coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘आफू नाचेको हेर्दा अचम्म लाग्यो’

फिल्म ‘साइँली’की नायिका मेनुका प्रधान(बाँया), कलाकारद्वय दयाहाङ राई र गौरव पहारी तथा निर्देशक रामबाबु गुरुङ। तस्बिरः नागरिक

काठमाडौं – अभिनेताद्वय दयाहाङ राई र गौरव पहारी फिल्ममा नाँच्न भन्दा पनि अभिनय गर्न रुचाउँछन्। कुनै पनि फिल्ममा अनुबन्ध भएपछि त्यो फिल्ममा ‘नाँच्नु चाहिँ नपरोस्’ भन्ने दुवै कलाकारको चाहना हुन्छ। गायक हेमन्त रानाको स्वरमा रहेको गीत ‘साइँली’ बाट नाम सापट लिएर निर्माण भएको फिल्म ‘साइँली’ को पहिलो गीत ‘नाच माया’ सार्वजनिक कार्यक्रममा गौरव र दयाले नाँच्न नजान्दाको पीडा पोखे।

आफ्नोसँगै अर्का कलाकार दयाहाङको नृत्य पनि हेरेका गौरवले दुवैको पीडा एउटै रहेको दाबी गरे। ‘म मात्र नाँच्न नजान्ने होला भनेको त दया दाईको समस्या पनि उस्तै रहेछ,’गौरवले हास्दै भने,‘नाँच्न नजान्ने भए पनि हामीले राम्रो नाँच्ने प्रयास गरेका छौं। गीतमा नाँच्दा खुट्टा काम्दो रहेछ। गीतको सुटिङ सकेपछि अर्को गीतमा नाँच्नु पनि नपरोस् भन्दै हामी सुत्थ्यौं।’

गौरवको कुरा सुनिरहेका दयाहाङ केही लजाए। ‘यही दिन आउँछ भनेर नाँच्न अप्ठ्यारो लागेको थियो। मेरा लागि गीतमा नाँच्नु एकदमै चुनौतिपूर्ण काम हो,’उनले भने,‘आफू नाँचेको हेर्दा अचम्म लाग्यो।’

फिल्मकी नायिका मेनुका प्रधानले आफू नाँचेको गीत हेर्दा सकारात्मक शक्ति आएको अनुभव भएको बताइन्। ‘अभिनय भन्दा गीतमा बढी मेहनत गर्नुपर्छ। तर गीत बनिसकेपछि हेर्दा रमाइलो लाग्दोरहेछ,’ उनले भनिन्। फिल्मका छाँयाकार शैलेन्द्र डी कार्कीले गीत खिच्न आफूलाई निकै सकसपूर्ण हुने बताउँदै आफ्नो सहायकको सहयोगमा ‘नाच माया’ छायांकन गरेको खुलाए।

गायक हेमन्तकै जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतमा हेमन्तकै स्वर, हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत छ। विक्रम स्वाँरको कोरियोग्राफी गीतमा गौरव, मेनुका, दयाहाङसँगै केनिपा सिंह फिचर्ड छन्।

फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङले चलेको गीत भन्दा फरक कथामा फिल्म बनाइएको बताए। चैत १५ गतेबाट रिलिज हुने फिल्म गौरव र हेमन्तको व्यानर जिएच इन्टरटेनमेन्टले निर्माण गरेको हो।

माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरूको पनि अभिनय रहेको फिल्ममा विशाल गुरुङ र मोहन थापा पनि निर्माता छन्। विजय अवाले, विकाश पुजास र सुभेक्छा केसी सह–निर्माता रहेको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता छन्। फिल्ममा कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

प्रकाशित: २४ मंसिर २०७५ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App