१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

नेपालको झन्डासहित स्टल राखेर ‘कान्स फिल्म फेस्टिभल’बाट फर्कियो ‘एक्लो’ टिम

नेपाली चलचित्र 'एक्लो' ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचान नयाँ उचाइमा पुर्‍याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो साइफाइ थ्रिलर चलचित्रले फ्रान्सको कान्स सहरमा आयोजित 'मार्चे दु फिल्म' मा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेको छ।

स्टलमा नेपालको झण्डा समेत राखिएको थियो। कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भए। नेपाली चलचित्रका लागि कान्स फिल्म फेस्टिभलमा एक्लोको यो उपस्थिति उल्लेखनीय छ। कान्समा नेपालमा छायांकन गर्ने उत्कृष्ट गन्तब्यहरुको प्रचार समेत गरिएको थियो। कान्स फिल्म फेस्टिभलमा सहभागिताले अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीको हाइप समेत बढेको छ।

यस वर्षको कान्समा ईरानी निर्देशक जाफर पनाहीको इट वाज जस्ट एन अयाक्सिडेन्टले सर्वश्रेष्ठ फिल्मको अवार्ड जितेको छ। कान्समा टम क्रूज अभिनीत चलचित्र मिसन: इम्पसिबल – द फाइनल राेकिगको वर्ल्ड प्रिमियर सम्पन्न  भयो। कान्समा 'एक्लो' यो प्रचारप्रसारले नेपाली चलचित्र क्षेत्रलाई विश्वभर पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। निर्देशक प्रदीप शाही यस वर्षको कान्स प्रोड्यूसर्स नेटवर्कका लागि पनि चयन भएका छन्, जसले उनलाई विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान समेत दिलाएको छ।

'एक्लो' चलचित्रको कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ, जसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ।

चलचित्रमा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ। बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा भई रहेको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए।

'एक्लो' चलचित्रको सम्पूर्ण छायांकन नेपालको अपर मुस्ताङ र काठमाडौंमा सम्पन्न भएको छ। कृष्ण पौडेल प्रोडक्सन डिजाइनर रहेको सिनेमाको छिट्टै नेपाल र विदेश प्रदर्शन मिति घोषणा गरिने निर्देशक शाहीले बताए।

कान्स फिल्म फेस्टिभल २०२५ मा 'एक्लो' को सहभागिता नेपाली सिनेमाको लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले भविष्यमा नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा छ।

प्रकाशित: १२ जेष्ठ २०८२ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App