६ असार २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

पालि भाषा बचाउन प्रशिक्षण

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोग तथा सभ्यता नेपाः को आयोजनामा शुक्रबार पालि भाषा प्रशिक्षण सुरु भएको छ।

काठमाडौं स्वयम्भुस्थित आनन्द भूवन विहारमा ३० दिन चल्ने प्रशिक्षणको उद्घाटन गर्दै मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले भगवान् बुद्धको भाषा, उनले उपदेश दिएको भाषालाई जोगाइराख्न प्रदेश सरकारले सहयोग गर्न पाउनु धेरै गौरवको विषय रहेको बताए। उनले देशको प्राचीन संस्कृति, भाषा, सम्पदा संरक्षणको लागि मन्त्रालय लागिपरेको बताउँदै पालि भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन पाउँदा खुसी लागेको बताए।

बौद्धमार्गीहरूको पहिचान रहेको पाली भाषा प्रशिक्षणले बौद्ध साहित्य, बौद्ध ग्रन्थहरूको अध्ययन अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै पालि भाषा सिक्न आएका प्रशिक्षार्थीहरूको उत्साह देखिर आफू पनि धेरै उत्साहित भएको बताए। ‘भगवान् बुद्धको भाषालाई संरक्षणका लागि मन्त्रालयले आधारभूत प्रशिक्षणका लागि यस वर्ष बजेट राखेका थियौं। यसमा तपाईंहरूको सहभागिता देखेर धेरै खुसी लाग्यो, आगामी वर्षहरूमा थप अध्ययनका लागि बजेट राख्नेछौं,’ उनले भने।

आनन्द भूवन विहारका विहार प्रमुख भिक्षु शान्त सिद्धार्थबाट शील प्रार्थना गरी सुरु भएको कार्यक्रममा प्रमुख प्रशिक्षक डा. त्रिरत्न मानन्धरले पालि भगवान् बुद्धका वचनहरू संग्रहित ग्रन्थ त्रिपिटक पालि भाषामै लेखिएको बताउँदै पालि भाषा प्रशिक्षणले बौद्ध शिक्षा, साहित्य, गाथा, ग्रन्थ अध्ययनमा धेरै योगदान दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता पवन पोखरेलले ३० दिने तालिममा सबै प्रशिक्षार्थी नियमित सहभागी भइ भाषा सिक्ने विश्वास व्यक्त गरे। आयोजक सभ्यता नेपाःका अध्यक्ष रमेशकाजी स्थापितले संस्थाले नेपालको प्राचीन भाषा, संस्कृति संरक्षणको लागि विविध कार्य गर्दै आइरहेको बताउँदै यस क्रममा पालि भाषा प्रशिक्षण कार्यक्रम संचालन गरेको जानकारी दिए।

त्यस्तै सभ्यता नेपाः का सचिव तेजनारायण महर्जनले संस्थालाई विश्वास गरी प्रशिक्षणको जिम्मेवारी दिएकोमा संस्कृति तथा पर्यटन मन्त्रालय, प्रशिक्षक, प्रशिक्षार्थी तथा सहयोगी सबैलाई धन्यवाद दिए। आनन्द भुवन विहारको सहकार्य तथा विहारका कोषाध्यक्ष भिक्षु शान्त शोभनको संयोजकत्वमा सुरु गरिएको प्रशिक्षणमा ६० जना भन्दा बढी प्रशिक्षार्थी सहभागी छन्।  

प्रकाशित: ४ जेष्ठ २०८२ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App