१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

‘सुश्री सम्पत्तिमा सस्पेन्स कमेडी’

फिल्म ‘सुश्री सम्पत्ति’का कलाकार सलोन बस्नेत(बाँया),सारा सिरपाली, प्रमोद अग्रहरि र विनोद न्यौपाने। तस्बिर सौजन्यः आर्यन विमली

काठमाडौं – फिल्म ‘अधकट्टी’ रिलिजको चार वर्ष पछि पत्रकार तथा निर्देशक सुब्रतराज आचार्य नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ लिएर दर्शकमाझ आउँदैछन्। यही शुक्रबारबाट फिल्म रिलिज हुने भएपछि निर्देशक आचार्यसहित फिल्मका प्रमुख कलाकार नायकद्वय सलोन बस्नेत र विनोद न्यौपाने, नायिका सारा सिरपाली तथा कलाकार प्रमोद अग्रहरि महिना दिनदेखि फिल्म प्रमोसनमा व्यस्त छन्।

हालैको एक बिहान राजधानीको पुरानो बानेश्वरमा फिल्मका कलाकारसहित भेटिएका निर्देशक आचार्यको अनुहारमा तनावसँगै प्रफुल्लपन प्रष्ट देखिन्थ्यो। ‘म साप्ताहिकमा काम गरिरहँदा पाठकलाई केही फरक विषय पनि दिने कि भन्ने सल्लाह भएको थियो। त्यसै अनुसार म रातीको समयमा मोटरसाइकलमा कुँदिरहन्थे। रात्री यात्रामा देखेका घटनालाई उन्दै जाँदा फिल्मको कथा बन्यो,’सुब्रत खुले,‘हामीले पोखरामा भएको एक फिल्म अवार्डमा नयाँ फिल्म ‘मनोरञ्जन’ घोषणा गरेका थियौं। त्यो फिल्म त बनेन। तर त्यसको प्लटलाई ‘सुश्री सम्पत्ति’मा राख्यौं।’

सुब्रतले पोखरा वरपर फिल्म छायांकन गरिएकाले दर्शकले पोखराको रात्रीजीवनलाई फिल्ममा हेर्न पाउने बताए। ‘फिल्म पूर्ण रुपमा कमेडी फ्लेबर छ। तर कमेडी भित्र पनि सस्पेन्स पक्ष छ,’सुब्रतले भने,‘दर्शकले टिकटमा गरेको लगानी राम्रैसँग उठाउनेछन्।’ सुब्रतले काम गराईको वातावरणलाई मूल्यांकन गर्दा फिल्म ‘अधकट्टी’मा भन्दा ‘सुश्री सम्पत्ति’मा ‘स्वतन्त्रता’को अनुभव गरेको बताए।

निर्देशक सुब्रतले भनाई टुंग्याएपछि नायिका सारा आफ्नो भूमिकाबारे खुलिन्। फिल्मको सार्वजनिक ट्रेलरमा उनको भूमिका कस्तो छ भन्ने कौतुहलता बढिरहँदा साराले यो कुरालाई पनि स्वीकारिन्। ‘ट्रेलरमा मेरो क्यारेक्टर खुलाइएको छैन। तर मेरो क्यारेक्टर फूडमा स्पाइसी मिसिएजस्तै छ। अर्थात दर्शकले फिल्म हेरेपछि ‘आहा’ भन्नेछन्,’साराले हाँस्दै भनिन्,‘आमाको माया नपाएकी छोरीको भूमिकामा देखिँदैछु। आमाको माया नपाएकी मैले सलोन र विनोदको माया पाउँछु या पाउँदिन। त्यो जान्न फिल्म नै हेर्नुपर्छ।’ कमेडी फिल्ममा अभिनय गर्न रुचाउने साराले ‘सुश्री सम्पत्ति’ आफूले खोजे जस्तै फिल्म पाएको बताइन्।

फिल्ममा सलोन र विनोद मिल्ने साथीको भूमिकामा छन्। ‘फिल्ममा विनोद र मेरो भूमिकाले अहिलेको युवापुस्ताको प्रतिनिधित्व गरेको छ,’उनले कारण खुलाए,‘अहिलेको युवापुस्ता मेहनत नै नगरी पैसा कमाउन चाहन्छन्। हाम्रो उद्देश्य पनि त्यस्तै हुन्छ।’ सलोनले अहिलेसम्म नबनेको कथामा फिल्म बनेकाले त्यो कथाले आफूलाई छोएको जनाए।

सलोनको भनाई प्रति समर्थन गर्दै विनोदले अहिलेको युवाले फिल्म हेर्नैपर्ने दाबी गरे। ‘उनीहरूले वास्तविक जीवनमा जे भोगेका छन्। त्यही कुरालाई फिल्ममा देखाइएको छ,’विनोदले भने,‘एउटा अविवाहित युवकको लागि सुश्री र सम्पत्ति कति प्यारो हुन्छ भन्ने कुरा फिल्ममा देखाइएको छ।’

पछिल्लो फिल्म ‘कथा काठमाडौं’मा नायिका प्रियंका कार्कीसँगको ‘हट’ रोमान्सबाट चर्चामा आएका कलाकार प्रमोदले ‘सुश्री सम्पत्ति’मा आफ्नो काम फरक रहेको बताए। ‘कलाकार भएपछि हरेक पात्रको भूमिका निभाउनुपर्छ। ‘कथा काठमाडौं’ फरक विषयमा बनेको फिल्म भएकाले मेरो काम फरक थियो। ‘सुश्री सम्पत्ति’ पनि फरक विषयकै निरन्तरता हो।’

रमेश त्यवयना प्रस्तुतकर्ता रहेको फिल्ममा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीको पनि अभिनय छ। फिल्ममा नायिका प्रियंका कार्की विशेष भूमिका रहेको फिल्ममा निर्देशक सुब्रतकै कथा छ। विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको फिल्ममा  अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद तथा अभिमन्यूकै पटकथा र भरत रेग्मीको सम्पादन छ।

प्रकाशित: २६ मंसिर २०७५ ००:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App