८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

प्रज्ञामा रमाउने पराजुली

व्यक्तित्व

‘छवि बनाउन निकै मिहिनेत चाहिन्छ, त्यसलाई जोगाउन उत्तिकै होस पुर्‍याउनुपर्छ। पहिले पहिले राम्रो लेख्ने भनेर दरिएका लेखकले त्यही स्तरलाई कायम राख्न नसकेर धेरै जना बेखबर छन्। लेख्दा विचार पुर्‍याएर लेख्नुपर्छ है भाइ’ भन्थे गोपाल दाइ। बालसाहित्यकार गोपाल पराजुली अब स्मृतिमा मात्र रहन पुगे।

पराजुलीको व्यक्तित्व र कृतित्व सन्दर्भमा कैयौं लेखकद्वारा यथेष्ट लेखिएको पाइन्छ। यद्यपि लेख्न र पर्गेल्न अझै बाँकी छ, बाँकी नै रहन्छ। २००२ सालमा काभ्रेपलान्चोकमा जन्मेका गोपाल पराजुलीले सानै उमेरदेखि संघर्षका दिन बिताए।

स्कुलमा पढ्दापढ्दै शिक्षकको जागिर खाए। स्कुले किशोर उमेरमै महात्मा गान्धीको जीवनी पढेर ख्यातिप्राप्त व्यक्तिहरूको जीवनी लेख्न प्रेरित भए। पराजुलीले जनक शिक्षा सामग्री केन्द्र, मन्त्रीपरिषद्लगायत स्थानमा लामो समय सेवा गरे। उनले जागिरकै क्रममा पनि आफ्नो कलमलाई झन्झन् परिष्कृत बनाउँदै ल्याए। उनका दुई दर्जनभन्दा बढी प्रकाशित कृतिमध्ये अधिकांश जीवनीमूलक विधाका रहेका छन्।

बालबालिकालाई मुलुकको भविष्य मानिन्छ। व्यक्तिले वैयक्तिक अभिरुचि, पारिवारिक एवं आर्थिक पृष्ठभूमिका आधारमा शिक्षाको अवसर प्राप्त गर्छ। शैक्षिक योग्यताका आधारमा ऊ कुनै न कुनै कर्मक्षेत्रमा संलग्न हुन्छ। अन्तर्निहित प्रतिभाका आधारमा कार्यक्षेत्र निर्धारित हुन्छ।

गोपाल पराजुली बालबालिकाको कोमल र किशोर मानसिक अवस्थालाई मध्यनजर गर्दैै त्यसअनुसारका जीवनीमूलक रचनामा कलम चलाउने साहित्यकार हुन्। जीवनको उषाकालमा उदात्त ढंगले पढ्ने खेल्ने स्वभाव हरेक बालबालिकामा रहन्छ। यस्तै बेला उनीहरूभित्र असल बानीबेहोरा सिक्ने उत्सुकता र संस्कारको विकास हुन थाल्छ। उनीहरूको कोमल मानसिकतामा असल मानिसका जीवनगाथाको दीर्घकालीन सकारात्मक प्रभाव परिरहन्छ।

वाङ्मयसेवी एवं सामाजिक जीवनमा क्रियाशील प्रतिभाका कर्म र कर्तव्यबारे पढेर बालबालिका तथा किशोरकिशोरीहरूले पर्याप्त प्रेरणा पाउन सक्छन्। युवा, वयस्क र प्रौढ सबै पुस्ताका पाठकका लागि पनि दिवंगत प्रतिभाका जीवनगाथा उत्तिकै पठनीय र प्रेरणादायी अध्ययन सामग्री बन्छन्। जीवनवृत्तान्तले प्रतिभा बाँचेको समय र समाजलाई बुझ्न मद्दत गर्छन्।

यस्ता वृत्तान्तले दिवंगत प्रतिभाहरू आफ्नो समय र समाजसँग हातेमालो गर्दै मात्र नभई त्यससँग जुध्दै, संघर्ष गर्दै कसरी आफ्नो लक्ष्य प्राप्तितर्फ अग्रसर भए भन्ने कुराको अनुशीलन गर्न पनि सिकाउँछन्। मुलुकलाई सिर्जनात्मक, उन्नयनशील र ऊध्र्वगामी बनाउन प्रेरणादायी रहेका प्रतिभाका जीवनगाथालाई लिपिबद्ध गरी पाठकसमक्ष ल्याउन पराजुली सङ्कल्पित देखिन्छन्।

प्रा. चूडामणि बन्धुले जीवनीकार गोपाल पराजुलीले नेपाली शैक्षिक जगत्मा रहेका अभावलाई पूर्ति गरेको कुरा औंल्याएका छन्, ‘आफ्ना पुर्खाको मात्र होइन, संसारभरिकै व्यक्तिप्रतिभाको योगदानबारे जति बढी जानकारी र पाठ्यसामग्री दिन सकिन्छ, उति नै नेपाली शैक्षिक जगत् लाभान्वित हुन्छ।

देशविदेशका व्यक्तिप्रतिभाको जीवनका विशेष घटना र तिनले गरेका कार्यलाई नेपाली भाषाका माध्यमले बालबालिकासमक्ष प्रस्तुत गरेर जीवनीकार पराजुलीले नेपाली शैक्षिक जगत्मा रहेको ठुलो अभावलाई पूर्ति गर्नुभएको छ।’

यस्तै जीवनीकार गोपाल पराजुलीको प्रतिभाचयन एवं लेखन वैशिष्ट्यसन्दर्भमा प्रा. कुलप्रसाद कोइरालाले भनेका छन्, ‘प्रथमतः पराजुलीले जीवनीनायकका त्यस्ता प्रतिभाको चयन गरेका छन्, जो धेरै पहिले वा निकट भूतमा दिवंगत भइसकेका छन्। राष्ट्रिय जीवनका अनेक पाश्र्वमध्ये कुनै न कुनै पाश्र्वमा आफूलाई निष्ठापूर्वक समर्पण भावले उत्सर्ग गरेका प्रतिभाको चयन र तदनुकूलकै शीर्षक प्रदान गरी उनीहरूका कार्य, उद्देश्य, घटना र विचार तथा योगदानलाई बालबालिकाअनुरूपको वर्णविन्यास, पदावली संयोजन र आख्यानगर्भित प्रवाहशील वर्णनशैलीमा ढालेर एकरूपले (संख्या र गुणात्मकतामा) प्रस्तुति दिन सक्नु आत्मप्रेरित सिर्जनशीलता र बौद्धिक शीलचातुर्यको अपूर्व संयोजनमा मात्र सम्भव हुने कुरो उनका कृतिले सहजै प्राप्त गरेका छन्।’

यस्तै प्रा. कृष्णप्रसाद दाहालले पराजुलीद्वारा लिखित जीवनी सङ्ग्रहहरूमा उनी गुणदर्शन परम्पराको पक्षमा केन्द्रित रहेर जीवनीनायकको व्यक्तित्वलाई प्रकाशमा ल्याइएको कुरा बताएका छन्।

मुलुकको परिचय स्थापित गर्न राजनीतिकबाहेकका अन्य क्षेत्रका मार्गदर्शक व्यक्तित्वहरूको पनि उत्तिकै योगदान अपरिहार्य रहन्छ। नेपाललाई गौतम बुद्धको मुलुक भनेर चिनिन्छ। बेलायतलाई महान् साहित्यकार सेक्सपियरको मुलुक मानिन्छ। म्याक्सिम गोर्कीले रुसलाई चिनाएका छन्। चीनलाई दार्शनिक कन्फ्युसियसको मुलुकका रूपमा चिनाउने प्रयत्न भइरहेको छ।

पुनर्जागरण कालका कैयौं लेखक, दार्शनिक, वैज्ञानिक एवं साहित्यकारले युरोपियन इतिहास र सभ्यताको निर्माण गरेका छन्। भाषा, साहित्य, संस्कृति, विज्ञान, अध्यात्म, दर्शन, समाजसेवा एवं अन्य विभिन्न क्षेत्रका प्रतिभाका कारण मुलुकहरूले परिचय बनाएका छन्। उनीहरूले समाजलाई दिशा निर्देश गरेका छन्।

मुलुकलाई उठाएका छन्, जगाएका छन् र समकालीन एवं आगत पिँढीलाई मुलुकप्रति इमानदार र कर्मशील बन्न अमूल्य प्रेरणा दिएका छन्। भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, सत्यमोहन जोशी, भूपि शेरचन, पारिजात लगायत कैयौं स्रष्टाको योगदानलाई समयले बिर्सन सक्दैन। यस्तो गुण वा सामथ्र्यदायी प्रतिभाबारे उत्सुकता बढाउँदै उनीहरूका असल एवं जीवनवादी पदचिह्न पछ्याउन र राष्ट्रप्रति इमानदार भएर कर्तव्यपथमा लाग्न प्रेरक स्रष्टा एवं विभिन्न क्षेत्रका व्यक्तित्वबारे जीवनी अभिलेखन गरेर गोपाल पराजुलीले उल्लेख्य कार्य गरेका छन्।

राष्ट्रिय विभूतिबारे लेखिएका तीन भाग पुस्तकमाथि समीक्षा गर्दै प्रमोद प्रधानले गोपाल पराजुलीका कृतित्वमाथि चर्चा गर्दै लेखेका छन्, ‘वास्तवमा आजको समयमा नेपाली बालबालिकामा राष्ट्र, राष्ट्रियता र नेपालीपनप्रति प्रेम र सद्भाव जगाउने हो भने हामीले तदनुरूपको शिक्षा दिनु आवश्यक छ र यो औपचारिक पाठ्यपुस्तकले सम्भव छैन। यसका लागि बालसाहित्य एक मात्र विकल्प हो र त्यसमा पनि महापुरुषहरू र विभूतिहरूका जीवनीमार्फत् हामी बालबालिकालाई त्यस्तो ज्ञान दिन सक्छौं। पराजुलीले सोही उद्देश्यअनुरूप बालोपयोगी जीवनी लेखेका छन्।’

भाषा, साहित्य, संस्कृति, कला, अध्यात्म एवं अन्य विभिन्न क्षेत्रका प्रतिभाका जीवनी सङ्गृहीत पराजुलीको ‘पच्चीस प्रतिभा’ बालबालिकालाई कर्मशीलता, राष्ट्र–राष्ट्रियताप्रति प्रेम, सद्भाव सिकाउने प्रेरण जीवनीसङ्ग्रह हो।

विधागत व्याप्ति र प्रभावका हिसाबले बालदेखि किशोर पिँढीका पाठकलाई ध्यानमा राखी लेखिए पनि जीवनी विधाका पाठक सबै वर्ग र उमेर समूहका हुन्छन्। पराजुलीका कृतिहरू उमेरगत रूपमा सानाका लागि अध्ययन–पठन र ठुला–वयस्क–प्रौढ अध्ययता–अनुसन्धाताका लागि लेखन सन्दर्भ सामग्री हुन सक्छन्।

मुलुकको इतिहासका पिँधमा वा अन्तरकुन्तरमा रहेका कैयौं विधा तथा वाङ्मयसेवीहरू समयक्रममा फेला पर्दै जान्छन्। इतिहासले सघन रूपमा सबै प्रतिभाको खोजी गर्न सकेको पाइँदैन। गोपाल पराजुलीद्वारा लिखित जीवनी उपलब्ध भएसम्मका पूर्वप्रकाशित पाठ्यसामग्रीलाई अध्ययन आधार मानेर लेखिएका हुन् भन्ने बुझ्न सकिन्छ। उनका ‘रूपाको साहस’ (बालकथासङ्ग्रह), ‘एक दिनको यात्रा’ (बालउपन्यास), ‘नानीको बानी’ (बालनिबन्ध) बालोपयोगी कृति हुन्।

समय आफैंमा असल वा खराब भन्ने हुँदैन। समयलाई मानिसले नै असल र खराब बनाउने हो। मानिसले असल काम गरेमा त्यसको प्रभाव समाजमा पर्छ। असल कर्मको प्रतिफल समाजले प्राप्त गर्छ अनि मात्र समाजले भोगेको समय पनि असल हुन्छ। असल कर्मको आधिक्यले समयलाई उज्यालो बनाउँछ। विगतका त्यस्ता उज्याला कर्मलाई पछ्याउँदै हिँड्ने कर्मवीर र कर्मसाधकलाई वर्तमान मात्र नभई हरेक युगले सम्मान र स्मरण गरिरहनुपर्छ भन्ने अभीष्ट जीवनीकार गोपाल पराजुलीको रहेको देखिन्छ। 

प्रकाशित: ६ वैशाख २०८२ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App