६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

राष्ट्रिका साहित्य प्रतिष्ठानले मनायाे असार पन्ध्र ‘उर्वरा उत्सव’

राष्ट्रिका साहित्य प्रतिष्ठानले काव्य वाचन तथा दहीचिउरा खाएर उर्वरा उत्सव असार १५ मनाएको छ। वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए।

जोशीले कर्णाली प्रदेश र सुदुरपश्चिमको लोक संस्कृतिको चर्चा गर्दै देउडाहरू पनि सुनाएका थिए। उनले राष्ट्रिकाले  सुदुरपश्चिमसँग सहकार्य गरेर साँस्कृतिक भ्रमण गर्न सुझाएका थिए।

अर्का वक्ता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'ले भने, "आज कविता सुनेपछि खेतमा गएको अनुभूति भयो। असार १५ को कविता बाउसे, रोपार र खेत,आली र हिलो मात्र होइन। आम किसानका समस्या पनि हो। नेपालले बर्सेननि ४० अरबको धान आयात गर्छ, यो विषयलाई कविले उठान गर्नु आवश्यक छ। हामी लेखक कविले विकृति र विसंगतिविरुद्ध आफ्नो कलम चलाउनुपर्छ।"

साझा प्रकाशनका अध्यक्ष शेखर गिरी, लेखक तथा सञ्चारकर्मी राजेश खनाल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, नेपाल लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, उपन्यासकार समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले असार पन्ध्रको महत्त्व र सान्दर्भिकताको चर्चा गरे।

कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले असार पन्ध्रको सबैलाई चटारो भएजस्तै कविहरूलाई पनि आफ्नो भावना रोप्न हतार भएको बताए। उनले प्रतिष्ठानका गतिविधि र प्रकाशनको पनि जानकारी दिए।

यसअघि भएको काव्य वाचनमा श्रीबाबु कार्की, मनोजादित्य न्यौपाने, गोकुल अधिकारी, देवेन्द्र केसी, एलिसा ढुंगाना, सुष्मा आचार्य, त्रिभुवनचन्द्र वाग्ले, डा. शान्तिमाया गिरी, रचना खनाल जोशी, डा.सिर्जना शर्मा, मुकुन्द पौडेल, निर्मलरमण पराजुली, सुमन वर्षा, प्रदीप सापकोटा, माधव विडारी, शेखर गिरी लगायतका कविले असारको विषयकाे कविता वाचन गरेका थिए।

कार्यक्रममा सहभागीहरूले असार पन्ध्रको दहीचिउरा खाएर संस्कृतिलाई निरन्तरता दिएका थिए।

प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन कवि, सञ्चारकर्मी एवं प्रतिष्ठानका महासचिव मधु पाठकले गरेका थिए।  

प्रकाशित: १६ असार २०८२ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App