दक्षिण कोरियाली विश्वचर्चित सिरिज ‘स्क्विड गेम’ को तेस्रो सिजनको अफिसियल टिजर सार्वजनिक गरिएको छ।
२०२५ को जुन २७ मा विश्वव्यापी रिलिज हुने यो सिजनले मुख्य पात्र सङ गि-हुन (ली जुङ-जे) को कथालाई मनोवैज्ञानिक द्वन्द्व, विश्वासघात र शक्ति संघर्षको चरम रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ।
सिजन २ मा गि-हुन ‘मृत्युको खेल’ प्रणाली भत्काउन फर्किएका थिए। तर उनको योजना सफल भएको थिएन्। अन्तिम एपिसोडमा उनको साथी तथा सहयोगीको पनि हत्या भएको देखाइएको थियो। सिजन ३ मा उनी यस प्रणाली भत्काउने लक्ष्यसहित फेरि खेलमा फर्किंदै छन्। तर यो अन्त्य अपेक्षित रूपमा सहज नहुने संकेत छ।

नेटफ्लिक्सले सार्वजनिक गरेका डरलाग्दा पोस्टरहरूमा रगतले सिँचित भुइँ र विकृत फूलहरू देखाइएको छ।

निर्माता ह्वाङ डोङ-ह्युकले सिजन ३ लाई दोष, असफलता र आशाको मूल्यको कथाका रूपमा वर्णन गरेका छन्। “गि-हुन खेलसँग मात्र होइन, खेलले उसलाई जस्तो बनायो, त्यससँग पनि लड्दैछ,” उनले ‘द हलिउड रिपोर्टर’ सँग भनेका थिए।
पहिलो सिजनमा ‘प्लेयर ४५६’ का रूपमा गि-हुनले ४५.६ अर्ब कोरियन वन (३१.५ मिलियन अमेरिकी डलर) जितेका थिए। यो सिजनले प्रणाली ध्वस्त पार्ने उनको प्रयास र ‘फ्रन्ट म्यान’ सँगको द्वन्द्वलाई चित्रण गर्नेछ।

रङ्गेली खेलहरूको बाल्यकालीन रङ्गीनता अब डरलाग्दो र विकृत रूपमा प्रस्तुत हुने अपेक्षा छ।
प्रकाशित: २३ वैशाख २०८२ १५:१९ मंगलबार





