३ माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘श्वेत’ पत्रकार ‘श्यामश्वेत’ तस्बिर

२०२५ मे २३ फोटो पत्रकारिताका लागि निकै दुःखद दिन रह्यो। प्राकृतिक संसार र सीमान्तकृत समुदायलाई कैद गर्ने व्यापक ब्ल्याक एन्ड ह्वाइट फोटोग्राफीका लागि परिचित, ब्राजिलियन फोटोग्राफर सेबास्टियाओ साल्गाडोको ८१ वर्षको उमेरमा निधन भयो।

फोटो पत्रकारिताको संसारमा निकै आदर र इज्जतसाथ लिइने नाम हो साल्गाडो। ८१ वर्षीय साल्गाडो विश्वका चर्चित फोटो पत्रकारहरूका प्रेरणाका स्रोत थिए। एक सय २० देश घुमेका फोटो पत्रकार साल्गाडोको निधनमा धेरै फोटो पत्रकारले दुःख व्यक्त गरे र ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्वाले ‘संसार यति असमान छ भन्ने तथ्यप्रति उनको असन्तुष्टि र उत्पीडितहरूको वास्तविकता चित्रण गर्ने उनको जिद्दी प्रतिभाले सधैं सम्पूर्ण मानवताको विवेकलाई जगाउने संकेतका रूपमा काम गरेको छ’ भने।

राष्ट्रपति सिल्वाले थपे, ‘साल्गाडोले मानिसहरूलाई चित्रण गर्न आफ्नो आँखा र क्यामेरा मात्र प्रयोग गरेनन्, उनले आफ्नो आत्मा र हृदयको पूर्णता पनि प्रयोग गरे। यसै कारण उनको काम एकताका लागि ठुलो आवाज बनिरहनेछ र हाम्रो विविधतामा हामी सबै समान छौं भन्ने सम्झना पनि दिलाउनेछ।’

साल्गाडो वर्तमानका महान फोटो पत्रकार मात्र थिएनन्, उनको लेन्सले संसार र यसका विरोधाभासलाई निकै शक्तिशाली रूपमा प्रकट गरेका छन्। उनको निधनमा टाइम्स म्यागजिनका व्यक्ति पुरुष र प्रख्यात फोटो पत्रकार साहिदुल आलमले भनेका छन्, ‘उनको काम कलाभन्दा बढी छ। यो विवेक र करुणाका लागि आह्वान हो। उनको विरासतले हामीलाई सम्झाउँछ कि हरेक कथाको महत्त्व हुन्छ। हामी प्रत्येकको हाम्रो विश्व र एकअर्काको हेरचाह गर्दा गर्नुपर्ने महत्त्वपूर्ण भूमिकामा छौं।’

अर्का भारतीय फोटोग्राफर रघु रायले संसारले एक जादुमय मानिस गुमाएको विचार व्यक्त गरेका छन्। अर्का अमेरिकी फोटोग्राफर लोरी ग्रिन्करले शोक व्यक्त गर्दै फोटोग्राफीमा अपूरणीय क्षति भएको कुरा व्यक्त गरिन्।

नेपाली फोटोग्राफर र फोटो सर्कलका संस्थापक नयनतारा गुरुङ कक्षपतिले पनि शोक व्यक्त गर्दै भनेकी छन्, ‘हामी धेरै नेपाली फोटोग्राफरका लागि पनि प्रेरणाका स्रोत हुन् साल्गाडो।’

 

मेरो व्यक्तिगत फोटो पत्रकारिता यात्रामा पनि साल्गाडोद्वारा खिचिएका तस्बिरले ठुलो मार्गदर्शन गरेका छन्। विश्वप्रसिद्ध फोटो पत्रकार सेबास्टियाओ साल्गाडोप्रति हार्दिक श्रद्धाञ्जली !  

प्रकाशित: १७ जेष्ठ २०८२ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App