नेपाल स्रष्टा समाजले उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो औपन्यासिक कृति ‘ऐँजेरु’ को लोकार्पण गरेको छ।
साहित्य सदनमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही व्यास, चन्द्रप्रसाद भट्टराई, माधवप्रसाद गौतम र उपन्यासकार उपाध्याय लगायतले उपन्यासको लोकार्पण गरेका छन्।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले समाजको यथार्थ उपन्यासले समेटेको बताउँदै ऐँजेरु जस्ता पात्रहरू समाजमा यत्रतत्र पाइने बताए। उपन्यासले पश्चिम नेपालको भूगोलको परिवेश चित्रण गरेको बताए।
पुस्तकमाथि समीक्षा गर्दै अग्रज साहित्यकार चन्द्रप्रसाद भट्टराईले भने, ‘पात्रहरूले सजीव ढंगले संवाद गरेका छन्। कथावस्तु शान्त र सलल बगेको छ। उपन्यासका पात्रहरू जीवन्त छन्। पश्चिम नेपालको कथा समेटिएका पात्रहरूको चरित्र चित्रणमा मिहिनता देखिएको पठनीय कृति हो ऐँजेरु।’
वरिष्ठ नियात्राकार निर्मोही ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको बताए। उनले भने, ‘सुकदेवले यो विषयमा नलेखेको भए म लेख्थें।’ आफू उपन्यास पढेर भावुक भएको पनि उनले बताए।
सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले भने, ‘हिजोआज पश्चिमा शैलीमा जन्मदिन मनाउने परिवेश छ तर एउटा सर्जकले आफ्नो जन्मदिन सिर्जनात्मक कुरा गरेर कृति सार्वजनिक गरेर मनाउनु उदाहरणीय कार्य हो।’
‘केक काटेर जन्मदिन बनाउनु र कृति सार्वजनिक गरेर जन्मदिन मनाउन’ मा आकाशपातालको फरक छ। ७१ औं जन्मोत्सवमा कृति निकाल्नु स्रष्टा र परिवारको निम्ति मात्र नभएर समाजका लागि उदाहरणीय कार्य हो।’ उनले उपाध्यायलाई थोरै समयमा साहित्यमा परिचित भएकोमा बधाई दिए।
डा. शान्तिमाया गिरीले लेखकको व्यक्तित्व माथि प्रकाश पारिन्। कार्यक्रममा उपन्यासकारका गुरु माधवप्रसाद गौतम, उपन्यासकार शुकदेव उपाध्याय लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम स्रष्टा समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
प्रकाशित: ४ जेष्ठ २०८२ १२:४९ आइतबार