कला, संस्कृति संरक्षणका लागि दैलेखमा महोत्सव आयोजना गरिने भएको छ। जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारीकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ को आयोजना हुने भएको हो।
दैलेख सदरमुकाममा पत्रकार सम्मेलन गरी धार्मिक तथा ऐतिहासिक दैलेख जिल्लामा चैत्र २६ गतेदेखि वैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुने मूल आयोजक समितिका संयोजक भुपेन्द्रन शाहीले बताए। उनले दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव २०८१ संचालन हुने महोत्सव मूल समारोह समितिका संयोजक भुपेन्द्र शाहीले जानकारी दिए। संयोजक शाहीले यही चैत २६ गते महोत्सवको उद्घाटन भएर वैशाख ५ गते समापन हुने बताए।
महोत्सवमा जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको बजारीकरणका साथै स्थानीय कला संस्कृति झल्कने लहरेपैसरी नाच, ढाल तरवार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी एवं प्रवर्द्धन गरिने संयोजक शाहीले बताए। त्यस्तै महोत्सवबाट हुने फाइदाबाट नारायण नगरपालिका –७ किमुगाउँमा सञ्चालित वेद विद्याआश्रम र दैलेखको नाभिस्थानमा संचालित वेद विद्याआश्रममा आवश्यक पर्ने एक वर्षभरी पुग्ने खाद्यान्न सहयोग गर्नुका साथै सामाजिक उत्तरदायी अन्तरगत नारायण नगरपालिका –६ मा रहेको शहिद मयाराम स्मृति प्रतिष्ठान पार्कमा सार्वजनिक शौचालय निर्माण गरिने महोत्सवका संयोजक शाहीले बताए।
उनले जिल्लामा लोप हुन लागेका साँस्कृतिक सम्पदा र परम्परागत जीवन शैलीलाई प्रतिनिधित्व गर्ने प्रविधि र संशाधनहरूको जगेर्ना गरिने तथा स्थानीय परम्परागत सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने बताए।
दैलेख सदरमुकामको काँडाचौरमा नौ दिन संचालन हुने महोत्सवमा जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, संस्कृति र भेषभुषा, धार्मिक तथा पर्यटकिय स्थलको अवलोकन तथा प्रचारप्रसारका साथै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सयभन्दा बढी स्टल राखिने आयोजक संस्थाहरूले जनाएका छन्।
रेडियो मातृभूमि एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ शहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सवको सहआयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन्।
प्रकाशित: १७ चैत्र २०८१ १४:१४ आइतबार