नागरिक दैनिक (राष्ट्रिय) पत्रिका। सखारै आइपुगेछ-निष्ठाछेँ, सूर्यविनायक मार्ग, सिपाडोल। करिब चारपाँच दिन बिरानमा बल्ल भित्रिएको। प्रफुल्ल चित्तले पल्टाउन थालेँ। निकै घत लाग्दा रोचक मुलायम प्रसङ्ग। सरसर्ती वाचन गरेँ। मनैभरि मनग्य ! कविशिरोमणि स्वनामधन्य स्व. लेखनाथ पौड्यालको ‘पिँजडाको सुगा’ कविता सस्वर वाचन गरेको सम्झेँ। रहरलाग्दो लहर थियो त्यो। ९० वर्षे योवन कुम्ल्याएर निष्ठा छेँ (घरलाई) पिँजडा मानेर श्री मिमांशा ढुंगेलज्यूकृत - ‘साइबर बुलिङको सकस’ रचना गर्भमाथि दृष्टि दौड गरेँ। राजधानीको मुटुस्थित टुँडिखेलमा घोडा दौड भर्खरै विश्रान्ति घाट पुगेँ। यो चेतन चोला विश्रान्ति घाटको पिरचिन्तालाई तीलाञ्जली ‘साइबर बुलिङ’भित्र चुलिँदै पौडिरहेँ। अपवित्र टुकुचाको फोहोर ढल प्रवाह पो पाएँ।
कविला साना नानीहरूको मन विनाशक-प्राकृत चेत-च्यूत गराउने साधना साँधेको अन्तर्य चाखेँ। किरण छर्ने भन्दै तिमिर हुर्काउने कुचेष्टाका साधनाका भुमरी फेरो पाएँ। सतर्कताका शतबीज छर्ने चेष्टावाहक सन्देश भरेको रचना। अस्ताचलको डाँडामाथिको उमेरले साधुवाद व्यक्त गर्नुभन्दा के पो गर्न सकूँ?’
त्यसैले ‘लेखकीय अभिव्यक्ति - पाठकीय अनुभूति’ रचनाको शिरपोस-शिरान ‘सित दिन गुजरान गर्ने अठोट भरेँ मनग्य। बुढ्याइँको कुम्लो थाप्लोको नाम्लो भन्न मन पराएँ। नौला, तन्नेरातन्नेरी विचरन रोचक मानेँ। घोचक होइन। नागरिक दायित्त्वबोधक चिन्तन चेतको स्नानागार उपमेय ठानेँ।
नारी श्रष्टा श्री मिमांशा ढुंगेलज्यूलाई आँखेदेखि साक्ष छैन। वैचारिक साधना शैली विज्ञानवाचन गर्न पाउनु नै मनज्ञ माने। अत्याधुनिक सञ्चार साधनाले डोर्याइन सकिनँ। नतमस्तक बन्नु त शारीरिक परिबन्ध मानेँ, करजोरी ! बुढ्यौलीचेतको असमर्थ समर्थता यसरी साँधेँ।
साइबर–बुलिङ सकस अभिव्यक्ति सिपका खेमाभित्र बहुविध समस्या उल्लेख छन्। उल्लिखित समस्याका समाधानका उपाय र साधनासाधनहरू क्रमबद्ध रूपमा उल्लेख भए गरिएका छन् पनि। तिनको पनि उद्धरण गर्न जमर्किएँ यसरी-
- एआई संसारमा हानिकारक अनलाइनको जोखिम धेरै छ।
- अलगोरिडमले अश्लील/ग्राफिक हिंसा चित्रण गर्ने सुझाउँछन्।
- युट्युब सर्टस, इन्स्टाग्राम रिल, टिकटक भिडियोले किशोरकिशोरीलाई सानैदेखि यस्ता कन्टेन्टसँग जेलाउँछन्। त्यस्ता कन्टेन्टसित अभिभावक अपरिचित छन्। यसले बालबालिका असंवेदनशील बन्छन्। कन्सेप्टको अवधारणा नै बुझ्दैनन्।
- हाम्रोमा साइबर कानुनको सीमितता छ।
-विद्यालय स्तरबाटै डिजिटल सुरक्षा समाहित गर्नु अपरिहार्य छ।
-साइबर ब्युरो सक्रिय होइन, प्रतिक्रियाशील छ। पीडितले उजुरी दिएपछि मात्रै ध्यान दिन्छ।
-समस्या समाधानखातिर पर्याप्त उपकरण, तालिम प्राप्त जनशक्ति छैन।
-सूचना उपलब्ध गराउनुपर्ने सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूको असहयोग आदि प्रहरीको दाबी रहेको छ।
-यिनका समाधनार्थ डिजिटल फ्रेमवर्क तर्जुमा गर्नु अनिवार्य छ।
- इन्टरनेट सुरक्षित बनाउन प्रविधि कम्पनी, विद्यालय र सरकारबिच सहकार्य महत्त्वपूर्ण छ।
बिट मार्नुअघि, यी सबै वैचारिक पठन मन्थनले लाग्यो-श्री मिमांशा ढुंगेलजीले निकै गहन अध्ययन-चिन्तन मन्थन गर्ने कसरती नारी पहलमानी गर्नु भएको धारणाले औंलादौंला भएको ज्ञापन गर्ने मनसुवा पोखेँ। जयतु संस्कृतम्!
प्रकाशित: २० वैशाख २०८२ ११:४९ शनिबार





