१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:१७ अपराह्न
कला/संस्कृति

घोडेजात्राको आदिम गाथा

संस्कृति

चाडपर्वले आआफ्नै किसिमको महत्त्व बोकेर आएका हुन्छन्। घोडेजात्रा काठमाडौंमा मनाइने पर्व हो। घोडेजात्राको इतिहास काठमाडौं उपत्यकामा बसोबास गर्ने समुदायको जनविश्वासमा आधारित छ। यस जात्रामा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भन्ने कथन आएको छ। नेपाली सेनाले घोडेजात्रामा घोडा दौडलगायतका कार्यक्रम गर्दै आएको देखिन्छ।

पुरानो संस्कृति बोकेको घोडेजात्रा प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन मनाइन्छ। यो जात्रा विशेष गरी टुँडिखेलमा आयोजना गरिन्छ। सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यो पर्वको मुख्य आकर्षण नेपाली सेनाद्वारा टुँडिखेलमा गराइने घोडा दौड हो।

घोडेजात्रामा नेपाली सेनाका घोडचढी फौजले विशेष प्रस्तुति दिन्छन्। त्यस सन्दर्भमा विभिन्न प्रतिस्पर्धात्मक खेलसमेत आयोजना गरिन्छ। घोडेजात्राको इतिहास मल्लकाल तथा लिच्छवि कालसम्म लम्बिन्छ। यो जात्रा काठमाडौँ उपत्यकाको सुरक्षासँग पनि जोडिएको छ।

नेपाली सेनाले यो जात्रालाई राजकीय परम्पराका रूपमा राजा वा राष्ट्रप्रमुखको उपस्थितिमा मनाउन थालेको शाह वंशको सुरुवाती काल (प्रशासकीय रूपमा पृथ्वीनारायण शाहको पालादेखि) भएको अनुमान गरिन्छ। नेपालमा आधिकारिक रूपमा घोडचढी पल्टन तत्कालीन राजा सुरेन्द्रवीर विक्रम शाहको राज्यकाल र जंगबहादुर राणाको प्रधानमन्त्रीत्व काल अर्थात् १९०६ साल मंसिर ७ गतेबाट सुरु गरेको देखिन्छ।

हाल नेपाल बंैक लिमिटेड रहेको भूगोल पार्कमा ‘रिसल्ला पल्टन’ घोडा तबेला स्थापना गरिएको थियो। त्यस रिसल्ला पल्टनले १९११ सालदेखि १९१२ सालसम्मको नेपाल तिब्बत युद्धमा भाग लिएको थियो। त्यसपछि हाल ट्राफिक प्रहरी प्रधान कार्यालय रहेको बग्गीखानामा रिसल्ला पल्टन राखियो।

२००९ सालमा भएको नेपाली सेनाको पुनर्गठनपश्चात् रिसल्ला पल्टनको नाम ‘किंग्स हाउस होल्ड क्याभलरी’ राखियो। सो नामलाई परिमार्जन गर्दै २०६५ साल जेठ २३ गतेबाट ‘नेपाल क्याभलरी’ नामकरण गरियो। सिंहदरबारमा अवस्थित नेपाल क्याभलरी २०७४ वैशाख १३ गतेबाट नारायणहिटी ब्यारेकमा सारिएको छ।

सैनिक मञ्च, टुडिखेलमा मनाइने घोडेजात्रा समारोहमा जीवित कुमारी भवानीबाट समेत अवलोकन गर्ने परम्परा छ। नेपाल क्याभलरीबाट घोडा पठाई जीवित देवी कुमारीलाई कुमारीघर नै पुगी आमन्त्रण गर्ने परम्परा छ।

पाहाँ चःहे्रको अवसरमा भद्रकालीमा हुने पूजा तथा घोडेजात्रा नजर गर्ने जीवित कुमारीलाई भद्रकाली मन्दिरमा श्री शार्दूलजंग गुल्म र भद्रकाली गुठीबाट विधिपूर्वक पूजा र इन्फिल्डनाल हतियारबाट बढाइँपश्चात् घोडेजात्रा कार्यक्रम सुरु हुने प्रचलन रहेको छ।

घोडेजात्राको दिन दिउँसो टुँडिखेलमा घोडा र घोडसवारको कलाकौशल प्रदर्शनी सुरु हुन्छ। कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन हुन्छन्। घोडे जात्रा हेर्न राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेलमा डाँक्ने गरिन्छ।

कुनै दिन काठमाडौंवासीमा मात्र सीमित यो जात्राले अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ। घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ। विश्वमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर २०७६ सालमा भने घोडेजात्रा स्थगित गरिएको थियो। अपवादबाहेक प्रत्येक वर्ष नै घोडेजात्रा हुँदै आएको छ।

घोडेजात्रा किन मनाइन्छ?

परापूर्वकालमा टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा (टुण्डी) नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरू खाइदिने गर्थ्याे। यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपाय खोज्न थाले। त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चिएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती रहेको छ।

अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ। यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने भनाइ छ। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राकै दिनको रात्रिकालमा त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।

अर्कातर्फ प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ। त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औंसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ।

नेवार समुदायको संस्कृति

घोडेजात्राको अघिल्लो दिन मनाइने पाहाँ चःह्रे नेवार समुदायको ठुलो चाड हो। यस दिन लुकु महादेवको धुमधामसँग पूजा गरिन्छ। नाचगान, बाजागाजा र परम्परागत भेषभुषामा नेवार समुदायले यस पर्वलाई उल्लासमय वातावरणमा मनाउँछन्।

यस दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका लुकु महादेव वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ। यिनै लुकु महादेवलाई पिशाच चतुर्दशीका दिन जमिनमुनिबाट झिकी मद्यमांस आदि तामसी भोग चढाइन्छ।

यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ भन्ने किंवदन्ती छ। यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवार समुदायमा कायमै छ। असनको अन्नपूर्ण मन्दिरछेउमा खट जुधाउने चलन छ।

चर्तुदशीको दिन साँझ अजिमाका प्रतिमाहरूलाई सहर परिक्रमा गराउने चलन पनि छ। पाहाँ चःह्रेको उपलक्ष्यमा भोलिपल्ट घोडेजात्राका दिन विवाहित छोरी र दिदीबहिनीहरूलाई माइतमा बोलाउने र नखत्या भोज खुवाउने चलन छ। त्यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न अजिमाहरूको खटजात्रा हुन्छ।

यो चाड तीन दिनको भए पनि अन्तिम दिन अर्थात् चैत शुक्ल पक्षको दिन अजिमाका खटहरू सहरमा परिक्रमा गराई ६ वटा गल्लीबाट ल्याई असन चोकमा सात वटा खट घुमाउने कामलाई सप्त मातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ।

उपत्यकाका तीन जिल्लामा घोडेजात्रा

मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा विशेष रूपमा अघि बढेको पाइन्छ। काठमाडौंमा मल्ल राज्य भएको बेला टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा रहेको थियो र काठमाडौं तथा ललितपुरका मल्लराजाबिच विवाद परेर प्रतिस्पर्धीका रूपमा ललितपुरको बालकुमारीमा पनि एकल घोडाको एउटा आँखा छोपेर दौडाई घोडेजात्रा परम्परा बसालेको मान्यता छ। यसबाट ललितपुरवासी घोडेजात्रा हेर्नका लागि काठमाडौंसम्म पुग्न नपरोस् मन्ने उद्देश्य थियो।

ललितपुरको यो जात्रा नेपाल संवत् ७७७ देखि चलेको हुनसक्ने स्थानीयवासीको अनुमान छ। पाटनको बालकुमारी क्षेत्रमा घोडेजात्राका दिन स्थानीय घोडालाई मदिरा खुवाएर चढ्ने चलन पनि थियो। यसरी मदिराको नसामा रहेका घोडा हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन छ। ललितपुरको घोडेजात्राका लागि नारायणहिटी ब्यारेक हाताभित्र रहेको नेपाल क्याभलरीबाट नै एउटा घोडा लैजाने गरिन्छ।

ललितपुरको बुङमतीमा पनि घोडेजात्राको दिन कृत्रिम घोडा बनाई घोडेजात्रा मनाइन्छ। यता, भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिँगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ। हाल घोडे जात्रा काठमाडौंमा मात्रै सीमित नरहेर राष्ट्रिय महŒव बोकेको जात्राका रूपमा देशभर मनाउने गरिन्छ।

घोडेजात्राको दिन भद्रकाली, लुमडी, नीलबाराही, कंकेश्वरी अजिमा र भैरवहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ। घोडेजात्राको दिन मात्र सबै भैरव प्रतिमाहरूले एकअर्कालाई भेट्छन्।  टुँडिखेलमा सेनाले घोडेजात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सीजस्ता तरकारीको बिउ रोप्ने चलन पनि कायमै छ।

घोडाको महिमा

महाभारत युद्ध होस् वा नेपोलियन बोनापार्टको घोडसवार फौज मस्कोसम्म पुगेको इतिहास होस्, अलेक्जेन्डरले युरोपबाट एसियासम्म गरेको विजय होस् वा भारतीय वीर राजा मानिने महाराणाप्रतावले ‘चेतक’ नामको घोडामा सवार भई मुगल फौजविरुद्ध हमला गरेको इतिहास होस्, घोडाको प्रयोग भएको पाइन्छ। नेपाल–अंग्रेजयुद्ध, नेपाल–भोट युद्ध, प्रथम र द्वितीय विश्वयुद्धमा भाग लिएको नेपाली सेनाको इतिहासमा पनि घोडाहरूको प्रयोग गरिएको पाइन्छ।

वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महŒवपूर्ण जीवका रूपमा लिइएको छ। वैदिक संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ ‘अश्वमेघ यज्ञ’ हो, जसमा सयौंको संख्यामा घोडालाई स्वतन्त्र छाडिन्छ। ती घोडा जहाँसम्म पुग्छन्, त्यहाँ शान्ति, सौहार्द र आनन्द रहने विश्वास गरिन्छ।

‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको नारायणहिटी ब्यारेक हाताभित्रको नेपाल क्याभलरीमा २५ वटा बग्गी घोडा, ६७ वटा राइजिङ घोडा र २२ वटा पोनी घोडा गरी विभिन्न जातका एक सय ४४ घोडाघोडी छन्।

विगतमा अस्ट्रेलिया, स्पेन, भारत र पाकिस्तानबाट विभिन्न प्रजातिका घोडाघोडीहरू आयात गरिन्थ्यो भने हाल ९० प्रतिशतभन्दा बढी घोडा चितवनस्थित इक्वाइन बृडिङ सेन्टरबाट नै उत्पादन गरी प्रयोग गर्दै आइरहेको छ। सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ।

विगतको जात्रा

पहिला घोडेजात्रा आजका रूपमा हुँदैनथ्यो। तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे। राजाका पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुन्थे। यसरी राजाको घोडेजात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप लिएको अनुमान गर्न सकिन्छ। यस जात्राको पहिलाको रूप पाटनस्थित बालकुमारीको चौरमा अहिले पनि देख्न पाइन्छ। 

प्रकाशित: १६ चैत्र २०८१ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App