१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चरित्रमा गहिराइ खोज्दै कलाकार

काठमाडौं - महिलाको कपाल उसको सबैभन्दा ठूलो गहना हो। अझ कलाकारका लागि त झनै नभइ नहुने कुरा। त्यसैले त फिल्ममा हेयर स्टाइलिसको रुपमा  काम गर्ने छुट्टै आर्टिस्ट हुन्छन्। तर नम्रता श्रेष्ठले वर्षौंदेखि स्याहारेको कपाल फिल्मका लागि तिलान्जली दिइन्। केही दिनअघि भएको ‘जाइरा’को प्रेसमिटमा नम्रताको छोटो कपाल फोटो पत्रकारको फ्ल्यासको केन्द्रमा प-यो।  फिल्ममा बक्सिङ खेलाडीको रुपमा देखिने नम्रताले चरित्रलाई विश्वसनीय बनाउन कपाल छोट्याउन राजी भएकी थिइन्।

यता नम्रताले त कपाल मात्र छोट्याएकी थिइन्, उता दीपशिखा खड्काले कथाको माग भन्दै पूरै कपाल मिल्काइदिएकी छिन्। दीपशिखाले आफैंले निर्माण गरेको फिल्म ‘प्रेमलिला’का आफ्नो कपाल बलि चढाइन्।

पछिल्लो समय कलाकार कथाको गहिराइमा पुग्न जस्तो पनि त्याग गर्न तयार हुन थालेका छन्। यसले नेपाली फिल्ममा मेकिङको मर्म बुझ्नेहरूको जमात बढ्दै गएको आभास गराउँछ।

‘गाजलु’ रिलिज भएको ठ्याक्कै दुई वर्षपछि अनमोल केसीको ‘कृ’ रिलिज भयो। हरेक वर्ष एउटा फिल्म रिलिज गर्दै आएका अनमोलको यो फिल्म ढिला प्रदर्शनमा आउनमा मुख्य कारण थियो उनको लुक्स। फिल्ममा अनमोललाई लामो कपाल र राम्रो जिउडालमा देखाउन आवश्यक थियो। नक्कली कपाल लगाउने र पोस्टमा बाइसेप्स देखाउने विकल्प अनमोलसँग छँदै थिए तर उनले यसका लागि दर्शकलाई ‘चिट’ गर्न मनासिब ठानेनन्। आफैं कस्सिए। फिल्मका लागि भन्दै डेढ वर्ष लगाएर कपाल लामो बनाए अनि ८ घन्टा जिम धाएर ज्यान बनाए। उनले यसो गर्नुको उद्देश्य थियो, दर्शकलाई पर्दामा जे देखिन्छ त्यो विश्वसनीय लागोस्।

क्लाकारले चरित्रका लागि गर्ने मेहनतको उदाहरण हुन् नम्रता श्रेष्ठ र अनमोल केसी। पहिले जे पनि चलिहाल्छ नि भन्दै सकभर दुःख गर्न नचाहने कलाकार बिस्तारै चरित्रमा ढल्न दिलो ज्यानले लाग्न थालेका छन् । चरित्रमा विविधता देखाउन कसैले कपाल काट्ने गरेका छन् त कसैले पाल्ने।

केही दिनअघि घोषणा भएको फिल्म ‘रोजी’को औपचारिक घोषणा कार्यक्रममा प्रदीप खड्कालाई लामो कपाल र झ्याप्प दाह्रीवाला लुक्समा सार्वजनिक गरियो। कैदीको भूमिकामा देखिन लागेका प्रदीपले चरित्रमा रहन बाँकी समय पनि सोही गेटअप धारण गर्ने गरेका छन्। चर्चा अनुसार सत्यकथामा आधारित फिल्मको चरित्रलाई विश्वनीय बनाउन प्रदीपले जेलमै गई त्यस्ता अपराधीसँग धेरै दिन बिताएका छन्।

एक समय थियो निर्माता÷निर्देशक हुन् वा कलाकार फिल्म खेल्नुलाई अर्काको काम ठान्थे। अर्थात् चरित्र जेसुकै होस् उस्तै गेटअप र लुक्समा देखिने। राजेश हमाल यस्तो प्रचलनको प्रतीक मानिन्थे। हमाल फिल्म भित्र आर्मीको भूमिकामा हुन् वा प्रहरीको भूमिकामा, उनलाई छोटो कपालमा देख्न मुस्किल पथ्र्यो। हमालदेखि निर्माता/निर्देशकसम्मलाई पनि फिल्मको ब्यापारको ग्यारेन्टी उनको कपालले गर्ने अगाध विश्वास थियो । त्यसैले उनले ‘द युगदेखि युगसम्म’का लागि कपाल काट्दा ठूलो समाचार बनेको थियो। पछि हमालले आमाको देहवसानपछि मुडुलै कपालमा पनि केही फिल्म खेले र ती पनि सफल नै मानिएका थिए।

निर्माता/निर्देशक आकाश अधिकारीले कलाकारले चरित्र विश्वसनीय बनाउन गरेको मेहनत नेपालमा फिल्ममेकिङमा आइरहेको परिवर्तनको रुपमा अथ्र्याए। उनले भने, ‘फिल्म निर्माणमा प्रतिस्पर्धा बढेको छ। हिजोका दिनमा जस्तो दर्शकलाई सजिलै झुक्याउन सकिन्छ भन्ने भ्रमबाट निर्देशक/कलाकार दुवै मुक्त हुँदै गएको प्रमाण हो यो। यसले फिल्मलाई अथेन्टिक बनाउन र कलाकारलाई पनि फरक काम गरेको महसुस गराउँछ।’

नेपाली फिल्ममा चरित्रलाई दुरुस्त उतारेर फिल्मलाई सफलताको उचाईमा पु-याउने जस सौगात मल्ललाई जान्छ। मल्ल ठकुरी सौगातले फिल्म ‘लुट’मा नेवारी चरित्रलाई हुलियाले मात्र दुरुस्त बनाएनन्, लवज पनि उस्तै बनाए । फिल्मको सफलताको पछाडि धेरैले सौगातको यो मेहनतको हात भएको बताउने गरेका छन्। त्यसयता पनि सौगातले थरि थरिका चरित्र छान्ने र सोही अनुसारको हुलिया र लवज बनाउने गरेका छन्। उनका पछिल्ला फिल्म बित्पात सफल त छैनन् तर उनको मेहनतको भने सबैले तारिफ गर्ने गरेका छन्।

सौगातझैं फरक चरित्र र चरित्रलाई विश्वसनीय बनाउन गहिराईमा जानेमा बिपिन कार्की पनि अग्रपंक्तिमा पर्छन्। ‘छड्के’मा ‘बिन्दु’ बनेदेखि पछिल्लो रिलिज ‘हरि’मा चार भिन्न भूमिकामा देखिने बिपिन चरित्रलाई विश्वसनीय बनाउन हदैसम्मको मेहनत गर्ने अभिनेतामा पर्छन्। उनको यही मेहनतका कारण ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ होस् वा ‘जात्रा’को फणिन्द्र दर्शकका प्रिय छन्।

नेपाली फिल्ममा सुरु भएको यो ट्रेन्ड व्यापक हुनुपर्ने विचार बिपिनको छ। ‘चरित्रमा छिर्ने आ–आफ्नो तरिका हुन्छ । संयोगवश मैले अहिलेसम्म हरेक फिल्ममा फरक फरक चरित्रलाई जीउने मौका पाएको छु। निर्देशकले यस्तो चरित्रलाई चाहिँदो मात्र उपभोग गरेमा फिल्म रोचक बनाउन मद्दत गर्छ,’ कार्कीले भने, ‘हरेक मान्छे एक अर्काभन्दा भिन्न हुन्छ । पर्दामा पनि यो सत्य देखाउन सकियो भने फिल्म रमाइलो हुन्छ । यसका लागि कलाकारले प्रयास गर्नु निश्चय नै राम्रो कुरा हो।’

ऋभिनेत्री दीपशिखा खड्काले कथामा मुडुलो हुनुपर्ने भएपछि विग लगाउनुको साटो कपालै मिल्काउने निर्णय गरेको बताइन्। ‘कथालाई जीवन्त बनाउन म मुडुलो बन्नुपर्ने थियो। नक्कली काम गरेर रिस्क लिन मन लागेन,’उनले नागरिकसँगको कुराकानीमा भनिन्, ‘तर कपाल काट्दा भने मन थाम्न सकिँन। दुई तीन दिन घरबाट निस्कन पनि सकिँन। लामो समयपछि मुडुलो लुकमा आफूलाई व्यस्त बनाएँ।’ दीपशिखाले आफूले गरेको मेहनत दर्शकको नजरमा जँच्ने विश्वास छ। एक गीत र केही दृश्यको सुटिङ बाँकी रहेको फिल्म मंसिरतिर रिलिज गर्ने उनको तयारी छ।

भाषा हटाइदिने हो भने नेपाली फिल्म, नेपाली हैन बलिउडको लाग्ने धेरैको गुनासो छ। तर पछिल्लो समय कलाकारको चरित्र जिउने हिम्मतले नेपाली फिल्मको प्रस्तुतिमा पनि व्यापक परिवर्तन आउन थालेको छ। चरित्रमा मेहनत गरेकै कारण मात्र फिल्मले सफलता पाउने कुनै ग्यारेन्टी त हुन्न तर यही कारण कलाकार र मेकरले दर्शकको मनमा छाप छाड्छन् अहिलेका लागि यति मात्र पनि सानो उपलब्धी होइन।

प्रकाशित: २९ जेष्ठ २०७५ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App