८ वैशाख २०८१ शनिबार
कला

मौलिकता हराएको देउसी

हे भन भन भाइ हो, देउसी रे

हे राम्ररी भन, देउसी रे

स्वर मिलाई भन, देउसी रे...

देउसीको यो लोकभाका खुब मिठो छ। यस्तै मिठासपूर्ण स्वर घन्काउँदै तपाईं हाम्रो दैलोमा देउस्याहरू आइसकेका छन्। वास्तवमै देउसीमा यति धेरै तमासा, मनोरञ्जन छ कि, जोकोही देउसी खेल्न रौसिन्छन्। देउसीको सुरुवातबारे अहिलेसम्म पनि इतिहासमा फरकफरक लेख छन्। इतिहासमा जे लेखिए पनि उहिलेदेखि नै चलेको देउसी–भैलो आजसम्म खेलिदैछ।

देउसी–भैलोको सुरुवातबारे फरक–फरक श्रुतिपरम्परा छन् । भौगोलिक क्षेत्र, विभिन्न जाति, जनजाति अनुसार देउसी–भैलो खेल्ने शैली फरक छ । यसले पनि जनाउँछ देउसी–भैलोमा विविधता छ । देउसी–भैलो जहाँबाट सुरु भए पनि तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो देउसी । विनादेउसी र भैलो तिहार निरस हुन्छ । अन्य संस्कार–संस्कृति समयको परिवर्तनसँगै बद्लिदा छन्, देउसी पनि यसबाट अछुतो छैन । सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैंजडीको तालमा नाच्दै देउसी खेल्ने समूहको बिउ देख्न मुस्किल छ । ‘साँच्चिकै रमाइलो गरिने मौलिक देउसी–भैलो हराइसक्यो’ संस्कृतिका अध्येता प्राध्यापक डा. कुसुमाकर न्यौपाने भन्छन्, ‘अहिले देउसी भन्न पनि छाडिसके । क्यासेट प्लेयर घन्काउँदै आउँछन् देउस्याहरू । यो देउसीको मौलिकता हराउँदै गएको संकेत हो ।’

कवि तीर्थ श्रेष्ठलाई आजभोलि खेलिने देउसी–भैलो खासै मन पर्दैन । उनलाई देउसी–भैलो मन नपर्नुको मुख्य कारण हो– मौलिकता नहुनु । ‘आजभोलि खेलिने देउसी–भैलोमा मौलिकता केही छदै छैन’ तीर्थ भन्छन्, ‘अहिलेको युवा जमात देउसी भैलोमा मौलिकता छाडेर डिस्को नाच्न थालेको छ ।’

देउसीको मौलिकता पूरै हराएको छ आजभोलि । उहिले मादल ठटाउँदै, स्वर सुक्ने गरी देउसी खेल्थे । अहिले त्यतिविधि दुःख कसले गरोस् । बरु पछिल्लो समय देउसीको लयात्मकता रक र पपमा रूपान्तरित भएको छ । आजभोलि हाइभोल्टेजका साउन्ड सिस्टम लगाएर खेलिन्छ देउसी । प्रविधिले देउसीको मौलिकतालाई खर्लप्पै निलेको छ । संस्कृतिकर्मी कृष्णकुमार गुरुङलाई पनि आजभोलिको देउसीभैलोमा कुनै दिलचस्पी छैन । उनको नजरमा मौलिक पर्वहरूमा देखिएको सांस्कृतिक विचलनबाट तिहार पनि अछुतो छैन । विदेशी संस्कृतिले अतिक्रमण भइरहेको बेला तिहारको विशेषता झल्काउँदै खेलिने देउसीभैलो अनि त्यसबाट उठेको रकमले समाज निर्माणमा सघाउ पुर्‍याउने अग्रजहरूको चलन पछ्याउनेहरू भेटिनै छाडेका छन् । ‘देउसी र भैलोमा सुनिने सुमधुर स्वरहरू डिस्को, पप र र्‍यापमा गुन्जिन थालेका छन्’, संस्कृतिकर्मी कृष्णकुमार गुरुङ भन्छन्, ‘मादल, खैजडी र मुर्चुंगाको लयमा बज्ने तिहारका गीतहरू आजभोलि गितार, पियानो र अरू पश्चिमा धुनहरूमा बदलिएका छन् ।’

साथीभाइसँग मिलेर देउसी खेल्न रुचाउने युवायुवतीहरू पनि आजभोलि घट्दैछन् । उनीहरू देउसीभैलो खेलेर रमाइलो गर्नुको साटो, इमेल इन्टरनेटमा झुमिन्छन् । देउसी हेर्न मन लागे टिभी खोल्छन् । राबजारमा अर्जुन अधिकारीले तीन वर्ष भयो देउसी खेल्न छाडेको । ‘पहिलाजस्तो साथीहरू पनि छैनन्। खासै रमाइलो पनि हुँदैन’ उनी भन्छन्,‘पहिले छाति खुला गरेर दान दिन्थे । अहिले त देउसी खेलेको रकमले पिक्निक जान्छन्, त्यसैले दान दक्षिाण पनि खासै दिँदैनन् ।’

हुन पनि पछिल्लो समय देउसी– भैलो माग्ने पर्व जस्तै भएको छ । तथानामका समूह बनाएर देउसी खेल्न आउँछन् । तीनले संकलन गरेको रकम सामाजिक काममा भन्दा रंगरमाइलोकै लागि खर्चिनन् । यस्तै समूहको बिगबगी भएकाले घर मालिक पनि पैसाकै लागि भनेर देउसी खेल्न आएका भन्दै गनगन गर्छन्। भैलो र देउसी खेलेबापत आत्माले स्वीकार गरेर दिइने हाँसीखुसी दक्षिणा आजभोलि हाकीहाकी माग्न थालिएको छ। अझ मोटो रकमको माग गर्दै विभिन्न राजनीतिक पार्टी तथा संघसंस्थाले समेत तिहार आउन हप्ता, दस दिन अगाडि चिठी पठाउने प्रवृत्तिले तिहारको सांस्कृतिक महत्वलाई खत्तम पारिदिएको छ । ‘देउसी–भैलोमा आशिष दिएर गक्ष अनुसार दिएको दान लिनुपर्छ,’ हिमाली साँस्कृति परिवारका अध्यक्ष मेनकाजी गुरुङ भन्छन्,‘अहिलेका युवायुवती देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ।’

देउसीकै कारण रमाइलो बन्ने तिहार पछिल्लो समय खल्लो बनेको छ । आधुनिकताको नाममा देउसीका भाका र खेल्ने तरिका फूरै बदलिएका छन् । कतिपय देउसी समूहले गर्ने उच्छृंखलताले देउसीलाई नकरात्मक रूपमा हेर्नेहरू पनि बढेका छन् । शहरमा जति देउसीको रौनक हुँछ, त्योभन्दा कयौं गुणा बढी गाउँमा हुन्छ । वारि देखी पारि अनि एक दुई दिन लाग्ने ठाउँसम्म गएर देउसी खेल्ने समूह बाक्लै पाइन्छ । यसलाई नेपालमा माओवादीले सुरु गरेका १० वर्षे युद्धले प्रभावित बनायो । राति अबेरसम्म गाउ“–गाउ“ डुलेर खेलिने देउसीको चलन विस्तारै कम हु“दै गयो । अहिले त उल्टै गृह प्रशासनले नै बन्देज लगाउन थालेको छ । गृहको आदेशमा स्थानीय प्रशासनले राती १० बजेसम्म मात्रै देउसी खेल्न पाइने उर्दी जारी गरेको छ । गृहले यस्तो समय सीमाभित्र मात्र देउसी खेल्न पाइने उर्दी जारी गर्न थालेको पनि निकै वर्È भइसक्यो । उति बेला सुरक्षाका कारण यस्तो उर्दी जारी गरिने भए पनि त्यसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । पोखरामा पनि जिल्ला प्रकाशन कार्यालयले १० बजेसम्म मात्रै देउसी खेल्न पाउने सूचना जारी गरेको छ । प्रशासनले जे जसो भने पनि फूलबारीका युवाहरू टेर्नेवाला छैनन् ।

समाजशास्त्री डा. रामचन्द्र बराल देउसी–भैलोमा आएको परिवर्तनलाई स्वभाविक ठान्छन् । समयचक्रसँगै हरेक सँस्कार सँस्कृतिमा परिवर्तन हुँदै जानु सामाजिक प्रबृति हो । ‘संस्कृति सधैंभरि एउटै प्रकृतिको रहि रहँदैन । समयअनुसार परिवर्तन भइरहन्छ’ डा. बराल भन्छन्,‘पहिले यसरी देउसी खेलिन्थ्यो, अहिले यसरी खेलियो भन्नु गलत हो । समयचक्र अनुसार संस्कृति परिष्कार र परिमार्जन हुँदै जान्छ।’

 

प्रकाशित: २१ कार्तिक २०७५ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App