२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ!

मुक्तक

१) मुक्तक

विशाल महलभन्दा खुला आकाश मेरो छानो होस्

हृदय अनन्त छँदैछ नि मेरा लागि खुशी सानो होस्

चाहिंदैन सम्हाल्नै नसक्ने सुख र सम्पन्नता मलाई,

रुझ्नु नपरोस् कहिल्यै परेलीले सधैं ओभानो होस्।

२) मुक्तक

संस्कार मान्नु देखावटी, राम्रो व्यवहार सभ्यता

आमाले देखाएको बाटो नै हो हाम्रो सफलता

बयान गरेर सकिन्न शब्दै छैन आमा आफैं पूर्ण,

माया आदर गर्नु, अपमान घृणा नगर्नु महानता।

३) मुक्तक

यो मायामा आघात भएको कुरा भन्नुपर्ने भयो

सम्बन्ध वारपार प्रगाढ भएको कुरा भन्नुपर्ने भयो

उनी सधैं लुकाउन चाहन्छिन् म सार्वजनिक गर्न,

बिचमा तगारो समाज भएको कुरा भन्नुपर्ने भयो।

४) मुक्तक

तिमी त हृदयमा बसेकी छ्यौ मन दिएको छु

आँट गर तिमीलाई चाहिंदो वजन दिएको छु

सित्तैमा कसैलाई पनि केही नदिनु भन्छन्

मैले चाहिं मायाको बदला जीवन दिएको छु।

५) मुक्तक

नरिसाएको मान्छेलाई के भनेर फकाउनु हँ!

नभेटी त कुन उपायले आफ्नो बनाउनु हँ!

भेटिएपछि नछुट्टिने कसम खाएको छु मैले,

नलगाई सिंदुर अँगालोमा कसरी सजाउनु हँ!

मुक्तककार विकल आर्त

६) मुक्तक

दुनियाँमा म एउटा यस्तो भगवान् खोज्दैछु

तिमी त के हो र धोकेवाजमा जवान खोज्दैछु

मानवता भन्ने उसँग पनि त हुँदो हो अलिकति,

त्यो निष्ठुरी प्रेमिकाको कठोर आह्वान खोज्दैछु।

७) मुक्तक

उसलाई दुःख, पीडा अभावले खरानी बनायो

मेरो भने तिनै कुराले सुन्दर जिन्दगानी बनायो

जो मेरो रिस, डाह गरेर बसिरह्यो सधैंभरि त्यहाँ,

परिश्रम गरिरहेँ मैले त्यसै वाह जवानी बनायो।

८) मुक्तक

यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ

आफ्ना मान्छेहरू बोल्दैनन् तस्वीर बोल्छ

मनमा जति उकुसमुकुस भए पनि कुराहरू,

मुखबाट आवाजले खोल्दैनन् रिसले खोल्छ।

९) मुक्तक

मेरो मायालाई जति तड्पाउँछौ त्यति रुवाउँछ

तिम्रो निर्दयतालाई त्यही मायाले सधैं सताउँछ

साँचो मायाँ साँचो नै हुन्छ बुझी राख आफ्नो मान्छे,

धेरै समयपछि पनि फर्किन्छ र आफ्नो बनाउँछ।

१०) मुक्तक

सत्य लुक्दै गल्ती देखिन्छ कसरी नमान्नु  

आफ्नैको छ कसूर शत्रुको के दोष ठान्नु

पशुले त कतिबेला उम्किएर बिगार गर्छ,

मान्छेको छलकपट कहाँ हुन्छ के जान्नु।

प्रकाशित: २५ वैशाख २०८२ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App