३० असार २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

निद्रा तोड्ने लामखुट्टे, सपना तोड्ने नेता

फरक दृष्टि

अहिले लामखुट्टे र राजनीतिक भाषणको मौसम चलिरहेको छ। गर्मी याममा लामखुट्टेको प्रकोप हुन्छ। यही बेला नेपालका सात सय ६१ (एक संघ, सात प्रदेश र सात सय ५३ स्थानीय तह) वटा सरकारले बजेट ल्याउने र बजेटका बेला चल्ने बर्खे अधिवेशनमा नेताका लागि भाषणै भाषणको योग जुर्छ। अहिले नेताका भाषण जनताका लागि प्रिय लाग्दैनन्, बरु ती पनि एक प्रकारका प्रकोप नै लाग्छन्।

यो समयमा लामखुट्टेको प्रकोपसँगै ‘राजनीतिक भाषणको प्रकोप’ चलिरहेको छ। रातभर भुनभुन गरेर लामखुट्टेले निद्रा बिगार्छन्, दिनभर ‘विकासको अविश्वासिला सपना’ देखाएर नेताका भाषणले भरोसा बिगारिरहेका छन्।

लामखुट्टे सानो प्राणी हो, जो न सहजै देखिन्छ, न समातिन्छ। घनचक्करझैं रनभुल्लमा पारेर टोक्छ, चुस्छ, अनि उड्छ। त्यसको असर भने बाँचिरहन्छ– शरीर चिलाउने, खटिरा आउने क्षणिक असर हुन्। जो अनिन्द्राका लागि तात्कालिक कारण बन्छन्। लामखुट्टेको टोकाइले दीर्घकालीन समस्या पनि सिर्जना गर्छन्। औलो, कालाजार, डेंगीजस्ता कैयौं रोग पनि मान्छेमा निम्त्याउँछन्।

हाम्रा नेताका लक्षण र असर पनि कुनै लामखुट्टेभन्दा कम छैनन्। नेताहरू चुनावअघि आशाका ललिपप बाँड्छन्, सपना बेच्छन्। सत्ता पाउनेबित्तिकै सत्ताको भुलभुलैयामा हराउँछन्। जनतामा बाँडिएका सपना छाडेर व्यक्तिगत सपनाका लाभमा फस्छन्। चुनावपछि पनि गरिने भाषणमा सपनाको व्यापार चलिरहन्छ।

लामखुट्टे र नेतामा फरक यत्ति छ– लामखुट्टेले निद्रा बिगार्छ, बिमार निम्त्याउँदा केही दिन बिगार्छ, कहिलेकाहीं ज्यान बिगार्छ। नेताले समाज र देशको युग नै बिगार्न सक्छन्।

रातको सन्नाटामा लामखुट्टे कानमै भनभनी गर्छ। निद्रा भङ्ग हुन्छ। सुत्न नसकेको थकाइ बिहानभरि झल्किन्छ। नेताहरू उज्यालो दिनमा देश बनाउने सपना बाँड्दै योजना ल्याउँछन्। तर परिणाम, जनताले न निद्रा पाउँछन्, न सपना।

लामखुट्टे निवारणका जतिसुकै विकल्प र प्रविधि विकास हुँदै गएपछि लामखुट्टेले भने त्यसलाई प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्दै लगेको छ। जस्तो लामखुट्टे क्वायल बाल्छन्, स्प्रे छर्कन्छन्, झुल लगाउँछन्। तर लामखुट्टे हराउँदैन। नेताको हालत पनि उस्तै छ। भोट हाल्दा पार्टी बदलिन्छ, सरकार फेरेर हेरिन्छ, नयाँ अनुहार आउँछन्। तर आवाज र सपना फेरिए पनि  स्वभाव फेरिँदैन।

लामखुट्टेको इतिहास र तथ्य

लामखुट्टे करिब १० करोड वर्षअघिदेखि पृथ्वीमा रहेको वैज्ञानिकहरूले जनाएका छन्। क्रिटेसियस युग अर्थात् डायनोसरको युगमै लामखुट्टे पृथ्वीमा थिए। फोसिलको अध्ययनअनुसार त्यो बेला लामखुट्टेले डायनोसरको रगत चुस्ने गरेको सम्भावना फेला पारेका छन्।

अहिले लामखुट्टे अन्टार्कटिकाबाहेक विश्वका सबै महाद्वीपमा पाइन्छन्। विश्वभर करिब ३५ सयभन्दा बढी लामखुट्टेका प्रजाति पाइन्छन्। तीमध्ये करिब एक सय प्रजातिका लामखुट्टेले मात्र मान्छेलाई टोक्छन्। नेपालमा करिब ४० प्रजाति लामखुट्टे फेला परेका छन्।

मानव इतिहासमा लामखुट्टे केवल रात्रिकालीन निन्द्रामा झन्झटको कारण मात्र होइन, महामारी फैलाउने ज्यानमारासम्म बनेको छ। प्राचीन इजिप्टमा देखिएको मलेरिया हाल विश्वभर फैलिएको छ। जुन लामखुट्टेकै टोकाइबाट सर्छ। वैज्ञानिक प्रमाण अनुसार मलेरिया हजारौं वर्षदेखि मानिसमा छ।

हालको विश्व स्वास्थ्य संगठनअनुमान अनुसार हरेक वर्ष ४० करोडभन्दा बढी मलेरियाका बिरामी देखिन्छन्। यस्तै डेंगी, चिकन गुनिया, जापानिज इन्सेफ्लाइटिस, जिका भाइरसजस्ता रोग पनि लामखुट्टेबाटै सर्छन्।

जनश्रुति र मिथक

विभिन्न संस्कृतिमा लामखुट्टेसम्बन्धी रोचक मान्यता छन्। अफ्रिकी लोककथामा लामखुट्टेलाई ‘सन्देशवाहक’ भनिन्छ। जसले मृत्यु र जीवनको सन्देश दिन्छ। फिलिपिन्समा लामखुट्टेलाई मृतात्मा वा पापी आत्माको रूपमा लिइन्छ। दक्षिण एसियामा लामखुट्टे ‘असुर’ वा पापको प्रतीकका रूपमा चित्रण गरिन्छ, जुन अशान्तिको सूचक पनि मानिन्छ।

लामखुट्टेमा पनि केवल पोथी लामखुट्टेले मात्रै रगत चुस्छ। त्यो पनि अण्डा उत्पादनका लागि प्रोटिन चाहिएकाले। अन्य अवस्थामा भाले र पोथी दुवै लामखुट्टे फूल र बोटविरुवाको रस चुस्छन्।

लामखुट्टेले निन्द्रा बिगार्छन्, नेताले सपना

रातको सन्नाटामा सारा थकाइ मेटाउन मानिस सुस्ताउने प्रयासमा हुन्छ। त्यही बेला कानमै घन्किन्छ लामखुट्टेको ध्वनि प्रदूषण। लामखुट्टेले न सुत्न दिन्छ, न शान्ति। ठिक त्यसरी नै नेताका व्यवहारबाट आमनेपाली आजित छन्। यसर्थ भन्न सकिन्छ– लामखुट्टेले रात बिगार्छन्, नेताले भविष्यका सपना।

सपना मानिसको भविष्यप्रतिको आशा हो। नेपालजस्ता विकासोन्मुख देशमा सपना भनेको राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, समृद्धि, सुशासन हो। तर नेताहरू ती सपना बेचेर कुर्सीमा पुग्छन्। ‘स्वदेशमै रोजगारी’, ‘भ्रष्टाचार अन्त्य’ सुशासन जस्ता आदर्श कुरा गर्छन्। तर कुर्सीमा पुग्नासाथ ती कुरा कागजी घोषणा मात्र बन्छन्। सपना त देखाइन्छ तर कार्यान्वयन हुँदैन। त्यसले जनता निराश हुन्छन्, आगामी पुस्तामा विश्वासको संकट आउँछ।

राम्रा नेता र लामखुट्टे पनि छन्

माथि भनिएजस्तै सबै नेता खराब हुँदैनन्, जस्तो सबै लामखुट्टे पनि खराब छैनन्। केही लामखुट्टे पनि छन्, जसले मानव जीवनको कल्याणमा योगदान दिएका छन्। जापान, बेलायत र अमेरिकाजस्ता देशका प्रयोगशालामा ती लामखुट्टेको प्रयोग गरेर वैज्ञानिकहरूले ‘बायोलोजिकल सोल्युसन’का काम गरिरहेका छन्। विज्ञानले प्रयोग गरिरहेको लामखुट्टेलाई यसरी बुझ्ने हो भने लामखुट्टेप्रति पनि सधैं क्रोध होइन, कहिलेकाहीं कृतज्ञता पनि जाग्न सक्छ।

यसैगरी सबै नेतालाई सधैं गाली गरेर मात्र देश बन्दैन। बरु कसले कसरी बिगार्‍यो? कति बिगार्‍यो? त्यसको समीक्षा र दोषअनुसार दण्डसजाय र राम्रो गर्नेलाई सम्मान तथा पुरस्कृत गर्ने सामर्थ्य पनि नागरिकमा विकास हुनुपर्छ। त्यसैले देश चलाउनेहरूलाई हेर्ने नजर वस्तुगत बनाउन सक्नुपर्छ। नेता गन्ने होइन, छनोट गर्ने बानी बसाल्नुपर्छ।

जसरी झुलले लामखुट्टेलाई छेक्छ, त्यसरी नै हामीमा विकसित हुने चेतनाले भ्रष्ट नेता र प्रवृत्ति रोक्न सक्छ।  

प्रकाशित: ७ असार २०८२ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App