ।

नाटकले दर्शकलाई द्वन्द्व दृश्यमात्र दिँदैन, रुजु र सुदिपको रोमान्स, प्रतिक र सुरक्षाको विवाहपछिको सामिप्यतालाई पनि देखाएको छ। गाउँले चरित्र, उनीहरूको अभिनय सँगै हसाउने संवादले दर्शकलाई राम्रै मनोरञ्जन दिन्छ।

यही नाटकमार्फत नाट्य अभिनयमा ‘डेब्यू’ गरेकी नायिका सुरक्षा पन्तको अभिनय अब्बल छ। आफ्नो चरित्र अनुसार अन्य कलाकारले पनि राम्रो काम गरेका छन्। नाट्य अभिनय हेरिरहँदा सुरक्षाको नाट्य अभिनय ‘डेब्यू’ लाग्दैन। शान्ता काकी बनेकी सिर्जना अधिकारी हुन् या अन्य सहायक पात्रको काम राम्रो छ। पात्रको चरित्र अनुसारको गेटअपमा प्रस्तुत गरिएकाले पनि उनीहरू सुहाउँदिला बनेका छन्। नाटक चलिरहँदा पृष्ठभूमिमा सुनिने संगीत र गीतले पनि न्याय दिएको छ।

राम्रो हुँदाहुँदै पनि केही कमजोरी भने छन्। नाटकमा अनुजले आफूले अर्को विवाह गर्न लागेको भन्दै कान्छीलाई छोडे पनि अनुजले अर्को विवाह गरे या गरेनन् भन्ने देखाइएको छैन। सामान्यतया आफ्नो परिवारमा सदस्यमाथि भएको कुनै ज्यादतीमाथि परिवारका सबै सदस्य आक्रोशित हुन्छन्। तर नाटकमा भूमिप्रति रुद्रमात्र आक्रामक हुने तर अन्य सदस्य भने नरम हुने शैली अलिक अनौठो लाग्न सक्छ।

नाटकमा सिर्जना अधिकारी, रुजु शर्मा, कुशल पाण्डे, सुरक्षा पन्त, सविना थापा, राज खड्का, प्रतिक मरहठ्ठा, स्वपनिल घिमिरे, सुदिप खतिवडा, तुफान थापा, अमृत काउचा, जीवननाथ पौडेल र सविन भट्टराईको अभिनय छ। वाद्यवादनमा उत्सव बुढाथोकी, चन्द्र नेपाली, रुपेश शाक्य र विशाल नकर्मीले साथ दिएका छन्। करमन नामक कला समूहले निर्माण गरेको नाटकमा प्रतीक्षा कट्टेलको लेखन छ। नाटक असार ८ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App