श्री विजयलाल श्रेष्ठज्यू टुप्लुकिनु भयो, आफ्नो नयाँ कृति लिएर। २०६२ वैशाख १४ गते बिहान ९ः४५ बजे। सौजन्य थियो विजयजीको महान्। हाम्रो मित्रता राजनीतिक आग्रह–विग्रहमूलक थिएन। लेखकीय, रचना, सम्प्रेषण, संस्कृति, विवेचनाउन्मुख धारणा हाम्रा आधारभूमि। आफैं निजी गाडीमा चालक भाइको सहारामा पदार्पण महान् सौजन्य उहाँको।
छोरा सञ्जीव ग्वंगलले तलबाट लिएर भेटाउनु पुत्र स्नेहादर बन्यो। जेनु बुहारी धौवन्जार ग्वंगःले चिया–सेलरोटीले आतिथ्य गरिन्। सञ्जीव ग्वंगलको सौहार्दले मन्त्रमुग्ध अत्यधिक समय निलेथे। त्यसमै लहसिइरहेँ म। कालान्तरमा कुल संरक्षण उनकै थाप्लोको नाम्लो मानेर। मित्रवर विजयलालजीले २००८ फागुन ७ गते काठमाडौं टुँडिखेल, खरीबोट, नेपाल भाषामा ‘चाक्ला सीमा’को समारोहको प्रसङ्ग जोड्नुभयो।
२००८ सालको जुद्धोदय हाइ स्कुलको विद्यार्थी म। जुद्धोदय स्कुल पुरानो भन्सारको गोदाम घरमा थियो। भन्सार गोदाम घर जुद्ध शमशेरको सालिक ठढिएकै दक्षिण पूर्वदिशामा। वर्तमान नेपाल बैंक, केन्द्रीय भवन भएको ठाउँमा अण्डाकार चौर। हामी त्यहाँ भकुन्डो खेल्थ्यौं। गोरखापत्र छापाखाना जहाँको तहीं। समयानुकूल तला थप्ने, पश्चिमलङ थप्ने आदि हुँदै रह्यो। श्री ३ देवशमशेरको पालामा स्थापित गोरखापत्र छानाखाना। बझाङी राजा जयपृथ्वीबहादुर सिंहको अग्रसरतामा भएको थियो।
राजा जयपृथ्वीबहादुर सिंह चन्द्रशमशेरका जेठा छोरीज्वाइँ। जयपृथ्वीको अर्धकदको सालिकपछि स्थापित भएको नयाँ पुस्ताले झलझल देख्न पाएका छन्। इतिहास, संस्कृति, विकास निर्माणको क्रम निरन्तर चलिरहन्छ। रहोस् नैरन्तर्य मानवीय चेतको क्रम ! चलि नै रहनेछ अनन्त कालपर्यन्त।
जयपृथ्वीबहादुर सिंह बझाङी। बझाङमा सीमित रहेनन्। नेपालका सच्चा नागरिक चेतका मानव हुन्। मात्र नेपालकै, मात्र नेपाली रहे बनेनन्। अपितु विश्व मानवीय विभूति रहेबनेका छन्। मानवतावादी प्रकाण्ड अग्रगण्य पाइला रहेबनेका छन्। मानवतावाद उहाँका अभ्यन्तरीय श्वासप्रश्वास चेत। ‘युमानिज्म’ अंग्रेजी भाषाको ग्रन्थ तयार गर्नु कर्मठ संकल्प रह्यो। पढी–गुनी जानेका श्रद्धेय सरोकारी पाठक–विज्ञमा श्रद्धासुमन अर्पण !
सिकागो, अमेरिकामा सम्पन्न सन् १९३३ को धारावाही प्रवचनहरू थरीथरीका ! अंग्रेजीमा मानवतावादी दर्शनमाथिका धारावाही अभिव्यक्ति नितान्न मर्मस्पर्शी रहेको धारणाका जलसिञ्चन गर्न चाहेँ। राजा जयपृथ्वीबहादुर सिंहका ती प्रवचन श्री मीनबहादुर सिंहज्यूमा सुम्पेको इमानदारीसाथ व्यक्त गर्न चाहेँ। सत् विचार मार्गका प्रसङ्ग उल्लेख गर्नु मानवधर्मको सत्कर्म नै आहा ! ३०र४० वर्षअगाडि शेर्पा होटेलमा उहाँबाटै आयोजित गोष्ठीमा राजा जयपृथ्वीबहादुर सिंहको चित्रषट् उहाँमा सुम्पेको झल्यासिएँ। प्रसङ्गको प्रसङ्ग बनेछ। क्या मज्जा !
बहकिने बानी मेरो। निर्बन्ध निबन्ध निरन्तर लेखनमा अभ्यस्त रहँदाका चालाबाला छचल्किँदो गति। भक्तलाल श्रेष्ठका सन्तान सहिद श्री गंगालाल, पुष्पलाल र हामीमाथि समीक्षात्मक अनुभूति व्यक्त गर्ने आग्रहमा हौसिएर समाएको कलम नागबेली भुजङ्गप्रयात छन्द बन्न पुग्यो ! भुजङ्ग साँप–सर्प ! सर्प सिधा घस्रन्न, नागबेली बान्कीमा घस्रन्छ। त्यसरी घस्रने गतिलाई आत्मसात गरी छन्दविद्हरूले छन्दशास्त्रभित्र भुजङ्गप्रयात नामकरण गरे। शास्त्रीय छन्दमा काव्य रचना गर्दा सिकी जानेको प्रसङ्ग बिछ्याएँ। बिट मार्न चाहेँ यसलाई यहीं नै।
विजयलाल श्रेष्ठजीले पहिलो प्रजातन्त्र दिवस २००८ फागुन ७ को प्रसङ्ग जोड्नुभयो। त्यो उहाँभित्रको अन्तर चेतजन्य आकाङ्क्षा। २००८ सालमा म नौ कक्षाको विद्यार्थी। जुद्धोदय पब्लिक हाई स्कुलमा अध्ययनरत। स्कुल जुद्ध शमशेरको सालिककै छेउ। पुरानो भन्सारको गोदाम घरको टहरामा। टहरा लामो टायलछाना। बिचमा ठुलो कार्य कक्ष। त्यहाँ प्रधानाध्यापक शारदाप्रसाद उपाध्याय र शिक्षक, कर्मचारीहरू बस्थे। त्यसबेला शिक्षिकाहरू थिएनन्। अंगुरबाबा जोशीले काठमाडौंमा पहिलो गल्स कलेज बागबजारमा चलाउनुभएको हो। त्यति कर्मठ, प्रखर वक्ता, चिन्तनशील नारी, नितान्त प्रभावशाली !
पहिलो प्रजातन्त्र दिवश काठमाडौं टुँडिखेलबिचको खरीको बोतमा आयोजित। राणा शासन ढलेपछि श्री ५ त्रिभुवनलाई राष्ट्रपिता नै भन्ने गरिन्थ्यो। ‘अत्यन्त उदार मनस्क राजा ! टिमिक्क लवेढा–सुरुवाल, कोट। पूरै निधार छोपिनेगरी टोपी ढल्काएको शिरपोस ! खरीको बोटको पहिलो पिँढीमै कार्यक्रमको मञ्चन। हरियो रङ्गीन साधारण पट्याउन मिल्ने मेच।
श्री ५ त्रिभुवन त्यसमा विराजमान ! बायाँतिर स्वरगुञ्जन साधन। गान्धीवादी नेता खड्गमान सिंह बस्नेत कार्यक्रम सञ्चालक। जनगायक श्री धर्मराज थापाको स्वागत गान। मन्त्रमुग्ध स्वर संगीतले विशाल जनलहर शान्त–शुभ्र। न टुँडिखेल बेरिएको थियो, न त सडक आजको झैं चौडा नै। त्यत्रो जनलहर मैले देखेकै थिइनँ।
अन्तिम युवावक्ता थिए विजयलाल श्रेष्ठ, पुष्पलालका कान्छा भाइ। अभिव्यक्तिकै क्रममा विजयजी आकोशित हुन थाले, त्यसै लहरमा मुट्ठी कसेर, उत्तेजित भएर– ‘दिल्ली सम्झौता धोका हो। नेपाली जनताले अर्को क्रान्ति गर्नुपर्छ।’ राजाका सामु यसरी नबोल्नुस् ! सम्हाल्नुस् आफूलाई भनेर खड्गमानजीले सतर्क गरेका थिए। जोसिला युवा झन्झन् उत्तेजित हुँदै उफ्रीउफ्री स्वर मच्चाउँदै गए। केही नलागेर बस्नेतजीले झ्याप्प माइक्रोफोन समाउन पुगे।
श्रोता जनताजनार्दन मुट्ठी कस्दै उफ्रन थाले। धर्मराज थापाज्यूलाई पुनः गाउन लगाए। उहाँको सुमधुर गायनको छेउटुप्पो लागेन। विजयजीलाई फेरि बोल्ल लगाइयो। उहाँ पनि सेलाइसक्नुभएछ क्यारे, पहिलेझैं उत्तेजित हुनुभएन। प्रत्यक्ष दर्शनभरिको भोगाइ मेरो यो। आदरणीय पाठकवृन्दमा ससम्मान पुनर्लेखन–अभिनन्दन!
जय देश ! जय जनता ! समृद्ध नेपाल,सुखी नेपाली !
प्रकाशित: ३१ जेष्ठ २०८२ ०९:०२ शनिबार





