१) मुक्तक
तिम्रो अधरको बयान गरेर थाक्दिन म
तिमीमा गीत कविता रचेर थाक्दिन म
तिम्रैबारेमा मैले, छन् लेख्न बाँकी धेरै,
लेख्छु लेखिरहन्छु लेखेर थाक्दिन म।
२) मुक्तक
तिमीसँगै माया लाउने रहर बेइमानी
मलाई हेर्ने तिम्रा ती दुई नजर बेइमानी
कसो गरी राख्ने होला बसमा यौवनलाई,
छुँदा करेन्ट लाग्ने तिम्रो अधर बेइमानी।
३) मुक्तक
फकाउँछ भन्दै तिमी रिसाए छिप्रिय,
तिम्रो मेरो खुसीलाई मिसाएछि प्रिय।
अर्कै भाछ हेर अचेल माहोल यतातिर,
हृदयमा प्रेमको भारी बिसाए छि प्रिय।
४) मुक्तक
सुम्पी मैले यो जवानी बाँच्नु कहिलेसम्म,
सही उसकै मनोमानी बाँच्नु कहिलेसम्म।
लुछिरन्छ उसले मलाई हरदिन यसैगरी,
लुटाई सधैं जिन्दगानी बाँच्नु कहिलेसम्म।
५) मुक्तक
फडा फुलाई गोमन बनी डस्न खोज्छे ऊ,
नजिक हुँदै दिलमा छुरा धस्न खोज्छे ऊ।
बिनाकसुर अनेक दोष देखाएर जहिल्यै,
तेल भनेर नुनखुर्सानी घस्न खोज्छे ऊ।
६) मुक्तक
आफैँलाई ओत्न सकिन आफैँ छाना बनेर,
म बाँच्न विवश भएँ अरूकै निशाना बनेर।
थोक बन्न सकिन म जति प्रयास गरे पनि,
अझैसम्म बेचिँदैछु हजुर म किराना बनेर।
७) मुक्तक
दलालहरूको मतियारी बनेको छ सरकार,
गोली हान्ने बन्दुकधारी बनेको छ सरकार।
मतलब छैन देश जनता आफ्नै भुँडी भर्ने,
एक नम्बरको भ्रष्टाचारी बनेको छ सरकार।
८) मुक्तक
सुवास छर्दै फूल फुल्ने फूलबारी हुन् आमा,
जतन गरी प्रेमले भर्ने आलमारी हुन् आमा।
छहारी दिई परिवारलाई सधैँ जोगाई राख्ने,
सद्भाव अनि सम्बन्धको भकारी हुन् आमा।
९) मुक्तक
साहित्यको भकारी शब्दहरूले भर्न सकौं,
हराभरा बनोस् सिर्जनाको खेती गर्न सकौं।
देखाई नौलो मार्ग यहाँ थपी नविन आयाम,
सिर्जनाकै मगमगाउने बासना छर्न सकौं।
१०) मुक्तक
बोकी आत्माविश्वास हरदम हिँडेको छु म,
चुम्न निलो आकाश हरदम हिँडेको छु म।
सन्मार्ग र विश्वास मेरा साथी बनेका छन्,
लेख्न त्यही इतिहास हरदम हिँडेको छु म।
प्रकाशित: २४ वैशाख २०८२ १२:५८ बुधबार





