coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्राचीन पनौतीको फोटो प्रदर्शनी

बनेपा – पनौतीमै जन्मीहुर्की फोटोग्राफीमा दुई दशक बिताइसकेका पत्रकार प्रशान्त श्रेष्ठलाई जन्मथलोको पुरानो अवस्थालाई फोटोको माध्यमबाट नयाँ पुस्तालाई चिनाउन हुटहुटी चलेको छ। उनले गत कात्तिकमा तिहारको छेको पारेर जन्मथलोमै ‘उहिले र अहिलेको पनौती’ शीर्षकमा तीनदिने फोटो प्रदर्शनी सम्पन्न गराए। कात्तिकमा पनौतीमा फोटो प्रदर्शनी गरेका प्रशान्तले यसपटक भने राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा गत शुक्रबारबाट त्यही फोटोको प्रदर्शनी गरेका छन्।

पनौतीमा आउन नसकेका व्यक्तिहरूलाई उहिले र अहिलेको पनौती देखाउन समेत उनले ‘पनौतीमा परिवर्तन’ शीर्षकमा फोटोहरूको प्रदर्शनी गरेका हुन्। बोर्डले प्रदर्शनीकै मौका पारेर पनौतीका फोटोहरु समावेश भएको विभिन्न ४ थरिका पोष्टकार्डहरूसमेत सार्वजनिक गर्ने तयारी गरेको छ।

पनौती तिर्थालुहरूका लागि १२ वर्षे मकर मेला लाग्ने स्थलका रूपमा परिचित छ। अनुसन्धानकर्ताहरू भने एउटै ढुंगामा बसेको शहरकै कारण भूकम्पमा अन्यत्रभन्दा न्यून क्षति भएको स्थानका रूपमा चिन्छन्। नेवारी समुदाय ‘योमरी’को उत्पत्ति थलो भनेर पनौतीलाई बुझ्दछन्। आन्तरिक तथा बाह्य पर्यटकका लागि मध्यकालीन वास्तुकलाले भरिएको एवं विश्व सम्पदा सूचीमा प्रस्तावित शहरका रूपमा परिचित छ।

प्रदर्शनीमा फ्रान्सेली मानवशास्त्री जेरार्ड टफिन, फ्रान्सकै मूर्तिकार भिन्सेन्ट बेरे, आर्किटेक्ट प्याट्रिक बर्गर र लरेन्स फेभिलेले सन् ७० को दशकमा खिचेका फोटोहरू राखिएका छन्। यस्तै कलाकार र हुलाक टिकट डिजाइनर केके कर्माचार्य, फोटोग्राफर मणि लामा र बर्ड वाचर सुदर्शन कार्कीका फोटोहरू पनि प्रदर्शित छन्। यिनै सर्जकहरूबाट तयार भएका ४० देखि ५० वर्ष अघिका फोटो तथा हालैका फोटोहरूसमेत प्रदर्शनीमा छन्।

‘सन् १९७० को दशकमा पनौतीमा फ्रान्सका विज्ञ समूह आएर यहाँको मध्यकालीन बास्तुकलाको अध्ययनमा लामो समय बिताएका थिए। त्यो समयमा फ्रान्सेली मानवशास्त्री जेरार्ड टफिन, फ्रान्सकै मूर्तिकार भिन्सेन्ट बेरे र आर्किटेक्ट प्याट्रिक बर्गर र लरेन्स फेभिले समग्र पनौतीलाई फोटोहरूमा प्रस्तुत गरेका थिए। उनीहरूको फोटोहरूले त्यसबेलाको पनौतीको वास्तविक चित्रण गरेको छ’, श्रेष्ठले भने।

फ्रान्सेलीहरूले श्रेष्ठको अनुरोधपछि उनीहरूले खिचेका फोटोहरू सहजै उपलब्ध गराइदिए। त्यसपछि नेपालका पुराना फोटाग्राफरहरूसँग रहेका पुराना फोटोहरू संग्रह गर्नमा उनको व्यस्तता बढ्यो। पचासभन्दा बढी फोटोहरू संकलन भएलगत्तै पनौतीलाई चिनाउने काममा ३४ वर्षदेखि क्रियाशील पिक्यू राम समूहसँग मिलेर श्रेष्ठले कात्तिक अन्तिम साता ‘पनौतीमा परिवर्तन’ विषयक फोटो प्रदर्शनी आयोजना गरेका थिए।

प्रकाशित: २५ पुस २०७५ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App