१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/संस्कृति

कलमको सारथि म

निबन्ध

मानिसको जीवन अनेकौं रंगले सजिएको क्यानभास हो, जहाँ कल्पना, भाव, अनुभूति र विचारका रेखाहरू खिचिन्छन्। म पनि यो जीवनरूपी क्यानभासमा आफ्ना भावनाहरू पोख्ने एउटा सामान्य व्यक्ति हुँ। मेरो साथी छ - कलम।

कलम मेरो एउटा साधन मात्र होइन, यो त मेरो अभिव्यक्तिको आत्मा हो। बाल्यकालदेखि नै म अक्षरहरूसँग खेल्न रुचाउँथें। जब पनि कुनै कुराले मन छुन्थ्यो, म त्यसलाई शब्दमा उतार्न खोज्थेँ। स्कुलमा पहिलो पटक जब मैले शिक्षकले लेख्न दिएको निबन्धमा तारिफ पाएँ, त्यही दिनदेखि म लेखनप्रति झन् नजिक हुन पुगें।

कलमले मलाई शब्द लेख्न मात्र सिकाएन, उसले मलाई मेरो मनका कुण्ठाहरू फुकाउन सिकायो। जब म खुसी हुन्छु, मेरा शब्दहरू गीत बन्दिन्छन्। जब म दुखी हुन्छु, मेरा अक्षरहरू आकाशमा बादलझैं घुम्छन्। कहिले काव्य, कहिले कथा त कहिले विचारहरू कोरेरै मेरो हृदय हलुका हुन्छ।

कलम मेरो रहरको साथी हो, पीडाको मलम हो, रहस्यहरूको कागज हो र कहिलेकाहीं नमीठो सत्य उजागर गर्ने हतियार पनि हो। यसले मलाई आफ्नो भावना मात्र पोख्न होइन, समाजको चित्र कोर्न पनि मद्दत गर्छ। कति चोटि अन्याय देख्दा मेरो कलमले विद्रोह गर्छ, कहिलेकाहीं प्रेमको फुलबुट्टा गुँथ्छ।

कलम मसीले लेखिने साधन मात्र होइन, यो त परिवर्तनको हतियार पनि हो। इतिहासका पानाहरू साक्षी छन् -जब कलम चले, राजतन्त्र ढलेस जब कलम बोले, जनताको आवाज गुञ्जियो। महान् लेखकहरूले समाजको चेतना जगाए, अन्यायविरुद्ध लडे, प्रेमको परिभाषा कोरे। म पनि त्यही बाटोमा हिंड्न चाहन्छु।

जब म कलम समात्छु, मलाई लाग्छ, म सीमाहीन छु। मेरो भावना कसैले रोक्न सक्दैन। यसले मलाई स्वतन्त्रता दिन्छ, आत्मसन्तुष्टि दिन्छ। मेरा शब्दहरूले कसैलाई प्रेरित गर्न सकून्, कसैको मनको चोट मेटाउन सकून् - यही मेरो लेखनको उद्देश्य हो।

म लेख्छु, किनभने म साँच्चै बाँचिरहेको महसुस गर्छु। कलम मेरो सहयात्री हो, जसले मलाई जीवन बुझ्न सिकाउँछ, समाजसँग बोल्न सिकाउँछ र आफ्नै अस्तित्वको खोजी गर्न मद्दत गर्छ। जबसम्म मेरो सास चल्छ, मेरो कलम चलिरहनेछ। किनभने, कलमको सारथि म!

- सरस्वती श्रेष्ठ 

प्रकाशित: ४ वैशाख २०८२ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App