१३ पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

गायक घनश्याम खत्रीले ल्याए गीत ‘आमा’

गायक घनश्याम खत्रीले ‘आमा’  गीतमा सुमधुर आवाज दिएका छन्। एउटी आमाको दुःखलाई खुशीमा परिणत गर्ने सन्तानको रहर गीतमा प्रस्तुत गरिएको छ। गीतले हरेक नेपाली युवाको रहरलाई टपक्क टिपेको छ।

तिम्रो पनि मन होला खुशी संसार हेर्न

आमा तिम्रो सक्या छैन फाट्या चोली फेर्न

हे... मेरी आमा!

नरुनु है धर्केर, हाम्रा हाँस्ने दिनहरू आउलान् फर्केर।

मदन ढकालले लेखेको गीतको दोस्राे अंशले एउटी आमाले सन्तानलाई हँसाउन आफूले हाँस्न बिर्सेको प्रसंग जोडिएको छ। आमा सम्बोधित गीतका यो अंशमा पुग्दा मन चसक्क हुन्छ। गीतमा प्रायः सबै नेपाली आमाको यथार्थता छ। गीतमा भनिएको छ,

‘बिहान बेल्का चुल्हो बाल्न मेलापात डुल्यौं

मेरो हाँसो खोज्दै हिंड्यौं आफै हाँस्न भुल्यौ’

हे मेरी आमा!

गीतको तेस्राे अंशमा सन्तानको कर्तव्य प्रस्तुत गरेका छन्। आमाकै खुशी खोज्दै संघर्षको मैदानमा उत्रिने आम छोराको गाथा यसमा जोडिएको छ। आमाप्रतिको कर्तव्यबोध गराउने यो पंक्तिले पनि दर्शकलाई मर्माहत बनाउँछ।

गीतमा भनिएको छ,

तिम्लाई क्यारी खुशी बनाम तिम्रैबारे सोच्दै

संघर्षको मैदानमा छु सफलता खोज्दै 

हे...मेरी आमा!

‘आमा’ गीतमा निराशा र आदर्श मात्र छाटिएको छैन, आशा पनि समेटिएको छ। अँध्यारोपछि अवश्य उज्यालो आउँछ, संघर्षबाट सफलताको मुख देख्न पाइने विश्वास गीतमा छ।

घनश्यामले अर्को अंशमा गाउँछन् ,

आउँछ आमा हाम्रो पालो हाँस्दैहाँस्दै हिन्नी

गोजीभरी पैसा लानी झोलाभरी किन्नी

हे....मेरी आमा!

आमा महान हुन्। सन्तानको खुट्टामा धुलो लाग्ला कि भनेर आफू घण्टै धुलो र मैलोमा हिंड्छन्। आमाको महिमा अपरम्पार छ। भगवानको अर्को रूप आमाको यथार्थ गीतमा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ। त्यही आमाको कर्तव्यको भारी छोड्ने दिन नआउँदा सन्तानको पीडा पनि यही गीतमा व्यक्त हुन्छ।

मेरै लागि खाली गोडा घण्टैसम्म हिनी

पाउमा धुलो लाग्ला भनि ल्याउथ्यौं चप्पल किनी

कहिल्यै पनि छोड्न पाइनौं कर्तव्यको भारी

मेरा रहर पूरा गर्‍यौं, आफ्ना रहर मारी  

हे... मेरी आमा!

गीतको अन्त्यमा

मुख थुन्नु छ गाउँको आमा, ऋण तिर्नु छ साहुका

घर बनाउला एउटा सानो ओत लगाउला टाउको

हे...मेरी आमा!

हुर्काउँदै जाँदा सन्तान आमाको सपनाभन्दा ठूलो सन्तानको अर्को संसार हुँदैन। आमाले भोगेका, आमाले बिताएका विगत सुखमा बदल्ने सपना र साहस एउटा सन्तानले लिनुपर्छ। गीतको चलदृश्यमा गायक घनश्याम खत्री आफैले अभिनय गरेका छन्।

 गीतको चलदृश्यमा आमाका संघर्षका कथाहरू, सन्तानले देखेका सपना र आशाहरू जोड्दै साहुको ऋण तिर्ने, घर बनाउने र ओत लगाउने सपना बोक्दै परदेश लागेको दृश्यले नेपाली युवाको यथार्थ व्यक्त गरेको छ।

अनमोल बस्नेतले संगीत संयोजन गरेको गीतको लय गायक खत्री आफैले सिर्जना गरेका हुन भने मरुभूमि नारायणले खिचेको गीतको चलदृश्यको निर्देशन गीतकार ढकालले गरेका छन्।

स्रष्टा, गायक तथा गीतकार प्रकाश समीरकाे अनुसार गायक खत्रीका दशैं र तिहारमा, छैन सोचेझैं (गुल्मेली हुम कर), नाच बरिलै (तीज गीत) पिपलपाते ओठ, जोडी मजुर लगायतका गीत सार्वजनिक भइसकेका छन् भने जोडी मजुर सर्वाधिक चर्चामा समेत रहेको थियो।

प्रकाशित: १९ जेष्ठ २०८२ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App