१ असार २०८२ आइतबार
image/svg+xml
कला/संस्कृति

लम्सालको ‘समयका अनुहारहरू’ सार्वजनिक

कवि तथा वरिष्ठ पत्रकार कृष्णविनोद लम्सालको सातौँ साहित्यिक कृति ‘समयका अनुहारहरू’ कवितासङ्ग्रह इटहरीमा सार्वजनिक गरिएको छ।

इटहरी साहित्यिक समूहको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद् प्राध्यापक डा. टङ्क न्यौपानेसहितका साहित्यिक व्यक्तित्वले उक्त सङ्ग्रहको लोकार्पण गरे।

समारोहमा कवि लम्सालका छ वटा कविताको वाचन गरियो। पहिलो कविता ‘चिप्लिएको समय’ स्वयम् कविले वाचन गर्दै स्रजनात्मक सिलसिला आरम्भ गरेका थिए।

पुन्य चौलागाईं, राम खरेल, सकुन्तला मञ्जरी, प्रदीप लम्साल, सीता दाहाल र भरत गुरागाई बर्बरिकले कवि लम्सालका विविध कविताहरू वाचन गरेका थिए।

कार्यक्रममा टीका आत्रेय र प्रह्लाद पहरेदारले लोकार्पित कवितासङ्ग्रहबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गरे। कवि पहरेदारले गद्य कवितालाई पद्यमा रुपान्तरण गरी प्रस्तुत गरेको टिप्पणी विशेष रूपमा रुचाइएको थियो।

कवयित्री आत्रेयले लम्सालका कवितामा जीवनका उतारचढाव झल्किएको उल्लेख गर्दै भनिन्, ‘‘कविता ‘पानीले खियाएका शालिग्राम’ जस्तो अमूल्य प्रतीक बोकेको छ। समयसँगै अनुभूत भएको दर्शन कवितामा प्रकट भएको छ, जुन भावि पुस्ताका लागि सशक्त सन्देश बन्न सक्छ।’’

कवि लम्सालका यसअघि प्रकाशित साहित्यिक कृतिहरूमा बन्दी आस्थाहरू (कवितासङ्ग्रह २०५०), परिस्थितिका मुद्दाहरू (कथासङ्ग्रह २०५२), अवशिष्ट यात्रा (उपन्यास २०६३),  विभाजित समय (उपन्यास २०६८), युगान्तर (कथासङ्ग्रह, २०७२) र सप्तकोसी किनाराबाट (अनुसन्धानात्मक उपन्यास २०७६) प्रकाशित छन्।

नेपाल पत्रकार महासंघ, सुनसरीका पूर्व सभापति रहेका लम्साल प्रेस स्वतन्त्र सेनानी पनि हुन्।

प्रकाशित: ३० चैत्र २०८१ १५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App