१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:१ पूर्वाह्न
कला/संस्कृति

उत्कृष्ट दशमा पुग्नेलाई पनि तीन–तीन लाख पुरस्कार दिने घोषणा

मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैंया पुरस्कार दिने घोषणा गरिएको छ ।

नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्‍याएकोमा गायन र नृत्य विद्यालयका शिक्षक शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गरेका हुन् ।

विश्वभरका नेपाली जातिका १२०–१२० प्रतिभाका बिच अन्तिम प्रतिष्पर्धा हुने यी दुबै शोहरुमा टप १० सम्म पुग्ने प्रतिभा नेपाली समुदायका लागि सम्मानित व्यक्तित्व बनिसक्ने हुँदा उनीहरुलाई सम्मान गर्न हरेकलाई तीन–तीन लाख रुपैंयाले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए ।

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को काठमाडौं अडिसनको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली संस्कृतिको पुस्तान्तरणमा गायन र नृत्यका प्रशिक्षण केन्द्रहरू तथा विद्यालयहरूले उल्लेख्य योगदान गरेको सन्दर्भलाई उल्लेख गर्दै आयोजक संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले सांस्कृतिक राष्ट्रवादलाई मुलुकको सीमाले बाँध्न नसक्ने उल्लेख गरे।

नेपाली संस्कृतिमाथि विदेशी अतिक्रमणको क्रम तीव्र भएको सन्दर्भ उल्लेख गर्दै उनले आफ्‌नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्ताहरूमा पुर्‍याउने अभियानले नेपाली जातिको सांस्कृतिक राष्ट्रवाद अझ मजबुत हुने धारणा राखे । आफू भुटानमा जन्मेर आफ्‌नै पितृ भूमि नेपालमा १७ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर जीवन बिताउनु परे पनि नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन आफ्‌नो संस्थाले गायन र नृत्यका दुई रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सञ्चालन गरिरहेको बताए ।

नेपाली संस्कृतिका प्रतिभाहरू जन्माउने र उनीहरुलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकहरूमा अभार व्यक्त गर्दै यो पुनित कार्यमा राज्यले साथ सहयोग निरन्तर दिनु पर्ने उनको धारणा थियो । नेपाली संस्कृतिको पुस्तान्तरणका लागि इन्ट्रा फाउण्डेसनले अमेरिकाका सात वटा शहरहरुमा नेपाली लोक, शास्त्रीय सङ्गीत र नृत्यका कक्षाहरू अनवरतरुपमा सञ्चालन गरिरहेको र ती कक्षाहरूका ११ सयभन्दा बढी नेपाली मूलका बालबालिकाहरू अध्ययनरत रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाली संस्कृतिको जगेर्नाका लागि फाउण्डेसनले गरेको योगदान उल्लेख्य रहेको बताए । आफूहरूले पनि यसरी नै गर्ने सोचाइ बनाएको भए पनि विविध कारणले यो हालसम्म सम्भव नभएको बताउँदै आफूले कमाएको सम्पत्ति नेपाली कला, संस्कृतिको विकासका लागि लगाउने फाउन्डेसनको कार्यप्रति आफूले नमन गर्न चाहेको सुनाए ।

यी दुबै शोले विश्वभरका नेपाली जातिका प्रतिभाहरुलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार, अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया, जापान, हंगकंग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगन्ज, बिर्तामोडलगायतका ठाउँहरूमा दुबै शोका अडिसनहरू सम्पन्न भइसकेका छन् ।

फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको सो अन्तरक्रियात्मक कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई विश्वका विभिन्न स्थानमा भएका अडिसनहरूमा संसारका ६० भन्दा बढी देशमा बसोबास गर्ने नेपाली जातिका प्रतिभाहरूले सहभागिता जनाएको जानकारी दिएका थिए।

नेपाल टेलिभिजनबाट प्रसारण हुने दुबै शोहरुको काठमाडौं अडिसन यही चैत्र १६ र १७ गते सामाखुसीस्थित नवोदित कलेजमा हुने र त्यसबाट छनौट भएपछि संसारभरका विभिन्न देशहरूबाट आउनेसमेत १२० जना गायनमा र १२० जना नृत्यका प्रतिभाहरूले टेलिभिजनमा प्रदर्शन हुने प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

कार्यक्रममा सहभागी गायन र नृत्यका प्रशिक्षकहरूका तर्फबाट नृत्य निर्देशक संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ र महेश गोदारले विश्वमा छरिएका नेपाली प्रतिभाहरुलाई नेपालसँग जोड्ने उद्देश्यमा दुवै रियालिटी सोहरूलाई सफलता मिलोस् भन्ने कामना गरेका थिए । उनीहरुले नृत्य र गायन सिकेर पढेर आफ्‌नो जातिका लागि ठूलो प्लेटफर्ममा पुग्न पाइने आशालाई साकार पार्न यी दुई सोहरूले योगदान दिएकोमा खुसी व्यक्त गरेका थिए ।

दुबै शोका विजेताहरूले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिष्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

प्रकाशित: १५ चैत्र २०८१ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App