coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दर्शक तान्दै ‘घेरो’

पोखरा- पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

युथ क्रिएसन थिएटरको छैठौ प्रस्तुति ‘घेरो’ मंसिर २१ गते शुक्रबारदेखि मञ्चन सुरु भएको हो। कपिल शर्माले निर्देशन गरेको घेरोले सामाजिक अन्धविश्वास र रुढीवादीलाई ब्यंग्य गरेकोमात्रै छैन, धार्मिक लोक परम्परालाईसमेत आत्मसात गरेको छ।

मंसिर २९ गतेसम्म चल्ने नाटक घेरोमा अझै पनि नेपाली समाजमा अन्धविश्वास कसरी जकडिएको छ भन्ने देखाउन खोजिएको छ।

घरको दैलोमो चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकले रोचक ढंगले देखाएको छ। हिन्दु धार्मिक मान्यता, परम्परालाई समेट्दै बनेको यो नाटकमा माइतीबाट फर्केको दम्पती घर पुगेर दैलो खोल्नेबित्तिकै चामलको घेरो देखिन्छ।

त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई नाटक ‘घेरो’ले देखाउन खोजेको छ। भजनमार्फत कथा वाचन हुँदै जाँदा दर्शकलाई रोमाञ्चित बनाउँछ। नाटकमा कलाकार लक्ष्मण डुम्रे र अनिका सापकोटाले प्रमुख दम्पत्तीको अब्बल अभिनय गरेका छन् भने ममता मञ्जुलको अभिनयले पनि धेरैको ध्यान खिच्छ।

सुत्रधारकै रुपमा प्रयोग गरिएको भजनले नाटकलाई हेरिरहुँजस्तो बनाएको छ। करिब १ घण्टा १५ मिनेट नाटकलाई सुरुदेखी नै बालन शैलीको भजनले जोड्दैजोड्दै लगेर सकिन्छ। नाटकमा अभिनय गरेका सबै कलाकारले गरेको अभिनय तारिफयोग्य छ।

नाटकका लेखक केदार पौडेल हुन्, जसमा मधुसुदन पौडेल, लक्ष्मण डुम्रे, ममता मञ्जुल, एनिका सापकोटा, प्राञ्जल, प्रसुन अधिकारी, अन्जना पौडेल, ताराखर पौडेल, विनोद पौडेल तथा केदार पौडेलले अभिनय गरेका छन्।

नाटकमा प्रयोग गरिएको भजन मधुसुदन पौडेलले रचना गरेका हुन् भने मुल गायक पनि उनै छन्। नाटकको कन्सेप्ट डिजाईन सरोज अर्यालको गरेका छन् भने प्रकाश संयोजन विभु भुषाल र रमेश तिमिल्सिनाको हो।

हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटक ‘घेरो’ शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजेसमेत प्रदर्शन हुनेछ। नाटको व्यवस्थापन सौगात पोखरलले गरिरहेका छन्।

 

तस्बिर : गौसव गुरुङ

 

 

प्रकाशित: २६ मंसिर २०७५ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App