सुदूरपश्चिम क्षेत्रका मौलिक कथा, त्यहाँको परिवेश, संस्कृतिलगायतका विषय नेपाली सिने क्षेत्रमा हालसम्म समेट्न नसकिएका विषय हुन्। यसर्थ समग्र सुदूरपश्चिम क्षेत्र नेपाली सिने उद्योगका लागि भर्जिन भूमि हो भन्दा अनर्थ लाग्दैन।
यस पटक त्यही सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रम आयोजना भएको छ। देशका अन्य प्रदेशमा सधैँ जसो हुँदै आएको सिनेमा संवाद सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक आयोजना भएको हो।
चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सले संयुक्त आयोजना गरेर सुदूरपश्चिममा पहिलो पटक सिनेमा संवादको संयोग जुराएका हुन्।
प्रदेशमै पहिलो पटक सिनेमा संवादको आयोजना भएपछि चलचित्रमार्फत स्थानीय कला संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने स्थानीय अभियन्ताले अपेक्षा व्यक्त गरेका छन्।
संवादमा सहभागी स्थानीय वक्ताहरूले सुदूरपश्चिम प्रदेशका कथावस्तु समेटेर र त्यहीको भूगोलमा चलचित्र छायाङ्कन गरेर त्यहाँका सम्भावनालाई प्रवर्द्धन गर्दै सघाउनुपर्नेमा जोड दिएका छन्।
चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकार बिच भएको गहन छलफलमा यिनै विषयमा केन्द्रित रहेर बढी छलफल भएको चलचित्र पत्रकार संघ कैलालीका अध्यक्ष पुष्पराज जोशीले बताए।
‘चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाजको सम्बन्धबारे गहिरो छलफल भयो,’ अध्यक्ष जोशीले भने, ‘कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदूरपश्चिम र यहाँको पर्यटनमा पनि योगदान पु¥याउनुपर्ने भन्नेमा वृहत् छलफल भएको छ।’
संवाद कार्यक्रममै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले यस्ता संवाद र सिनेमाका कथावस्तुहरू अब गाउँ केन्द्रित हुनुपर्ने बताए। सुदूरपश्चिमका गाउँ बस्तीमा निकै मौलिक र मर्मस्पर्शी कथाहरू रहेको बताउँदै पर्यावरणीय हिसाबले पनि निकै सुन्दर रहेकाले यसको उपयोग सिनेमाले गर्नुपर्नेमा उनको जोड थियो।
‘म सिनेमा र कला प्रेमी पनि हो। त्यही भएकाले विगतमा सिनेमा निर्माण कार्यमा गाउँपालिकाबाट सहयोग गर्दै आएको पनि छु,’ उनले भने, ‘आगामी दिनमा पनि सिनेमा प्रवर्द्धन गरी स्थानीय कला संस्कृतिको विकासमा परिआएको सहयोग गर्न तयार छु।’ जोरायल गाउँपालिकामा चर्चित अभिनेता बिराज भट्टको साङ्लो चलचित्र छायाङ्कनमा सहयोग गरेको थियो।
स्टारको जमघटबिच छलफल
सिनेमा संवाद कार्यक्रममा विभिन्न सिने स्टारहरूको उपस्थितिमा गहन छलफल भएको थियो। ‘नेपाली सिनेमा नवीन पुस्ता नवीन दृष्टिकोण’, ‘सिनेमामा सुदूरपश्चिम इतिहास र संस्कृति’, ‘डोटेली भाषा सिनेमा र सङ्गीत’, ‘सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमा’ जस्ता शीर्षकमा बहस चलाइएको थियो।
यस्ता संवादमा नायिका उपासना सिंह ठकुरी, अभिनेता दिव्यदेव पन्त, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, साहित्यकार हेमन्त विवश, चलचित्र निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, गीतकार हर्क साउँद, वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी, र पत्रकार उमिद वागचन्द, कलाकार सरस्वती खड्का, पहिलो डोटेली चलचित्र गौरीका निर्माता खड्गबहादुर मल्ल र थारु चलचित्र नायक प्रेम चौधरी लगायतका वक्ता सहभागी थिए।



प्रकाशित: ४ असार २०८२ १८:५५ बुधबार