२६ असार २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

नारी संवेदनाकाे उच्छवास

पुस्तक

हरेक जीवन कथा नै हुन्, मर्म बोकेका कथानकहरू। कथा नै हुन्, जसले बाँचेजस्तो जिन्दगीलाई ऐना देखाउँछन्। ती भोगाइ कुनै भित्र भित्र पाक्छन्, कुनै साहित्यका रूपमा लेखिन्छन्। कथा बनिरहन्छन् विभेदमा, पिसिँदा पिसिँदा मैले सकिनँ भनेर गर्ने विद्रोहमा, आमा, पत्नी, छोरी वा नारी हुनुमा, विभेद, विसङ्‌गति, विकृति बढिरहनुमा। यस्तैयस्तै तथापि मूल नारी संवेदनाका उच्छवासहरूलाई कथामा रूपान्तरण गरी इमानदारीपूर्वक कलम चलाएका कथाहरू लिएर आएकी छिन् उषा शेरचन ‘बेग्लै म’ कथासङ्ग्रहमार्फत।

संस्कार, विभेद, पुरातन सोचलगायत समाजका ज्वलन्त मुद्दाहरूसँग भिडिरहेका पात्रहरूको कथानकले ऊसँग, उनीसँग, तिनीहरूसँग, हामीसँग, आफ्नै पीडा र परिवेशसँग बोलिरहेका घटनालाई बोकेर आएका यी कथा आफ्नै कथा लाग्छन्। पाठक स्वयं आफूलाई त्यही कथाको पात्र अनुभूत गर्छन्। शेरचनको कथा लेखनको यो विशिष्ट पक्ष हो।

‘बेग्लै म’ कथासङ्ग्रहमा छोटालामा २१ कथा छन्। ‘कारको चाबी’बाट खोलिएको यो कथासङ्ग्रह श्रीमान्ले लगाएको नराम्रो बानी नछोड्ने अडानमा रहेकी श्रीमतीको विद्रोहको आवाज छ। श्रीमान–श्रीमती अरूसँगै साटिएर रमाइलो गर्ने विकृत संस्कारको दर्पण हो यो कथा। ‘सुरक्षा’ कथामा समय वा भाग्यले एकल बनाइएका छोरीबुहारीहरू ‘एक्लै हुनु भनेको सबैका लागि उपलब्ध हुनु हो’ भन्ने दरिद्र मानसिकताको चिरफार गरिएको छ। एक्लै हुनु भनेको समाज, सपना, रहर र आवश्यकताबाट भाग्नु होइन भन्ने कुरा एकल बुहारीका माध्यमबाट देखाइएको छ।

‘पारपाचुके’ कथामा मानिसका अलग स्वभाव र विचार हुन्छन्, बाआमाको सम्बन्धमा खटपट आउनु छोराछोरीलाई नराम्रो असर पार्नु हो भन्ने मूल सन्देश छ। ‘कस्तो हुन्थ्यो होला’ कथा अमेरिकी परिवेशमा बाँचिरहेका पात्रको मनोदशाको वर्णन हो। अमेरिकी परिवेशको दिनचर्या, स्थानीय अवस्था, सोचाइ र अमेरिकी जीवन शैलीको चित्रात्मक व्याख्या यसमा छ।

‘लड्डु’ कथामा एकोहोरो र एक्लो दिनचर्याबिच गुज्रिरहेका विवाहित र अविवाहित महिलाहरूको संवाद छ। विदेशमा आधुनिक बनेर देखाउने तर जातभात, उचनिचको भावना, पितृसत्तात्मक सोच, पुरुषमहिलामा विभेदको कथानक यसमा छ।

‘फ्ल्याट नं. ८’ मा बेरोजगारी युवाको कथानक छ। यस कथामा यौनकर्मी पुरुष पात्र छन्। बेरोजगारी, अभाव र आवश्यकताले ती युवालाई यौनकर्मी बन्नुपर्ने बाध्यता देखाइएको छ। समाजको नकारात्मक तर यथार्थपरक कथा हो यो।

समीक्षक रञ्जना निराैला

‘प्रेम हो यो ऐयासी होइन’ कथामा पुरुषले मनलाग्दी गर्न पाउने तर महिलालाई छुट नहुने सामाजिक सन्दर्भ देखाइएको छ। प्रेममा नपरुन्जेल मरिहत्ते गर्ने प्रेमीले वास्ता गर्न छोडेपछि प्रेमीकै बुबासँग केटीको विवाह गर्ने कुराको कथानक आएको छ।

‘खेलौना’ कथामा यौन जैविक आवश्यकता हो, यसको आवश्यकता महिलालाई पनि हुन्छ। यसको पूर्तिका लागि बन्ने साधन महिलाका लागि पनि हुन् भन्दै कथाकारले दाजुभाउजू पात्रका माध्यमबाट महिलालाई खुलेर आउन आग्रह गरेकी छन्।

 ‘अधिवास’ कथा जीवन धान्न ग्राहक खोजिरहेकी युवती र समाज रूपान्तरणमा लागिपरेका युवाहरूको सहयोगको प्रस्तुति हो। धोकेबाज श्रीमान्की पीडित श्रीमतीको व्यथा ‘तीजको दिन’ कथामा छ। यस कथामा ब्राह्मणकी छोरी भएर पनि तीजको व्रतमा मासु–रक्सी खाएर रमाउने पात्रले आफूले पाएको धोकाप्रति विद्रोह गरेकी छन्। एक प्रहरीद्वारा बलात्कृत युवती आमा बनेपछि आफ्नोजस्तो पीडा छोरीले भोग्न नपरोस् भन्दै नवजात छोरीलाई मारेको कथा हो– ‘दोष कसको?’

‘एउटा बेग्लै उडान’मा आजको डिजिटल एक्काइसौं शताब्दीका महिला अहिले पनि श्रीमान्को आयु बढाउन व्रत बस्ने, चोखोनितो खाने तर आफैं पीडित र विभेदमा पिसिएको कुरा थाहा नपाउने कथानक छ। सामाजिक व्यवस्थाप्रति खलल पुर्‍याउनेप्रति व्यङ्ग्य प्रहार गरिएको कथा हो ‘दोषारोपण’। आफूले गरेका व्यभिचारलाई सार्वजनिक गरेर खुला किताब र स्पष्ट वक्ता हुन रुचाउने पुरुषले आफ्नै श्रीमतीले विवाहअघि म पनि बलात्कृत भएकी थिएँ भन्दा पत्याउन नसकेर छटपटाएको अहम्युक्त पुरुषत्वलाई यस कथाले देखाएको छ। पात्रले भनिरहन्छ– ‘स्वास्नी मान्छे र लोग्ने मान्छे फरकफरक हुन्। पुरुष भनेको पुरुष हो।’

पुरुषत्वमा गर्व गर्ने तर नारी पतिव्रता चाहिँ रहने पुरुषहरूको प्रतिनिधि कथा हो यो।

सङ्ग्रहको प्रतिनिधि कथा हो। फरक यौनिकता भएका व्यक्तिको पक्षमा रहेको कथा ‘बेग्लै म’ले समाजलाई सकारात्मक हुन आग्रह गर्छ। फरक यौनिकता हुनु अपराध होइन, यसलाई परिवार र समाजले स्विकारेर जीवन सहज बनाउनुपर्छ भन्ने सन्देश कथाले दिन्छ।

विकृति–विसङ्गति र लैंगिक हिंसालाई कलात्मक रूपमा देखाउनु तथा मान्छेको पतनोन्मुख चरित्र र दुष्प्रवृत्तिको उजागर गर्नु कथासङ्ग्रहको अन्तर्वस्तु हो। अधिकांश कथा सहरी परिवेशका छन् भने केहीमा अमेरिकी र नेपाली ग्रामीण परिवेश पनि पाइन्छ।

स्थानीयको लवाइखुवाइ, चालचलनलाई कलात्मक तवरले संयोजन गरेर कथाहरूलाई सुन्दर बनाइएको छ। प्रमुख, सहायक, गौण, अनुकूल, प्रतिकूल, गतिशील, गतिहीन, वर्गगत र व्यक्तिगतलगायतका पात्रको वर्गीकरण गरी चरित्रचित्रणलाई तार्किक पुष्टि गरिएको छ। आन्तरिक र बाह्य द्वन्द्वका कारण कथा ओजिला बनेका छन्।

‘बेग्लै म’ कथासङ्ग्रह उषा शेरचनको नारी संवेदना प्रस्तुुत गर्ने प्रतिनिधि कथासङ्ग्रह हो। पाठकलाई पात्रस्वयंको अनुभूति गराउन सक्नु शेरचनको कथालेखनको वैशिष्ट्य हो ।  

प्रकाशित: ७ असार २०८२ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App