७ वैशाख २०८१ शुक्रबार
कला

चुनावसँगै चर्चाकाे फिल्म

फिल्म ‘द एक्सीडेन्टल प्राइम मिनिस्टर’का प्रमुख कलाकार अनुपम खेर र दिव्या सेठ। तस्बिरः द एक्सीडेन्टल प्राइम मिनिस्टर

मुम्बई – भारत यतिबेला निर्वाचनको माहौलमा छ। यहाँको मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्य चुनावमय बनेको छ। यी राज्यको चुनावी परिणाम सार्वजनिक भएपछि भारतका मतदाता र राजनीतिक दल लोकसभाको चुनावमा सक्रिय हुनेछन्। चुनावमा कसले जित्छ या हार्छ भन्ने परिणाम आएपछि मात्र थाहा होला। तर यही माहौलमा राजनीतिक कथामा आधारित रहेर निर्माण गरिएका फिल्मले चर्चाको अवसर राम्रैसँग पाइरहेका छन्।

सन् २०१९ मा रिलिज हुने केही फिल्महरू राजनीतिक नेताका बायोपिकमा आधारित छन्। यी फिल्ममा केही फिल्म राजनीतिक घटनामा आधारित पनि छन्। यी फिल्ममध्ये कसले बक्स अफिसमा राम्रो व्यापार गर्छ भन्ने चाहिँ रिलिज भएपछि मात्र थाहा हुनेछ।

भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित फिल्म ‘द एक्सीडेन्टल प्राइम मिनिस्टर’को चर्चा बलिउडदेखि भारतीय राजनीतिक वृत्तमा राम्रै छ। फिल्ममा अभिनेता मनमोहन सिंह शीर्ष भूमिकामा छन्। यो फिल्म रिलिज हुनु अघि नै काँग्रेस पार्टी विरोधीका रुपमा अगाडि देखिएको छ। फिल्मको पोष्टर सार्वजनिक भएसँगै काँग्रेस यसको विरोधीका रुपमा देखा परेको हो।

निर्देशक निखिल आडवाणी नयाँदिल्लीको बाटला हाउसमा भएको ‘इनकाउन्टर’मा आधारित रहेर निर्माण गरेको फिल्म रिलिजको तयारीमा छन्। सन् २००९ को विवादित ‘इन्काउन्टर’लाई निर्देशक आडवाणीले कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरेका हुन्। यो समयमा नयाँदिल्लीमा यूपीएको सरकार थियो। फिल्ममा अभिनेता सैफ अली खानको अभिनय हुने भनिए पनि अन्तिम समयमा आएर उनको स्थान जोन अब्राहमले लिएका थिए। निखिलले यो फिल्म अघि ‘अपरेशन ब्लू स्टार’मा आधारित रहेर फिल्म बनाउन लागेका थिए। तर राजनीतिक समूहबाट धम्की आएपछि उनले यो प्रोजेक्टलाई बीचमै रोके।

सामाजिक सञ्जालमा सक्रिय रहने निर्देशक विवेक अग्निहोत्रीले पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको मृत्युका विषयमा फिल्म ‘ताशकंद’ बनाएका छन्। यो फिल्म सन् २०१९ मै रिलिज हुँदैछ। फिल्मको कथाबस्तुका कारण रिलिजको समयमा विवाद देखिने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ। फिल्ममा प्रमुख पात्रले तत्कालिन काँग्रेस सरकारलाई कडा प्रश्न सोधेको देखाइएको छ।

बलिउडमा मात्र होइन, दक्षिण भारतीय फिल्म पनि राजनीतिक बायोपिक बनाउन पछि परेको छैन। अभिनेता तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामारावको बायोपिकको सुटिङको कामलाई केही समय अघि भारतका उपराष्ट्रपति एम. वैंकेया नायडूले सुरुवात गरेका थिए। बलिउडमा ‘गब्बर इज ब्याक’ फिल्म निर्देशन गरेका कृषले यो फिल्मलाई निर्देशन गरिरहेका छन्। फिल्ममा एनटीआरका छोरा बालकृष्णले पिताको भूमिका निर्वाह गरेका छन्।

प्रकाशित: २६ मंसिर २०७५ ००:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App