चम्किलो ग्रह शुक्रले वर्षालाई प्रेरित गर्छ। सूर्यको प्रकाशले चम्किने यो ग्रह सूर्यसाथ सङ्गम गर्नाले वा अस्त भएर पुनः उदित हुँदा बुद्धिमान जन यस शुक्रको अनेकौं प्रकारले स्तुति गर्छन्। (ऋग्वेद १०/१२३/१) शुक्र ग्रह हेर्दा सुन्दर र आकर्षक भएको कारण वेदहरूमा यसको नाम ‘वेनस’ पनि भनिएको छ। संस्कृत शब्द वेनसको अर्थ हो– सुन्दर। यसै आधारमा ल्याटिन भाषामा यसलाई वेनस भनिएको हो। अतः शरीर, मन, व्यवहार र सुन्दरताको प्रतिनिधि ग्रह शुक्र हो। यो सूर्यको शिशु हो र सूर्यकै काखमा बसेको हुनाले भूमिमा आउने वा पर्ने वर्षाजलको प्रेरक पनि हो। यो वृहस्पतिसमान ज्ञान र सुखको प्रतिनिधि त हो नै, साथमा वासना, कामना, काम, आकाङ्क्षा र चाहनाको पनि द्योतक हो।
शुक्रलाई दैत्यहरूको गुरु एवं मन्त्री पनि मानिन्छ। संहितामा भनिएको छ: भूतं भव्यं भवद्वृृष्टिमवृष्टि भयमग्निजम्। जयाऽजयोरुजं चापि सर्वान् सृजति भार्गवः। अर्थात् भूत–भविष्य फल, वृष्टि, अवृष्टि, भय, अग्निप्रकोप, जय, पराजय, रोग, धन–सम्पत्ति आदि समस्त फलको निर्देशक शुक्र ग्रहलाई मानिन्छ।
चित्रा पक्षीय अयनांशमा आधारित दृग्गणनाका पञ्चाङ्गअनुसार शुक्रग्रह गएको चैत ६ गते बुधबार पश्चिममा अस्त भएर चार दिनपछि चैत १० गते पूर्वमा उदय भएको थियो। हाम्रो चलनका पात्रोहरूमा पनि चैत ६ गते शुक्र अस्त र १० गते उदय भनेर नै उल्लेख गरिएको थियो। यसपटक शुक्र अस्त तथा उदय हुँदा आकाशमण्डलको दक्षिण मार्गको दहन उपमार्गमा पर्ने तथा छैटौं मण्डलमा गणना गरिने मनुष्य गणको नक्षत्र उत्तराभाद्रपदा र मीन राशिमा उदय भएको थियो। उदय हुँदा चैतको नवमी तिथि तथा आइतबार परेको थियो। अस्त हुँदा भने बुधबार परेको थियो।
शुक्र उदयास्त (एकपल्ट उदय भएपछि फेरि अस्त नहुँदासम्मको अवधि)को प्रभावले पृथ्वीमा के कस्तो शुभाशुभ लक्षणहरूको आभास हुनसक्छ भनेर छैटौं शताब्दीका वराह मिहिरको बृहत् संहिता वा वाराही संहिता, नारदीय संहिता, प्राचीन भृगु संहिता, अद्भूत सागर, प्राचीन जैन आचार्यको भद्रबाहु संहिता, मेघमहोदय लगायतका ज्योतिषीय संहिता ग्रन्थहरूमा शुक्र ग्रहको भ्रमण, अस्त, उदय, बक्री, नक्षत्रानुसार गण, राशि, महिना आदिको शुभाशुभ प्रभाव पृथ्वीमा कुन रूपमा कसरी पर्नसक्छ भन्ने विषयमा संस्कृतका सयौं श्लोकमा अति विस्तृतमा चर्चा एवं संकेत गरिएको पाइन्छ।
बृहत् संहितानुसार शुक्र यदि दक्षिणमा पर्ने (मृग, अज, दहन) वीथीहरूमा शुक्रको उदयास्त भयो भने अनिष्ट फल कारक हुने मानिन्छ। अन्न महँगो हुने संकेत पनि गरिएको छ। दक्षिण मार्गको वीथीमा शुक्रको उदयास्त हुँदा रोग, शोक, आर्थिक अपराध, नक्कली मुद्रा, आर्थिक चतुराइँ, विष्फोट, फटाहाको प्रसङ्ग धेरै बढ्छ। साथै कामुकता (बलात्कार) सम्बन्धी अपराध पनि धेरै हुनसक्ने मानिन्छ। शुक्र यसअघि २०७८ पुसमा दक्षिण मार्गमा उदय भएको थियो। अब फेरि यस वर्षको माघमा पनि दक्षिण मार्गकै नक्षत्रमा शुक्र उदय हुनेछ।
बृहत् संहिताको शुक्रचारमा जनाइएको जेष्ठादेखि ५ नक्षत्र पाँचौं र धनिष्ठादेखि ६ नक्षत्र छैटौं मण्डल भनेर स्पष्ट पारिएको छ। यसपटक छैटौं मण्डलको नक्षत्रमा शुक्र उदय भएको देखिन्छ। छैटौं मण्डलमा शुक्र उदय हुनु शुभफलप्रद मानिन्छ। धन, गोधन, अन्न र उद्योग निकै फलिभूत हुन्छन्। तर कुनै कुनै ठाँउमा भने भयको वातावरण रहन्छ।
त्यसैगरी प्राचीन जैन आचार्य भद्रबाहु भन्नुहुन्छ– यदि शुक्र छैटौं मण्डलमा अस्त वा उदय भएमा साधारण भय उत्पन्न गर्छ। वत्स, पाञ्चाल, बाह्नीक, गान्धार, गवोलक, विदर्भ, दशार्ण देशमा निःसन्देह पीडा हुन्छ। अन्नको भाउ महँगो हुन्छ तथा उत्तरार्धका चार महिना वर्षाको पनि कमी हुन्छ। शस्त्र घात र मूच्र्छा यस प्रकारको शुक्रमा हुन्छ। यदि अन्य ग्रह यस छैटौं मण्डलमा स्थित शुक्रको साथ संयोग गरे भने ‘काश्मीरा बर्बराः पौण्ड्रा भृगुकच्छं अनुप्रजाः। पीड्यतेऽवन्तिगाश्चैव म्रियन्ते च नृपास्तथा।’ अर्थात् हिरण्य, औषधी, शौण्डिक, दूत, लेखक, काश्मीर, बर्बर, पौण्ड्र, भडौच, आवन्तिक देश पीडित हुन्छन् र प्रमुख शासकलाई मरणतुल्य कष्ट हुन्छ।
शुक्र उदय हुनासाथ नेपालमा चैत १५ गते तिनकुनेमा भएको राजावादीको आन्दोलनमा दुई जनाको दुःखद मृत्यु, वैशाखमा जम्मुकाश्मीरको पहलगामको अति निन्दनीय मानिने आतङ्ककारी घटनामा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु, त्यसपछि लगातार भारत र पाकिस्तानका सैनिकहरूको मुठभेडको घटना, भारतले पाकिस्तानमा ड्रोन आक्रमण गर्दा पनि दर्जनौंको मृत्यु भएका समाचार आए।
शनि र राहुका साथ छैटौं मण्डलमा भ्रमण गरिरहेको शुक्रको साथ गएको फागुन ४ गते उत्पात कारक र पाकिस्तानको राशि स्वामी पनि मानिएको ग्रह बुधको प्रवेश भएर यो जेठ १ गते त्यो मण्डलबाट बाहिरिएको थियो। बुध छैटौं मण्डलबाट निक्लेपछि भारत र पाकिस्तान पनि शान्त भएको देखिन्छ। २०८१ चैतको मध्यतिर मीन राशिमा चन्द्रमा र सूर्यसहित पाँच ग्रहको युति पनि भएको थियो।
त्यसैगरी कछुवा चक्रानुसार शतभिषा, पूर्वभाद्रपदा र उत्तराभाद्रपदा यी तीन नक्षत्र कूर्म चक्रको उत्तर दिशामा स्थापित गरिन्छ। नेपाल, कीर, काश्मीर, गर्जनी, खुरासाण, मथुरा, म्लेच्छदेश, खर, केदारनाथ, हिमालय यी उत्तरतर्फका प्रदेश हुन्। राहु र शनिको गोचर भ्रमण वर्ष २०८१ देखि २०८२ भरि नै माथि उल्लिखित नक्षत्रहरूमा रहने भएकाले सम्बन्धित ठाँउहरूमा कुनै ठुलो हानिनोक्सानी हुनसक्ने दृष्टिकोणले विशेष सजग रहनु राम्रो मानिन्छ।
योभन्दा अघिल्लो पटक एक महिनामा मीन राशिलाई नाघेको शुक्रले यसपटक बक्री भएका कारण चार महिनाभन्दा बढी एउटै राशि मीनमा भ्रमण गरिरहेको देखिन्छ। गएको २०८१ माघ १५ गतेदेखि २०८२ जेठ १७ गतेसम्म शुक्रको भ्रमण मीन राशिमा र तत्काल रेवती नक्षत्रमा भइरहेको छ। महिनानुसार शुक्रको उदय चैत्र र वैशाखमा भएमा पृथ्वीमा ठुलो युद्ध र धेरै वर्षा हुने मानिन्छ।
‘भूपालयुद्धं नवमी चतुष्के’ अर्थात् नवमी आदि चार तिथिमा शुक्र उदय भएमा राजा अर्थात् प्रमुख शासकहरूमा युद्ध हुन्छ। यसपटक नवमी तिथि परेको थियो। प्राचीन भृगुसंहितानुसार शुक्रको उदय वा अस्त बुधबार हुँदा दुर्भिक्ष र आइतबार हुँदा अधिक हावा चल्ने मानिन्छ। मीन राशिमा शुक्र अस्त भएमा मेघ उदय, रोग विनाश, प्रजालाई सुख र पृथ्वीमा मंगल हुन्छ।
यदि मनुष्य गणको नक्षत्रमा शुक्र अस्त भयो भने रोम देशमा अग्निको भय हुने, कोंकण देशमा भय तथा ललाट र सिन्धु देशमा शून्यता हुन्छ। उत्तर देशमा दुर्भिक्ष, द्रविड देशमा विग्रह, गुर्जर देशमा सुभिक्ष हुन्छ र वनस्पतिहरू फूल एवं फलले शोभायमान रहन्छ। घिउ, तेल, अन्न र पट्टसूत्रको विशेष उत्पति हुन्छ। सबै शासकहरू सुखी रहन्छन्। प्रजा रोगरहित रहन्छन्।
मनुष्य गणको नक्षत्रहरूमा शुक्रोदय भएमा जालन्धरमा दुर्भिक्ष विग्रह र सौराष्ट्रमा विग्रह हुनसक्ने संकेत गर्छ। त्यसैगरी कलिङ देश र स्त्री राज्यमा मध्यम वर्षा (भूपाल आदि) मारवाडमा अन्न घिउ महँगो भएर अनिकालको सामना गर्नुपर्ने हुन्छ। यो अवस्थामा सुन, चाँदी, महँगिने, गाई भैंसीलाई पीडा हुने, कपास आदि पनि महँगो हुने मानिन्छ।
यसअघि गएको २०८१ वैशाख १८ गते देवगणको नक्षत्रमा शुक्र अस्त भएको थियो। जसको प्रभावस्वरूप शासकहरूमा फुट हुने देखिएकोमा त्यतिबेलै नेपालमा सरकार परिवर्तनलगायतका घटना भए। ६ महिनापछि प्रबल जल वर्षा हुने भनिएकोमा चान्द्रमासअनुसार ठिक पाँच महिना पुगेकै दिन नेपालमा भएको असोज १२ गतेको विनाशकारी वर्षाको प्रकोपका कारण ठुलो धनजनको क्षति भयो।
२०८१ वैशाख १६ गते सुनको भाउ एक लाख ३७ हजार चानचुन रहेकोमा ८१ चैतमा एक लाख ७० हजारभन्दा माथि पुग्यो। त्यसैगरी चैतमा चाँदीको भाउ पनि २०८१ वैशाखभन्दा झन्डै दोब्बर नै हुन खोजिरहेको थियो। त्यसैगरी २०८१ मा दिल्लीमा आमआदमी पार्टीको पराजयद्वारा भएको राजपरिवर्तनलगायत घटनाको स्मरण गर्न सकिन्छ।
यस वर्ष २०८२ मंसिर २९ गतेदेखि दक्षिण मार्गमा पर्ने पञ्चम मण्डलमा तथा राक्षस गणमा नक्षत्रमा अस्त भएर माघ १७ गते सोही मार्ग र मण्डलमा शुक्र उदय हुनेछ। राक्षस गणमा शुक्र अस्त भएमा हिन्दु देशहरूमा विग्रह हुने, समुद्री जहाज तथा विमानहरूको विनाश हुनसक्ने लगायतका प्रभावबारे शुक्रको अर्को लेखमा जानकारी गराउनेछु। हाम्रो देशमा २००७ सालदेखि यता घटेका धेरै जसो महत्त्वपूर्ण राजनीतिक परिवर्तनका घटनाको समयमा शुक्रको उदय पञ्चम मण्डलकै नक्षत्रमा भएको देखिन्छ।
२०७८ पुसमा पञ्चम मण्डलकै नक्षत्रमा शुक्र उदय हुँदा ‘यस्तो छ ज्योतिषशास्त्रको संकेत’ लेखमा शुक्रले भ्रमण गर्ने मार्ग र मण्डलको विस्तृत जानकारीसहित हाम्रो देशको राजनीतिक परिवर्तनका घटनाहरूको पनि जानकारी गराएको थिएँ।
यो वर्ष कस्तो रहन सक्छ भनेर वैशाख ६ गते नागरिक दैनिकमा प्रकाशित ‘संवत्सर वर्ष २०८२ र अधिकारी ग्रहका शुभाशुभ सङ्केत’ लेखमा उल्लेख गरिएअनुसार यसवर्ष दुई चन्द्र ग्रहण, विभिन्न समयमा हुने ग्रहहरूको उदयास्त, कछुवा चक्र, जगल्लग्न, संवत्सर प्रवेश लग्न, वृहस्पतिको महावर्ष फल, सबै महिनाको सङ्क्रान्ति फल र विशेषगरी शनि, वृहस्पति, मङ्गललगायत ग्रहहरूको विभिन्न प्रकारको संयोग तथा दृष्टिको पनि विशेष अध्ययन गर्नुपर्ने हुन्छ।
प्रकाशित: १० जेष्ठ २०८२ ११:०५ शनिबार





