८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

विपश्यनामार्फत बुद्धले गुमाएको विषय

चिन्तन

हाम्रो जीवनमा खाना र सुताइका जस्तै आध्यात्मिक ज्ञानको पनि धेरै महत्त्व छ। जसरी हजारौं रूपैयाँको मैनबत्ती बिनासलाई बाल्न सकिँदैन, त्यस्तै आध्यात्मिक ज्ञानबिना जीवनमा प्रकाश आउँदैन। हामी सौभाग्यशाली छौं। बुद्ध जन्मेको ठाउँमा जन्म लिएका छौं। भगवान् बुद्धले हिँडेको बाटो र बसेको ठाउँमा हामी पनि हिँड्ने मौका पाएका छौं। यो संयोग मात्र होइन, सौभाग्य हो। एउटा दुर्भाग्य यो पनि छ कि अरू देशले उहाँको दर्शनबाट उच्च लाभ लिइराखेका छन्। हामी भने उहाँको दर्शनबाट टाढिँदै छौं।

सांख्य दर्शनअनुसार दुःखको एउटै कारण छ, त्यो हो अज्ञान र अविवेक। ज्ञान र दर्शनको एउटै उद्देश्य हो- मानवलाई सुखी बनाउनु। बुद्ध चार आर्यसत्यबारे भन्नुहुन्थ्यो-जीवनमा दुःख छ। दुःख को कारण छ। दुःख मुक्तिको उपाय छ। आर्य अष्टाङ्गिक मार्ग दुःख निवारणको उपाय छ। यहाँ त्यसै अष्टाङ्गिक मार्गको एउटा सूत्रको व्याख्या गर्दैछु। त्यो मार्ग हो - सम्यक् साधना।

ध्यान के हो?

ध्यान प्रवेश गर्ने क्रिया छुट्टाछुट्टै हुन्छन्। कुनै पनि क्रिया गर्दागर्दै विचारबाट मुक्त भएर जब मन शान्त हुन्छ र हामी शून्यतामा प्रवेश गर्छौं, त्यो हो ध्यानको अवस्था। यो एउटा मानसिक प्रक्रिया वा व्यायाम हो। थुप्रै प्रकारका क्रिया छन्, जसको सहयोगबाट ध्यानमा प्रवेश गर्न सकिन्छ।

ध्यानबाट लाभ

यो बुझ्नका लागि भगवान् बुद्धको एउटा प्रवचनलाई याद गर्नुपर्छ। ६–७ वर्षको प्रयासपछि जब बुद्धले आत्मज्ञान प्राप्त गर्नुभयो, त्यसपछि सारनाथमा उहाँले प्रवचन दिनुभयो। त्यो बेला पाँच शिष्य मात्र थिए।

एउटा शिष्यले सोधे– भगवान्, ध्यानसाधनाको गहिरो अभ्यासपछि हजुरले के प्राप्त गर्नुभयो ? बुद्धले लामो र गहिरो सास लिनुभयो र हाँस्दै भन्नुभयो– मैले केही पाएको छैन। मैले त धेरै कुरा गुमाएको छु।

यो उत्तर सुनेर सबै शिष्य अचम्ममा परे। शिष्यहरूले फेरि सोधे, ‘के गुमाउनुभयो?’ बुद्धले भन्नुभयो, ‘मैले मनको डर, निराशा, अशान्ति, ईष्र्या, द्वेष, चञ्चलता अनि उत्तेजना गुमाएको छु।’

यो उत्तर सुनेपछि सबै शिष्य प्रफुल्ल भए। डर, निराशा, अशान्ति, चञ्चलता, उत्तेजना र विषय हरायो भने आन्तरिक शान्ति मात्र बच्छ।

ध्यानविधि

कुनै पनि ध्यानविधि सबै मान्छेका लागि कल्याणकारी र उपयोगी हुँदैन, किनकि मान्छेको प्रकृति तीन थरीको हुन्छ। ती हुन्– वात, पित्त र कफ। यसैअनुसार रहनसहन, विचार र वाणीहरू बन्छन्। यसकारण ध्यानको अभ्यास गरेपछि प्रगति भइरहेको छ कि छैन भनेर हेर्नुपर्छ। आत्मसन्तुष्टि, एकाग्रता, आनन्द र शान्तिमा वृद्धि भइरहेको छ भने ध्यानलाई निरन्तरता दिनुपर्छ। यस्तो अनुभूति भएको छैन भने अर्को ध्यानविधिको प्रयोग गर्नुपर्छ। कुनै पनि ध्यानको अभ्यास गर्दा चाँडै विधि बदल्नुहुँदैन। कम्तीमा तीन साता लगातार अभ्यास गरेपछि त्यसको प्रतिक्रिया हेर्नुपर्छ। त्यसपछि मात्रै आवश्यक भएका विधि परिवर्तन गर्न सकिन्छ।

विपश्यना ध्यान

‘विज्ञान भैरवतन्त्र’का रचयिता भगवान् शिवलाई मानिन्छ। यसमा रहेको एउटा ध्यान हो- अनापान सतीयोग। यसै ध्यानविधिलाई परिस्कृत गरेर विपश्यना ध्यानविधि बनाइयो। यसको साधना दुई स्थितिबाट गर्न सकिन्छ - सक्रिय र निष्क्रिय।

सक्रिय अवस्था भनेको जागृत स्थिति हो। जागृत स्थिति भन्नाले हिँड्नु, बोल्नु, काम गर्नु, खाना खानु इत्यादि अवस्था हो। निष्क्रिय अवस्था भन्नाले शान्त भएर चुपचाप बस्ने अवस्था हो। दुवै अवस्थामा विपश्यना ध्यानको अभ्यास गर्न सकिन्छ। यसका लागि पूर्ण रूपमा आफ्नो श्वासप्रश्वासलाई अनुभव र त्यसप्रति सजग रहनुपर्छ। बिस्तारै शारीरिक संवेदनाको पनि बोध हुन्छ तर यसलाई चुपचाप अनुभव मात्र गर्न सकिन्छ।

कुनै पनि ध्यानको प्रयोग गर्दा खुकुलो लुगा लगाएर बस्नुहोला। हुन त ध्यानको अभ्यास कुनै पनि बेलामा गर्न सकिन्छ तर बिहान र बेलुकाको समय बढी उपयोगी हुन्छ।

प्रकाशित: २७ वैशाख २०८२ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App